Shikhar Insurance

६ वटा जहाज उडाउन १४ सय कर्मचारी थुपारेपछि निगम कसरी चल्छ ?

डिमप्रसाद पौडेल ‘प्रकाश’
२०७८ बैशाख २०, सोमबार १९:०८
NIMB
Nabil Bank

डिमप्रसाद पौडेल ‘प्रकाश’ नेपाल वायुसेवा निगमका महाप्रबन्धक हुन् । सरकारले गत असोजमा ४ वर्षका लागि निगमको नेतृत्व पौडेललाई जिम्मा दिएको हो ।

उनी पेशाले चार्टर्ड एकाउन्टेन्ट (सीए) हुन् । आफ्नो नेतृत्वकाललाई इतिहासको स्वर्णीम युग बनाउने लक्ष्यका साथ अघि बढेका पौडेल निगम आउनासाथ केही सुधारका संकेत देखिन थालेका छन् । उनको भनाइ छ, “हालको खर्चलाई आम्दानीले धान्नै नसक्ने स्थिति छ । मैले भनेका बेला सरकारले जहाज थपिदिन्छ भने निगमलाई इतिहासमै पहिलोपल्ट नाफाको स्थितिमा पुर्‍याएर देखाउँछु ।”

Citizen Life
Kumar Bank
Nepal Life

प्रस्तुत छ, पौडेलसँग सिंहदरबारले गरेको कुराकानीको सारः

– अहिले कुनै हवाई कम्पनीका लागि अनुकल वातावरण छैन । म आउँदा पनि प्रतिकुल अवस्था नै थियो ।

– कोभिडको प्रभाव कम भएपछि ठूलो फड्को मार्ने गरी आन्तरिक तयारी र सुधारको मार्गचित्र तयार पारेका छौं ।

– म आएपछि कहिल्यै नभएका सुधारका कामको लामै लिस्ट बन्छ । व्यवस्थापनमा आन्तरिक सुधार, डिसिप्लिन रिस्टोरेसन, १० वर्षे व्यवसायिक योजना तयार आदि केही सम्झनालायक काम हुन् । निगममा म वा जो नेतृत्व आएपनि निगम यात्रा गर्ने हाइवे तयार पारेका छौं ।

– साउन–भदौबाट अनलाइन टिकेटिङमा जान्छौं । अहिलेसम्म ६० प्रतिशत काम भइसकेको छ । अब बुकिङ गर्ने वित्तीकै टिकट प्रिन्ट गर्न सक्ने व्यवस्था हुनेछ ।

– अहिलेसम्म जेजे भयो त्यसको तुलनात्मक उपलब्धी थाहा पाउन १ वर्ष लाग्छ तर हामी व्यापक मात्रामा कस्ट मिनिमाइजेसन तर्फ लागेका छौं ।

– काम नगरेपनि जेनेरल सेल्स एजेन्ट(जीएसए)ले कमिसन पाउने, कर्मचारीले तलब पाउने प्रवृत्ति निगममा रहेछ ।

– निगमको इतिहासमा जीएस नियुक्ति प्रक्रिया अहिले जस्तो पारदर्शी कहिल्यै भएको थिएन ।

– अरु कम्पनी जस्तो काम नगर्नेलाई फायर(निकाल्ने) गर्ने अधिकार हामीसँग छैन । यस्ता कम्पनीको इफिसियन्सी निश्चित रुपमा कम हुन्छ । निगममा ओभरस्टाफिङ (अधिक जनशक्ति) भयो भन्दा कसैले सुन्दैनन् । मन्त्री फेरिने वित्तीकै २०–३० जना कर्मचारी भर्ती गर्ने थलो बनेको रहेछ निगम । चाहिए पनि नचाहिए पनि मान्छे ‘डम्प’ गर्ने ठाउँ भएको रहेछ । जसका कारण चाहिएको जनशक्ति अभाव छ, काम नलाग्नेहरु धेरै छन्, जसलाई कामबाट निकाल्न मिल्दैन ।

– तलब स्केल यति दयनीय छ कि प्राविधिक जनशक्तिलाई टिकाइराख्न मुस्किल छ । तर नाफा नगरुञ्जेल म आफैंले मेरा दक्ष प्राविधिकको तलब बढाइदेउ भन्न मिल्दैन ।

– सरकारले नेपाल वायुसेवा निगममा ३० करोड रुपैयाँ मात्र इक्विटी लगानी गरेको छ । त्यसपछि हरेक वर्ष ऋण मात्र थपिएको छ । सरकार ऋणको ग्यारेन्टी मात्र बसेको छ ।

– ऋणमात्र लिएपछि ब्याज तिर्नुपर्छ । ब्याज भुक्तानी गरिरहँदा निगम इतिहासमा कहिल्यै नाफामा गएको देखिँदैन ।

