दाउन्नेमा बस दुर्घटना: ४ को मृत्यु, ४९ घाइते

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ५, बुधबार १०:१९

 

नवलपरासी । बर्दघाट सुस्ता पश्चिम मा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट–४ स्थित दाउन्ने जङ्गलको खुर्सानी खोला नजिकै आज बिहान ६ बजे बस दुर्घटना भएको हो ।

बस सडकबाट २०० मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । काठमाडौँको माछापोखरीबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बासुदेव नेपालले जानकारी दिए ।

ज्यान गुमाउने मध्ये रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ बस्ने २७ वर्षीय कल्पना पुन र सिस्ने गाउँपालिका–४ बस्ने धनराज घर्तीको मात्र सनाखत भएको छ । बसमा अन्दाजी ५८ यात्रु रहेको र ती मध्ये ४९ घाइतेलाई घटनास्थलबाट उद्धार गरी स्थानीय चिसापानी अस्पताल र सञ्जिवनी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए । बसमा सवार पाँच जना सकुशल रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्