व्यापार घाटा १० खर्ब, ७ खर्ब बढी रेमिट्यान्स भित्रियो, बीओपी ३२ अर्ब बचतमा (कारणसहित)

सिंहदरबार संवाददाता
२०७८ बैशाख २९, बुधबार १६:३४

काठमाडौं । देशको शोधनान्तर स्थिति (ब्यालेन्स अफ पेमेन्ट अर्थात् बीओपी) ४२ अर्ब ५४ करोडले बचतमा रहेको सरकारले बताएको छ । अघिल्लो वर्षको चैतसम्म शोधनान्तर स्थिति ३६ अर्ब ६१ करोडले बचतमा थियो ।

देश भित्रिने रकम र देशबाट बाहिरिने रकमको अन्तर शोधनान्तर स्थिती हो । ९ महिना सम्मको तथ्यांकले रेमिट्यान्स, विदेशी लगानीसहित देश भित्रिने रकम निर्यात लगायत गतिविधिका कारण देशबाट बाहिरिने रकमभन्दा साढे ४२ करोड बढी रहेको देखाउँछ । यसरी देश भित्रिने रकम बढ्दा विदेशी मुद्रा सञ्चिति पनि बढेको छ ।

केन्द्रिय बैंकका अनुसार ९ महिनामै व्यापार घाटा १० खर्ब नाघिसकेको छ । यस अवधिमा ७ खर्बभन्दा बढी रेमिट्यान्स प्राप्त भएको छ ।

अघिल्लो वर्षको चैतसम्म ३२ करोड १० लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३४ करोड ८१ लाखले बचतमा छ ।

आर्थिक वर्ष २०७७/७८ को नौ महिनामा कुल वस्तु व्यापार घाटा १२.५ प्रतिशतले बढेर १० खर्ब १६ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ८.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.० प्रतिशत रहेको थियो ।

चैत मसान्तसम्म चालु खाता २ खर्ब ०७ अर्ब ४१ करोडले घाटामा रहेको देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब २६ अर्ब ९ करोडले घाटामा थियो ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १०.७ प्रतिशतले बढेर १२ अर्ब ८६ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २५.० प्रतिशतले कमी आएर १२ अर्ब ३५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ११ अर्ब ६२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ४८ करोड रहेको थियो ।

केन्द्रिय बैंकका अनुसार नौ महिनासम्म विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेर ७ खर्ब २९ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.२ प्रतिशतले घटेको थियो ।

२०७७ असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले वृद्धि भई २०७७ चैत मसान्तमा १४ खर्ब ३३ अर्ब २७ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ चैत मसान्तमा २.७ प्रतिशतले वृद्धि भई ११ अर्ब ९६ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा २०७७ चैत मसान्तमा २.२ प्रतिशतले वृद्धि भई १२ खर्ब ५३ अर्ब १७ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा १ खर्ब ७५ अर्ब ७१ करोड रहेकोमा २०७७ चैत मसान्तमा २.५ प्रतिशतले वृद्धि भई १ खर्ब ८० अर्ब १० करोड पुगेको छ । २०७७ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.४ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ को नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.९ महिनाको वस्तु आयात र १०.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३३.६ प्रतिशत, ८९.९ प्रतिशत र २९.७ प्रतिशत रहेका छन् । २०७७ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०५.७ प्रतिशत र ३३.१ प्रतिशत रहेका थिए ।

अन्तर्राष्ट्रिय बजारमा २०७६ चैत मसान्तमा प्रति ब्यारल अमेरिकी डलर २०.२३ रहेको कच्चा पेट्रोलियम को मूल्य २०७७ चैत मसान्तमा २१०.६ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ६२.८३ पुगेको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०७६ चैत मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर १६८०.६५ रहेकोमा २०७७ चैत मसान्तमा ४.० प्रतिशतले वृद्धि भई अमेरिकी डलर १७४७.९५ पुगेको छ ।
२०७७ असार मसान्तको तुलनामा २०७७ चैत मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.५ प्रतिशतले अधिमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ १०.२ प्रतिशतले अवमूल्यन भएको थियो ।

२०७७ चैत मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु.११९.८० पुगेको छ । २०७७ असार मसान्तमा उक्त विनिमय दर रु.१२०.३७ रहेको थियो ।

आर्थिक वर्ष २०७७/७८ को नौ महिनामा कुल वस्तु निर्यात २०.२ प्रतिशतले वृद्धि भई रु.९४ अर्ब ७७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२.९ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः २३.५ प्रतिशत र १४.५ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा २७.३ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७७/७८ को नौ महिनामा कुल वस्तु आयात १३.१ प्रतिशतले वृद्धि भई ११ खर्ब ११ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७.५ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा चीनबाट भएको आयात क्रमशः २०.३ प्रतिशत र ७.७ प्रतिशतले वृद्धि भएको छ भने अन्य मुलुकबाट भएको आयातमा २.३ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, चामल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपूजा, चाँदी लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ सुख्खा बन्दरगाह, कैलाली, तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, जलेश्वर, तातोपानी र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

समीक्षा अवधिमा खुद सेवा आय रु.४९ अर्ब १३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.१ अर्ब ८ करोडले घाटामा रहेको थियो ।

सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९०.२ प्रतिशतले कमी आई ५ अर्ब ५४ करोड कायम भएको छ । अघिल्लोवर्षको सोही अवधिमा यस्तो आय रु.५६ अर्ब ६८ करोड रहेको थियो ।

सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण व्यय ४७.० प्रतिशतले कमी आई रु.२६ अर्ब ७५ करोड कायम भएको छ । यसमध्ये शिक्षातर्फको व्यय रु.२१ अर्ब ७ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.५० अर्ब ४७ करोड रहेकोमा शिक्षातर्फको व्यय रु.२४ अर्ब ६० करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६६.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.२ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ५५.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १५.० प्रतिशतले घटेको थियो ।

प्रतिक्रिया दिनुहोस्