वाणिज्य बैंकहरुको सेयर किन्ने वा बेच्ने सोचमा हुनुहुन्छ ? यस्ता छन् आधारः

रोविन पौडेल
२०७८ बैशाख १९, आईतवार ०७:५५

काठमाडौं । धितोपत्रको दोस्रो बजारमा कम्पनीको सेयर मुल्य आपूर्ति र मागले निर्धारण गर्छ । तर, लगानीकर्ताले कहिलेकाहीँ कम प्रतिफल दिने कम्पनी बढी मूल्यमा र बढी प्रतिफल दिने कम्पनी कम मूल्यमा खरिद गरिरहेका हुन्छन् ।

बैंकहरुको दृष्टान्त लिने हो भने, दोस्रो बजारको सेयर मूल्यसँग चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणबाट प्राप्त तथ्यांक तुलना गर्दा लगानीकर्ताले कम प्रतिफल पाइने बैंक महंगोमा र बढी प्रतिफल पाइने बैंक सस्तो मूल्यमा किन्ने गरेको स्पष्ट हुन्छ ।

बैंकको सेयरको बजार मूल्यलाई प्रतिसेयर आम्दानी (ईपीएस)ले भाग गर्दा प्राप्त अनुपात पीई रेसियो हो । पीई रेसियोले सो बैंकको प्रतिसेयर १ रुपैयाँ आम्दानी गर्न लगानीकर्ताले कति रुपैयाँ हाल्ने गरेको देखाउँछ ।

बजार मूल्यलाई प्रतिसेयर आम्दानीले भाग गर्दा पीई रेसियो आउँछ, अर्थात् १ रुपैयाँ ईपीएसका लागि दोस्रो बजारको सेयर मूल्य । यसको गणितीय अर्थ बैंकको १ रुपैयाँ प्रतिफल पाउन लगानीकर्ताले दोस्रो बजारमा कति रुपैयाँ तिर्ने गरेका छन् भन्ने हो ।

कम पीई रेसियोले लगानीको तुलनामा आम्दानी बढी छ भन्ने बुझाउँछ । त्यस्तै, अनुपात बढी हुनु भनेको कम प्रतिफल पाउनु हो ।

उदाहरणका लागि वैशाख १६ गते बिहीबार नेपाल बंगलादेश (एनबी) बैंकको बजार मूल्य ३ सय ७९ रुपैयाँ थियो । बैंकको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार ईपीएस २४ रुपैयाँ ९७ पैसा छ ।

यस्तै सेन्चुरी बैंकको ईपीएस सबैभन्दा कम ५ रुपैयाँ २९ पैसा छ । बिहीबारको बजारअनुसार बैंकको सेयर मूल्य २ सय ३३ रुपैयाँ हो ।

दोस्रो बजारमा कारोबार हुने बैंकहरुमध्ये सबैभन्दा बढी ईपीएस नबिल बैंकको छ । बैंकको ईपीएस ३६ रुपैयाँ ६३ पैसा छ । बढी ईपीएस हुने बैंकको सूचीमा एनआईसी एशिया दोस्रोमा छ । बैंकको ईपीएस ३४ रुपैयाँ ८७ पैसा छ ।

अरु सबै बैंकको ईपीएस ३० रुपैयाँभन्दा कम छन् । सिभिल र सेन्चुरी बैंकको ईपीएस १० रुपैयाँभन्दा तल छन् ।

कुन बैंकको ईपीएस कति ?

बिहीबारको सेयर मूल्य, कसको कति ? (रुपैयाँमा)

यी तथ्यांकको आधारमा हिसाब गर्दा एनबीको पीई रेसियो सबैभन्दा कम १५.१८ छ भने सेन्चुरीको सबैभन्दा बढी ४४.०५ छ ।

अर्थात् एनबी बैंकको १ रुपैयाँ प्रतिसेयर आम्दानीका लागि लगानीकर्ता दोस्रो बजारमा १५.१८ रुपैयाँ तिर्न तयार छन् । यस्तै सानिमा बैंकको प्रतिसेयर १ रुपैयाँ आम्दानीका लागि लगानीकर्ताले १५.३१ रुपैयाँ तिर्छन् ।

माछापुच्छ्रे, सिद्धार्थ र मेगा बैंकको १ रुपैयाँ आम्दानीका लागि लगानीकर्ताले १७ रुपैयाँभन्दा कम लगानी गर्नुपर्ने देखिन्छ ।

कुन बैंकको पीई रेसियो कति ?