– अहिले ३० करोड इक्विटी र ४२ अर्ब रुपैयाँ ऋण छ । यो दुनियाँमा कतै हुँदैन । कुल सम्पत्ति र कुल दायित्व बराबर पुगेको छ । तिर्नै नसक्ने ऋण थाप्लोमा बोकेपछि निगम उठ्न सक्ने ठाउँ नै हुँदैन ।

– सरकार ग्यारेन्टी बसेर सतप्रतिशत ऋणमा निगमले जहाज किनेको हो । गन्तव्यको खोजी नहुँदै हतार गरेर ल्याइएका जहाज आउनेवित्तीकै चल्न सकेनन् । क्रु तयार नभइ जहाज ल्याइयो, हतारमा विदेशी पाइलट ‘हायर’ गरियो । खर्च कयौं गुणा बढी बनाएर जहाज उडाइयो । ठूला जहाज छोटा दुरीमा उडाइयो । यस्तो भएपछि नाफामा आउने सम्भावना थिएन । जब १–२ किस्ता तिर्न सक्ने अवस्था आएको थियो, कोभिडले सतायो ।

– ऋणको ब्याज अघिल्लो पुसदेखि तिरिएको रहेनछ ।

– सरकारको ग्यारेन्टी नभएको भए निगम आज लिलाम भइसक्थ्यो ।

– ऋण बढाउँदै लैजानु राम्रो होइन । त्यसकारण नेपाल सरकारलाई मैले ऋण थप्ने काम नगर्न तथा इक्विटी इन्जेक्ट गर्न अनुरोध गरेको छु ।

– संसारको सबैभन्दा कम सरकारी पुँजी लगानी भएको राष्ट्रिय ध्वजावाहक वायुसेवा नेवानी हो । अनि हामी थाई, कतार, सिंगापुरका राष्ट्रिय ध्वजावाहकसँग तुलना गर्छौं । तर, तुलना गर्नेलाई थाहै छैन कि ती एयरलाइन्समा ३० अर्ब डलर लगानी सरकारले गरेको छ ।

– लिएको ऋणवापत अहिले त्रैमासिक रुपमा करिब डेढ अर्ब रुपैयाँ किस्ता तिर्नुपर्दो रहेछ ।

– गत पुसदेखि चैतसम्मको हिसाबअनुसार सञ्चालन खर्च धानेर किस्ता तिर्ने क्षमता हाम्रो थियो । त्यसपछि तुलना गर्ने ठाउँ नै भएन ।

– कोभिडका बेला गरेको उद्दार उडानले सञ्चालन खर्च धान्यौं । त्यसपछि केही समय रेगुलर फ्लाइट गर्‍यौं तर अधिकांश गन्तव्यमा एकतर्फि यात्रुमात्र थिए ।

– जापानको नारितालाई छाडेर ओसाका उडान गर्नु त्यतिबेलाको व्यवस्थापनको निर्णय गलत साबित भएको छ ।

– वाइडवडी नकिनिएको भए निगमको स्थिति अहिलेको जस्तो पनि हुने थिएन । तर, वाइडबडीको अधिकतम उपयोग गर्न सकिएन । यद्यपी वाइडबडीको उपयोग विश्वव्यापी औसतभन्दा नेवानीको बढी छ । नेवानीको वाइडबडी उपयोगिता कतार एअरलाइन्सको भन्दा बढी हो ।

– यसर्थमा जति जहाज छन् त्यसको आम्दानी बढी छ तर निगमको खर्च धान्न पर्याप्त छैन । २ वाइडबडी, २ चिनियाँ जहाज र २ ट्विनअटर जहाजका लागि १४ सय जना कर्मचारी छन् । यत्रो कर्मचारी राखेर ६ वटा जहाजमात्र चलाउने हो भने निगम कहिल्यै नाफामा जाँदैन ।

– यथास्थितिमा रहँदा नेवानी नेपाल सरकारका लागि बोझ बन्न सक्छ ।

प्रश्नः त्यसो भए निगमको सम्पत्ति बेचेर सरकारले हात उठाइदिए हुन्न? जवाफः त्यो सबैभन्दा घातक निर्णय हुन्छ । कुनै देशका लागि राष्ट्रिय ध्वजावाहक नहुनु भने त्योभन्दा ठूलो बेइज्जती केही हुन्न ।

– यहाँ जोगी देखेर गाई डरायो, गाई देखेर जोगी डरायो । अर्थात् निगम देखेर सरकार डरायो र सरकार देखेर निगम । सामाञ्जस्यता कहिल्यै भएन । सरकारले लगानी गर्छु, तिमीहरु नाफा गर कहिल्यै भनेन ।

