Shikhar Insurance

भेन्टिलेन्टर हेर्दै ज्यान गुमाउँछन् कोरोना सङ्क्रमित

सिंहदरबार संवाददाता
२०७८ बैशाख २८, मंगलवार १०:१७
NIMB
Nabil Bank

कैलाली । टीकापुर अस्पतालको उपचारकक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरकै छेउमा कोरोना सङ्क्रमितको उपचार हुन्छ । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा श्वासप्रश्वास र फोक्सोमा समस्या देखिएको छ । उनीहरुलाई अक्सिजन र भेन्टिलेटरको आवश्यकता छ । अस्पतालमा जनशक्तिको अभाव हुँदा भेन्टिलेटर चल्दैनन् भने अक्सिजनको जताततै हाहाकार छ । भेन्टिलेटर नचलेपछि उपचारका लागि भर्ना भएका बिरामीले भेन्टिलेटर हेरेर ज्यान गुमाउनु परिरहेको छ । पछिल्लो दुई दिनमा मात्रै टीकापुर अस्पतालमा १४ जनाले ज्यान गुमाएका हुन् । अस्पतालमा दोस्रो लहरको कोरोना सङ्क्रमण फैलिएपछि २२ जनाले ज्यान गुमाइसकेका छन् ।

टीकापुर नगरपालिका–१ का ४५ वर्षीय एक पुरुष चार दिनदेखि अस्पतालमा भर्ना भएका थिए । उनमा सुधार नभएपछि आफन्तले भेन्टिलेटरको खोजी गरेर कोहलपुर लैजाने निणर्य गरे । भेन्टिलेटरको सहायतामा उपचार गर्नुपर्ने उनलाई उच्च उपचारकक्षबाट एम्बुलेन्समा राख्दै गर्दा आइतबार ज्यान गयो । “भेन्टिलेटर हुँदासमेत हामीले उपचार पाएनौँ । उपकरण भएर पनि त्यसको प्रयोग नहुँदासम्म कुनै काम नहुँदोरहेछ । आफन्तलाई अकालमै गुमायौँ”, मृतकका एक आफन्तले भने, “उपचारकक्षमा राखिएका तिनै भेन्टिलेटर हेरेर बिरामीले ज्यान गुमाइरहेका छन् । भेन्टिलेटर उपलब्ध गराउने सरकारले जनशक्ति दिन किन कन्जुस्याइँ गरेको होला ”

Citizen Life
Kumar Bank
Nepal Life

कोरोना सङ्क्रमितलाई उपचार गर्ने भन्दै टीकापुर अस्पतालमा स्थापना भएको भेन्टिलेटरसहितको आइसीयू जनशक्तिको अभावमा प्रयोगविहीन भएपछि बिरामी ज्यान गुमाउन बाध्य छन् । एनेस्थेसिया र फिजिसियनको अभावमा सातवटा भेन्टिलेटरसहितको आइसीयू प्रयोगविहीन जस्तै बनेको छ । अस्पतालले लामो समयदेखि एनेस्थेसिया र फिजिसियनको माग गर्दै आएको भए पनि व्यवस्था हुन नसक्दा आइसीयू र भेन्टिलेटरमा भर्ना गरेर उपचार गर्नुपर्ने कोरोना सङ्क्रमित उपचार नपाएर ज्यान गुमाइरहेका छन् । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्