तनहुँ जलविद्युत् आयोजनाको प्रगति ४६ प्रतिशत

सिंहदरबार संवाददाता
२०८० कार्तिक २४, शुक्रबार १५:४५

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रगति ४६ प्रतिशत पुगेको छ । आयोजनाले तीन खण्ड (प्याकेज) मा गरी ४६.३५ प्रतिशत प्रगति भएको जनाएको छ ।

तीन खण्डमा काम तीव्र गतिमा अगाडि बढिरहेको आयोजना प्रमुख राजभाइ शिल्पकारले बताए। उनका अनुसार प्याकेज एकमा २५, प्याकेज दुईमा ४७ र प्याकेज तीनमा ६९ प्रतिशत प्रगति हासिल भएको छ।

आयोजनाले विसं २०७५ देखि काम सुरु गरेको थियो । शिल्पकारले भने, “तीनवटै प्याकेजको काम तीव्र गतिमा भइरहेको छ । आयोजनाको प्रगति सन्तोषजनक रहेको छ ।” आयोजनाको कामलाई निर्धारित मिति सन् २०२६ मै सम्पन्न गर्ने लक्ष्यसहित कामलाई अगाडि बढाइएको उनको भनाइ थियो ।

आयोजनाको महत्वपूर्ण काम रहेको बाँध निर्माण सोमबारदेखि सुरु गरिएको शिल्पकारले जानकारी दिए। “त्यसका लागि सेती नदी फर्काइएको छ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सीमाना भएर बग्ने सेती नदीलाई एक सय ४० मिटर अग्लो कङ्क्रिट मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट छ सय २६ दशमलव ९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काइएको छ”, उनले भने।

डाइभर्सन सुरुङमार्फत फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्रमा पुनः सेती नदीमा खसालिएको आयोजना प्रमुख शिल्पकारले बताए। “बाँध निर्माणका लागि नदी फर्काउने कामलाई महत्वपूर्ण मानिन्छ । सन् २०२१ बाट निर्माण सुरु भएको डाइभर्सन टनेल हालै निर्माण सम्पन्न भएपछि नदी फर्काउने काम गरिएको हो।सेती नदी अब सोही डाइभर्सन टनेलभएर बग्नेछ”, उनले भने।

मुख्य बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउनका लागि करिब ४० मिटर अग्लो अस्थायी कङ्क्रिट बाँध (कफर ड्याम) निर्माण गरिने छ । उक्त बाँध आगामी मनसुन सुरु हुनुभन्दा पहिले नै निर्माण सक्ने गरी काम भइरहेको आयोजना प्रमुख शिल्पकारले बताए। उनले भने, “नदी फर्काइएपछि अब बाँध निर्माणका लागि काम गर्न सहज हुन्छ । बाँध निर्माणका लागि जग खन्ने काम पनि अब सुरु हुन्छ।”

आयोजनाको मुख्य निर्माण कार्यलाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । प्याकेज–१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ददा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन (प्र) लि नेपाल जेभीसँगकोे ठेक्का सम्झौता विसं २०७८ भदौ १४ गतेबाट कार्यान्वयनमा आएको थियो ।

निर्माण व्यवसायीले हाल अर्को डाइसर्भन सुरुङ र मुख्य बाँध निर्माणका लागि सेती नदीको दायाँ तथा बायाँतर्फबाट पहाड (स्लोप) काट्ने कार्य गरिरहेको छ । उक्त कार्यको प्रगति करिब ५४ प्रतिशत छ ।

आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका प्याकेज–२ को निर्माण कार्यका लागि सिनो हाइड्रो कर्पोरेसन, चीनसँग विसं २०७५ असोज १५ गतेखरिद सम्झौता भएको थियो । निर्माण सुपरिवेक्षण परामर्शदाताले खरिद सम्झौता बमोजिम निर्माण कार्य सुरु गर्न कार्यादेश जारी गरेपश्चात सिनो हाइड्रोले विसं २०७५ माघ ६ देखि आयोजनास्थलमा परिचालित भई निर्माण कार्य जारी राखेको छ ।

भूमिगत विद्युत्गृह खन्ने कार्य सम्पन्न गरी कङ्क्रिटिङ तथा टर्वाइनलगायतका उपकरण जडान भइरहेको छ । टेलरेस सुरुङ निर्माण सम्पन्न भएको छ मुख्य सुरुङ खनिरहेको छ । यस प्याकेजको सिभिलतर्फको निर्माण प्रगति ७० प्रतिशतभन्दा बढी छ भने समग्र प्रगति करिब ४७ प्रतिशत छ ।

प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका केइसी इन्टरनेसनल लिमिटेड, भारतसँग विसं २०७५ पुस १० गते भएको खरिद सम्झौता विसं २०७५ फागुन १० मा कार्यान्वयनमा आएको थियो । ३४ दशमवल सात किमी प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ६९ टावरको जग हालिएको छ भने ३३ टावर खडा गरिएको छ । यस प्याकेजको समग्र निर्माण प्रगति ६९ प्रतिशत रहेको छ ।

आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत तनहुँमा विद्युतीकरण गर्नका लागि नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ । यसअन्तर्गत स्थानीयरुपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३/११ केभीका दुईवटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । उक्त सवस्टेसनसम्म विद्युत् पुर्याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको छ । तनहुँ जिल्लाको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँहरुमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मर जडान र ११ केभी लाइन निर्माण गरिएको छ ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबिले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको आयोजना प्रमुख शिल्पकारले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्