अब, यो हिसाबलाई उल्टो गरेर हेरौं । ईपी प्रतिशत हेरौं, अर्थात् खरिद मूल्यका आधारमा प्रतिफलको प्रतिशत हिसाब गरौं । सेन्चुरीको प्रतिफल दोस्रो बजारमा गरेको लगानीको २.२७ प्रतिशतमात्र छ । अर्थात्, बैंकको सेयरमा दोस्रो बजारमार्फत् १ सय रुपैयाँ लगानी गर्दा २.२७ प्रतिशत प्रतिफल प्राप्त हुन्छ ।

जो लगानीकर्ताले बिहीबारको मूल्य तिरेर सेन्चुरी बैंकको सेयर किनेको छ वा लगानी गरेको छ, बैंकको वित्तीय विवरणअनुसार उसले आफ्नो लगानीको २.२७ प्रतिशतमात्र रिटर्न पाएको देखिन्छ ।

सिभिल बैंकको रिटर्न २.५४ प्रतिशत देखिन्छ भने नबिलको २.८८ प्रतिशतमात्र छ । प्रतिफल दिने हिसाबले नबिल पुच्छरबाट तेस्रोमा छ ।

यो सूचीको शीर्षमा एनबी बैंक छ । तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकका लगानीकर्ताले दोस्रो बजारको मूल्यका आधारमा सबैभन्दा बढी ६.५९ प्रतिशत प्रतिफल पाउँछन् ।

सूचीमा सानिमा बैंक दोस्रो स्थानमा छ । बैंकको ईपी प्रतिशत ६.५३ छ । माछापुच्छ्रे, सिद्धार्थ, मेगा र प्रभु बैंकको दोस्रो बजारको मूल्य अनुसारको प्रतिफल ६ प्रतिशतभन्दा बढी छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल भन्छन्, “लगानीकर्ताले पीई हेरेर कुन बैंकमा लगानी गर्दा ठीक हुन्छ, त्यो सोच्नुपर्ने हुन्छ । वित्तीय विवरणअनुसार थोरै लगानी गरेर सबैभन्दा बढी रिटर्न एनबी बैंक र सानिमा बैंकको आउने देखिन्छ ।” सेयर बजारमा लगानी गर्नेले हेर्नुपर्ने विषय नै यही रहेको उनको दाबी छ ।

दाहालले थपे, “पीईले अहिलेको रिटर्नमात्र होइन, भोलि कति हुन्छ पनि संकेत गर्छ ।”माग र आपूर्तिले निर्धारण गर्ने सेयरको माग भोलिको सम्भावना अध्ययनले पनि फरक पर्छ । “हालको स्थितिलाई हेर्दा कम प्रतिफल दिने बैंकको बजार प्रतिसेयर मूल्य कम र बढी प्रतिफल दिनेको मुल्य बढी हुनुपर्ने हो,” दाहालले सिंहदरबारसँग भने, “भविष्यमा राम्रो प्रतिफल दिने सोचेर लगानीकर्ताले बढी मूल्य हालेका पनि हुन्छन् ।”

ईपीएस, पीई रेसियो गणना र पीईका अर्थ
कारोबार मूल्यलाई कम्पनीको ईपीएसले भाग गरेर आउने अनुपात ‘पीई रेसियो’ हो ।

‘क’ नाम गरेको बैंकको सेयरको प्रचलित मूल्य प्रतिकित्ता रु. ३ सय र ईपीएस रु. १५ भए ३ सयलाई १५ ले भाग गर्दा आउने २० (३००÷१५ = २०) नै उक्त कम्पनीको ‘पीई’ हो ।

कम्पनीको सेयरको मूल्य बढेर ३ सय १५ पुगे पीई बढेर २१ हुन्छ भने मूल्य घट्दा पीई पनि घट्छ । यस्तै ईपीएस बढेर २० पुगे पीई घटेर १५ (३००÷२० = १५) हुन्छ भने ईपीएस घट्दा पीई बढ्छ ।

प्रत्येक कारोबार मूल्य वा ईपीएससँगै परिवर्तन हुने ‘पीई’को शुद्धता र विश्वसनीयता ईपीएसको शुद्धता र विश्वसनीयतामा भर पर्छ ।

३ सय रुपैयाँ पर्ने कम्पनीको ईपीएस २० रुपैयाँ भन्नुको अर्थ कम्पनीले प्रतिसेयर २० रुपैयाँ कमाएको छ । अर्थात्, १ रुपैयाँ कमाउनका लागि लगानीकर्ताले दोस्रो बजारमा १५ रुपैयाँ तिरेको हुन्छ । अर्थात्, लगानीकर्ताले दोस्रो बजारमा गरेको लगानीको ६.६७ प्रतिशत प्रतिफल पाइरहेको छ भन्ने हुन्छ ।

वित्तीय विवरणको आधारमा वर्षभर उल्लेखित २० रुपैयाँ कमाउने हो भने ३०० रुपैयाँ लगानी उठ्न १५ वर्ष लाग्छ भन्ने पनि पीई रेसियाले संकेत गर्छ ।

अर्को अर्थ हो, अहिलेको ईपीएस प्राप्त गर्न १५ गुणा मूल्य दोस्रो बजारमा तिर्नुपर्छ भन्ने पनि हो ।

यी विषय सैद्धान्तिक हुन् । सबैभन्दा ठूलो प्रश्न, ईपीएस कति शुद्ध, कति विश्वसनीय र कति तिरन्तर छ ? भन्ने हो ।

