Shikhar Insurance

स्वास्थ्य संकटकाल लगाउने तयारी, स्वास्थ्य सामग्री खरिदका लागि १४ अर्ब बजेट सुनिश्चित

सिंहदरबार संवाददाता
२०७८ बैशाख २८, मंगलवार २०:३१
NIMB
Nabil Bank

काठमाडौं । सरकारले कोरोना संक्रमण नियन्त्रण बाहिर गएपछि स्वास्थ्य संकटकाल लगाउने तयारी गरेको छ । स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले कोभिड–१९ को रोकथाममा अहिलेको चालिएको कदम पर्याप्त नहुने भएकाले स्वास्थ्य संकटकाल वा बन्दाबन्दी आवश्यक रहेको निष्कर्षसहित सो सम्बन्धी निर्णय गर्न मन्त्रिपरिषदमा सिफारिस गरिसकेको बताए ।

भर्चुअल पत्रकार सम्मेलन मार्फत उनले भने,“ सो सम्बन्धमा सामूहिक निर्णय आवश्यक हुन्छ ।” उनले अहिलेको अवस्थामा दोस्रो लहरको सङ्क्रमण यही गतिमा बढे सरकारसंँग भएका सघन उपचार कक्ष, हाइ डिपेन्डेन्सी युनिट र भेन्टिलेटरले थेग्न नसक्ने चेतावनी दिए । उनले महामारी क्रमशः उकालो लागिरहेकाले सबैलाई सचेत रहन आग्रह गर्दै मुलुकमा अहिले अक्सिजन ग्यासको अभाव रहेकाले कालाबजारी नगर्न अनुरोध गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

मन्त्री त्रिपाठीले कोभिड–१९ विरुद्धको खोपका सम्बन्धमा नबुझी जथाभावी नबोल्न आग्रह गरे । “खोप खरीदमा सरकारले कसैलाई पनि कमिशन दिएको छैन, ” उनले भने, “सरकारले प्रत्यक्ष खोप उत्पादक कम्पनीसंँग चार डलरमा खरीद गरेको हो ।” उनले ‘कोभिशिल्ड’ खोप उत्पादन कम्पनी सिरम इन्सिच्युट अफ इण्डियामा आगलागी र भारतमा सङ्क्रमण फैलिएकाले नेपालले खरीद गरेको १० लाख मात्रा खोप नआएको स्पष्ट गरे । “भारतमा पनि सङ्क्रमण बढेर निर्यात गर्न दिइएको छैन, ” उनले भने, “ भारतले निर्यातका लागि अनुमति दिएपछि नेपालमा खरीद गरिएको १० लाख मात्रा खोप आउँछ ।”

उनले खोप नेपाल ल्याउनका लागि नेपालस्थित अमेरिका, रुस, चीन र बेलायतका राजदूतावाससंँग परराष्ट्र मन्त्रालयले छलफल गरिरहेको जानकारी दिए ।

१४ बजेट सुनिश्चित
सरकारले कोरोना महामारीसँग जुध्नका लागि १४ अर्ब रुपैयाँ बजेट सुनिश्चित गरेको छ । पछिल्लो समय कोरोना महामारी नियन्त्रण बाहिर जान थालेपछि सरकारले स्वास्थ्य सामग्री खरिद तथा जशक्ति व्यवस्थापनका लागि १४ अर्ब रुपैँया बजेट सुनिश्चित गरिदिएको हो । सरकारले कोरोना संक्रमितको उपचारमा खटिने जनशक्तिका लागि ५० प्रतिशत भत्ताको सुविधा पनि दिएको हो ।

स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले स्वास्थ्यसम्बन्धी सामग्री, उपकरण खरीद र जनशक्ति व्यवस्थापनका लागि अर्थ मन्त्रालयसंँग १४ अर्ब आजै सुनिश्चित गरिएको जानकारी दिए ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न सकिने बताउनुभयो । उहाँले सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने रेम्डिसिभिर सहज रुपमा उपलब्ध गराउन थालिएको जानकारी पनि दिए। रासस

GBIME

प्रतिक्रिया दिनुहोस्