– ऋणको ब्याजदर पनि धेरै छ । एउटा सरकारी संस्थाले अर्को सरकारी संस्थालाई १० प्रतिशतभन्दा बढी ब्याज ठट्टाइरहेको छ । निजी बैंकले ६–७ प्रतिशतमा अहिले नै कर्जा दिन्छन् ।

– चिनियाँ जहाजबारेः अर्थ मन्त्रालयले चिनियाँ जहाज बेच्ने वा भाडामा लगाउने विकल्प दिएको छ । पहिलो विकल्प भाडामा लगाउनु भन्ने छ । नत्र, दोस्रो विकल्प रोज्ने छौं । चिनियाँ जहाजले निगमलाई करिब साढे २ अर्ब नोक्सानी गराए ।

– जहाजहरु किन्न हतार गर्ने सरकारी निर्णय समयक्रममा गलत सावित भएको छ । अर्कातर्फ निगमको अकर्मन्यता पनि उत्तिकै छ । हतार किन गरियो? त्यतिबेलाकै व्यवस्थापनलाई सोध्न उपयुक्त हुन्छ ।

– निगमलाई ‘हिट एन्ड ट्रायल’ सेन्टर बनाइएको रहेछ । १०–१२ वर्षदेखि सरकारले स्वामित्व नलिएको कुरा सत्य हो । निगम जोगाउनुपर्छ भन्ने पक्षमा सरकार लागेन ।

– निगमको डाउनटर्न गत १५ वर्षबाट सुरु भएको हो, त्यसको बराबर जिम्मेवार सरकार र निगम व्यवस्थापन हो ।

– निगमलाई बचाउने २ विकल्प छन् । पहिलो, ४ जहाजको आम्दानीले जति सक्छ त्यतिसम्म खर्च गर्ने र बाँकी कटौती गर्ने । दोस्रो, भएका जनशक्ति उपयोग गरेर, उहाँहरुलाई फर्सद नहुने गरी काम थप्ने । त्यसका लागि जहाज थप्नुपर्छ ।

– निगमको अहिलेको व्यवस्थापनले यी दुईमध्ये एउटा उपायले काम गरेन भने रणनैतिक साझेदार भित्र्याउने हो ।

– कोभिडका कारण आतिथ्य क्षेत्रमा जर्जर समस्या छ । नेपालका निजी वायुसेवा कम्पनीले २–३ प्रतिशत ब्याजदरमा कर्जा लिएका छन् । हामीले ११ प्रतिशत कसरी धान्नु?

– म सरकारसँग पैसा माग्नेवाला छैन । सरकारले इक्विटी आफ्नै तरिकाले लगानी गर्ने हो । म त जहाज माग्छु । म सरकारलाई भन्न चाहन्छु कि ‘मैले भनेका बेला जहाज दिनुस्, उडाएर देखाइदिन्छु, नाफा गरेर देखाइदिन्छु ।’ फुटबल ल्याउनुस्, ग्राउन्ड बनाइदिनुस् । म खेल्छु, गोल पनि गर्छु । प्रतियोगिता पनि जित्छु ।

– कतार एयरवेजले दोहाबाट सातामा ९ फ्लाइट गर्छ । कोरियन एयरले टाढाको गन्तव्यभन्दा बढी भाडा काठमाडौंको उडानबाट उठाउँछ । हेर्नुस् त, कति स्कोप छ । अस्ट्रेलिया सीधा उडान भए कति धेरै बिजनेस हुने थियो । इजरायल उस्तै सम्भावना बोकेको गन्तव्य हो ।

– जहाज किन्ने भन्नेवित्तीकै शंकाको नजरले हेरियो । किनकी हरेक खरिदका निर्णय विवादास्पद भए ।

– नेपाल वायुसेवा निगमको आईपीओ जारी गरे पनि लगानी गर्नुअघि लगानीकर्ताले ५० पल्ट सोच्छन् ।

– ग्राउन्ड ह्यान्डलिङबारे गलत सन्देश बाहिर गएको छ । नेपाल सरकारले आफ्नो लगानी धरासयी हुने गरी कसरी निर्णय गर्छ? यो सोच्नै नसकिने विषय हो ।

– म असल नियतका साथ आएको हुँ । म गैरकानुनी काम गर्दिनँ । मेरो विवेकले जे देख्छ, त्यो गर्छु । म आफ्नो स्वार्थका लागि निगमको अहित कदापी सोच्दिनँ । मेरो स्वार्थ निगमको स्वार्थभन्दा सँधै तल हुन्छ । म यहाँबाट बिदा हुँदै गर्दा मलाई निगममा पठाउनेहरुले पश्चाताप मान्नुपर्ने बनाएर जान्नँ ।

GBIME

प्रतिक्रिया दिनुहोस्