चैत मसान्तसम्मको तथ्यांकको कुरा गरौं । केही बैंकहरुले ईपीएस बढाएको देखिन्छ । ईपीएस बढेको देखाउन बैंकहरुले केही बदमासी पनि गरेका छन् । प्रोभिजन राइट ब्याक गरेर वा सेयर कारोबारको पुँजीगत लाभका कारण बैंकहरुको नाफा बढेको देखिन्छ ।

नबिल बैंकले १ अर्बभन्दा बढी आम्दानी सेयर कारोबारबाट गरेको छ । नेपाल इन्भेस्टमेन्ट बैंकले ५९ करोड रुपैयाँ कमाएको छ ।

प्रोभिजनको हिसाब गर्ने हो भने प्रभु बैंकले सर्वाधिक ४६ करोड रुपैयाँ राइट ब्याक गरेको छ । तर, सेन्चुरी बैंकले सबैभन्दा बढी ७५ करोड रुपैयाँ प्रोभिजन थपेको छ । प्रोभिजन थप्नु दीर्घकालका लागि राम्रो मानिन्छ । किनभने एकाध वर्षपछि नै बैंकहरुको वित्तीय विवरण भयावह हुने स्वयम बैंकरहरु नै बताइरहेका छन् ।

अहिले धेरै नाफा देखाए पनि आगामी वर्ष त्यस्ता बैंकहरुको वित्तीय विवरण कमजोर हुने अड्कल गरिएको छ ।

राष्ट्र बैंकको व्यवस्था अनुसार ९ महिनामा बढेको ६ खर्ब ६८ अर्बमध्ये १ प्रतिशत अर्थात् ६ अर्ब ६८ करोड रुपैयाँ प्रोभिजन गर्नुपर्ने हुन्छ । तर, प्रभु, एनएमबि, बैंक अफ काठमाण्डूसहित १२ बैंकले प्रोभिजन राइट ब्याक गरेका छन् ।

चैत मसान्तसम्म बैंकहरुको इपेयरमेन्ट चार्ज

चैत मसान्तसम्म बैंकहरुको अन्य सञ्चालन आम्दानी

यसरी हेर्दा चैत मसान्तसम्म प्रोभिजनबाहेक बैंकहरुको नाफा ०.१२ प्रतिशतले मात्र बढेको छ ।

बैंकहरुले ईपीएस बढाउनका लागि प्रोभिजन राइट ब्याक तथा अन्य सञ्चालन आम्दानी बढाउने उपाय लगाएका हुन् । उनीहरुले लगानीकर्ताहरुलाई ईपीएस ट्र्यापमा पनि पार्ने गरेका छन् । ईपीएसको भुलभुलैयाले पीई र वित्तीय अध्ययन डामाडोल बनाउने गरेको छ ।

कतिसम्म पीई रेसियो ठीक हो त ? अन्तर्राष्ट्रिय अभ्यास अनुसार पीई १० भन्दा कम भएको संस्थाको सेयर किनिहाल्न भनिन्छ ।

तर, कम पीई भएको कम्पनीको सेयर राम्रो भन्ने विषय पनि आफैं विवादित छ । सस्तो सामान राम्रो हुन्छ भन्ने ग्यारेन्टी नहुने विश्लेषक बताउँछन् ।

माग र आपूर्तिले बजार मूल्य निर्धारण हुन्छ, क्षमताले मात्र होइन । मूल्य सस्तो हुनुले माग नभएको पनि संकेत गर्छ ।

बजारमा जोखिम मोल्ने लगानीकर्ता पनि छन् । उनीहरु जोखिम मोलेर बढी पीई भएको कम्पनी पनि किन्न सक्छन् । भोलि बढी नाफा हुने आशले लगानीकर्ता अहिले बढी मूल्य हाल्न तयार हुन्छन् । कम पीई हुँदैमा राम्रो हो भने माइक्रोफाइनान्स वा बीमा कम्पनीको सेयर कसैले किन्दैनथे ।

नाफा बढाउने उपाय रच्ने बैंकको तेस्रो त्रैमासको वित्तीय विवरण हेरेर एउटालाई खत्तम वा अर्कोलाई राम्रो भन्न नमिल्ने देखिन्छ । किनकी नबिल बैंकले १ अर्ब सेयर कारोबाट नकमाएको थियो भने ईपीएस अझै घट्ने थियो । नबिलले यो त्रैमास त सेयर कारोबार गरेर कमायो, अर्को वर्ष के त ?

यसर्थमा ईपीएस शुद्ध छ भनेर केलाउन सकेन भने सेन्चुरी बैंकको सेयर बेच्ने फस्न पनि सक्छ । दीर्घकालका लगानीकर्ताले यस्ता कुरा केलाउनु पर्ने जानकार औंल्याउँछन् ।

रोविन पौडेल
२०७८ बैशाख १९, आईतवार ०७:५५

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*