Shikhar Insurance

निषेधाज्ञाले बैंकमा थुपार्‍यो निक्षेप, कर्जा प्रवाह ‘ठप्प’ (यस्तो छ २३ अर्ब निक्षेप वृद्धिको हिसाबकिताब)

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ४, मंगलवार २०:३७
NIMB
Nabil Bank

काठमाडौं । वैशाखको अन्तिम साता वाणिज्य बैंकहरुमा करिब २३ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल बैंकर्स संघका अनुसार २४ गतेसम्म वाणिज्य बैंकहरुमा ३९ खर्ब ३२ अर्ब ८२ करोड रुपैयाँ निक्षेप रहेकामा ३१ गतेसम्म (७ दिनमा) बढेर ३९ खर्ब ५५ अर्ब ४४ करोड पुगेको हो ।

नियमित बजारमा प्रवाह हुनुपर्ने रकम बैंकिङ च्यानलमा थपिँदा निक्षेप बढेको देखिन्छ । अघिल्लो दुई सातामै बैंकबाट पर्याप्त रकम निकालिएको हुँदा नियमित पैसा थुप्रिँदा निक्षेप बढेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

यही अवधिमा रेमिट्यान्स पनि प्राप्त भएको छ । सरकारी भुक्तानी पनि बैंकिङ च्यानलबाट हुने गर्छ । त्यो रकम पनि निक्षेपमा जोडिएको हो । यस्तै केन्द्रिय बैंकले २० अर्बको रिपो जारी गरेको थियो ।

वैशाखका पहिला दुई साता बैंकमा रहेको निक्षेप घटेको तथ्यांकले देखाएको थियो । तेस्रो साता (वैशाख ११ – वैशाख १७) मा निक्षेप स्थिर रहेको संघको तथ्यांक छ ।

त्यसयता नियमित प्रकृतिको रकम बैंकमै रहेका कारण बैंकमा निक्षेप बढेको देखिएको नेपाल बैंकर्स संघका कार्यवाहक अध्यक्ष अनिलकुमार उपाध्याय बताउँछन् ।

उपाध्यायले सिंहदरबारसँग भने, “सर्वसाधारणको निक्षेप बढेको होइन । यहीबीचमा प्राप्त भएको रेमिट्यान्स बैंकमै छ । निकासा भएको पेन्सन तथा वृद्धभत्ता पनि बैंकमै छ । यी सबै कारण बैंकमा निक्षेप बढेको देखिएको हो ।”

उपाध्यायका अनुसार निषेधाज्ञाको मुखैमा बैंकिङ प्रणालीबाट ५–६ अर्ब रुपैयाँ बाहिरिएको थियो । क्रमैसँग हुने यस्तो प्रवाह अहिले रोकिनुले पनि निक्षेप बढेको देखिनमा योगदान दिएको छ ।

अघिल्लो साता वाणिज्य बैंकमा रहेको निक्षेप १० अर्ब रुपैयाँले बढेको थियो ।

यता निक्षेप बढ्दा वाणिज्य बैंकहरुबाट हुने कर्जा प्रवाह रोकिएको छ । बैंकर्स संघको तथ्यांकले एक सातामा १ अर्ब ४८ करोड रुपैयाँमात्र कर्जा भएको छ । संघले वैशाख ३० गतेदेखि कर्जालगायत सेवा प्रवाह बन्द गरेको छ ।

निषेधाज्ञाको पहिलो साता बैंकहरुबाट १६ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

अहिले मुद्दती निक्षेप नवीकरण अनलाइनबाटै गर्न पाइन्छ । नयाँ कर्जा स्वीकृत हुँदैन । नेपाल बैंकर्स एसोसिएसनले अरु सेवा बन्द गर्न परिपत्र गरिसकेको छ । तर, आयात भने जारी छ । यस्तै ५० हजार रुपैयाँ कम निक्षेप बैंकमा नल्याउन भनिएको सर्वसाधारणमा सूचना गइसकेको उपाध्याय सुनाउँछन् ।

प्रत्येक त्रैमासमा निक्षेपविरुद्ध दिने ब्याज पनि बचतमा जोडिने जिकिर उनले गरे । “नगद प्रवाह पनि सुस्त बनेको छ,” उनले थपे, “जसकारण सर्वसाधारणले ब्याजको पैसा निकालेका छैनन् । त्यो पनि बैंकमै जम्मा भएर बसेको छ ।”

निक्षेप प्रवाह बढ्दा वाणिज्य बैंकहरुको सीसीडी रेसियो पनि घटेको छ । साताबीचमै सीसीडी रेसियो ७९.१३ प्रतिशतबाट ७८.८७ प्रतिशतमा झरेको हो ।

केन्द्रिय बैंकका अनुसार अहिले बजारमा ४८ अर्ब रुपैयाँ अधीक तरलता (एक्सेस लिक्विडिटी) छ ।

कृषि विकास बैंककै ३० अर्ब कर्जा लिमिट उपयोग नभएको प्रमुख कार्यकारी अधिकृत उपाध्याय बताउँछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्