Shikhar Insurance

मध्यपहाडी लोकमार्गले ल्याएको समृद्धिका आधार

खरेन्द्रकुमार योञ्जन
२०७८ बैशाख १७, शुक्रबार १२:३०
NIMB
Nabil Bank

पाँचथरको हिलिहाङमा मध्यपहाडी (पुष्पलाल) लोकमार्ग निर्माण भएपछि युवाहरूको जीवन शैलीमा ठूलो परिवर्तन आइसकेको छ । दुई वर्ष अघिसम्म मजस्ता गाउँका अरू युवाहरू एक–दुई रुपैयाँ कमाएर झापातिर झरौँ कि भन्ने सोचमा थियौँ । तर, यो सडकको परियोजना आएपछि अब गाउँको विकास हुन्छ है भन्ने मनस्थितिमा पुगेका छौँ ।
पहिले हाम्रो गाउँ विकट थियो । जब गाउँमा मध्यपहाडी लोकमार्गले प्रवेश गर्‍यो विकासको अनुभव हुन थालेको छ । गाउँ छाडेर गएका कतिपय स्थानीय पनि अहिले यतै फर्कंदै छन् ।

गाउँका कृषकको जीवनशैलीमा पनि उस्तै परिवर्तन छ । हिजोका दिनमा सबैजसो जमिन बाँझै थिए । पानी पर्दा बाली लगाइन्थ्यो । बाली लगाए पनि धेरैजसो जमिन बाँझै हुन्थे । मल, बिउ, सिँचाइ सबै कुराको समस्या थियो । अहिले घर छेवैमा सडक छ । उब्जनी भएका उत्पादन बेलैमा बजारमा लगेर बेच्न पाउँछौँ । तरकारी मात्र लगाए पनि अब बाँच्न सकिन्छ भन्ने विश्वास यहाँका किसानमा पलाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

उत्पादनलाई बजारसम्म पुर्‍याउन पनि सहज भएको छ । अहिले तत्कालै बजारसम्म पुर्‍याउने अवस्था बनिसकेको छैन । तर, बाँझो जमिनमा खनजोत गर्ने र फलफूलका नयाँ–नयाँ बिरुवा लगाउने काम भइरहेको छ । त्यति मात्र हैन, आजभोलि गाउँ–गाउँमा खसीबाख्रा पाल्ने फार्म खोल्नेको पनि होडबाजी चलेको छ । गाउँमा सडकै नभएको भए यसको कुनै मतलब थिएन । सडक आएको छ, सबैलाई अब केही हुन्छ, केही गर्नुपर्छ भन्ने मनमा लागेको छ । हाम्रो बजार भनेको विराटनगर, धरान हो । यो सडक बन्नुभन्दा पहिले त्यहाँ पुग्नै ८ घन्टा लाग्थ्यो । अब अहिले ३ घन्टामै मजाले पुगिन्छ ।

पाँचथरको हिलिहाङ पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । पहिला बाटोघाटो नहुँदा पर्यटकीय सम्भावना उजागर हुन सकेको थिए । सडक पनि आयो । अब पर्यटक पनि आउँछन् भन्ने आशमा छौँ । हाम्रो पालिकाको वडा नम्बर ७ मा पर्ने झरनादेखि हिलिहाङ दरबार, हिलिहाङ संग्रहालय सबै क्षेत्रमा चाँडै नै पर्यटक आगमन हुने पर्खाइमा छौं । कोरोन संक्रमणको जोखिम कम भएपछि पर्यटन क्षेत्र प्रवर्धन हुनेमा हामि ढुक्क छौँ ।

सडक परियोजनाले हाम्रो आर्थिक अवस्थामा ठूलै परिवर्तन ल्याएको छ । वास्तवमा भन्नु पर्दा स्थानीय तहको प्रगतिको आधार भनेकै पूर्वाधार विकास रहेछ । यो परियोजनाले मजस्ता धेरै युवाहरूमा आर्थिक परिवर्तन ल्याएको छ । हिजो कमाउन विदेश जानुबाहेकको कुनै विकल्पै थिएन । अहिले ३ वर्षदेखि यो सडकको काममा गाउँका सयौँ युवाहरूले रोजगारी पाएका छन् । गाउँमै बसेर दुई–चार पैसा कमाउन पाएका छौँ ।

(खरेन्द्रकुमार योञ्जन हिलिहाङ गाउँपालिका–५, पाँचथरका स्थानीय हुन् । प्रस्तुत विचार उनीसँग गरिएको कुराकानीमा आधारित हो ।)

GBIME

प्रतिक्रिया दिनुहोस्