Shikhar Insurance

दोस्रो लहर सुरु हुनुअघि ८१ प्रतिशत व्यवसायमात्र कोभिडपूर्व स्थितिमा पुगेका थिएः राष्ट्र बैंक

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ५, बुधबार २०:१७
NIMB
Nabil Bank

काठमाडौं । नेपालको अर्थतन्त्र तथा आर्थिक गतिविध कोभिड पूर्वको स्थितिमा नफर्कंदै कारोना भाइरसको दोस्रो लहरले प्रभावित पार्न सुरू गरेको निष्कर्ष नेपाल राष्ट्र बैंकले निकालेको छ । कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी दोस्रो फलो–अप रिपोर्ट अनुसार २०७७ असारको तुलनामा २०७८ वैशाखमा उद्योग/व्यवसाय सञ्चालनमा उल्लेख्य सुधार आएको तर अझैपनि कोभिड–१९ पूर्व अर्थात् २०७६ फागुनको अवस्थामा भने उद्योग/व्यवसायहरु पुग्न सकेका छैनन् ।

कोरोनाको दोस्रो लहर सुरु नहुँदैको रिपोर्ट सार्वजनिक गरेर राष्ट्र बैंकले उद्योग/व्यवसायहरुको उत्पादन एवम् कारोबारको अवस्था तथा रोजगारीको अवस्थामा समेत उल्लेख्य सुधार आएको दाबी गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

२०७८ वैशाख ५ देखि १४ गतेसम्म संकलित तथ्यांकका आधारमा गत २०७७ असारको तुलनामा उद्योग/व्यवसाय सञ्चालनको अवस्थामा सुधार आएको पाइएको छ । कोभिड महामारी पूर्व २०७६ फागुनको तुलनामा २०७७ असारमा ४.१ प्रतिशत मात्र उद्योग/व्यवसायहरु पूर्ण रुपमा सञ्चालनमा थिए । २०७८ बैशाखमा बढेर सञ्चालमा रहेका उद्योगको संख्या ८१.२ प्रतिशत पुगेका थिए । तर, वैशाख १६ गतेदेखि राजधानीबाट सुरु भएको निषधाज्ञा अहिले देशभर जारी छ ।

जसकारण विस्तारै सुधार हुन लागेको अर्थतन्त्र पुनः प्रभावित हुन जाने निष्कर्ष केन्द्रिय बैंकले लगाएको छ ।

प्रतिवेदनअनुसार विद्युत्, ग्याँस तथा पानी र सञ्चार क्षेत्रका सतप्रतिशत उद्योग/व्यवसायहरु पूर्ण रुपमा सञ्चालनमा आएका थिए । यस्तै १४.६ प्रतिशत उद्योग व्यवसाय आंशिक सञ्चालनमा रहेकामा हालसम्म पनि ४.२ प्रतिशत उद्योग/व्यवसायहरु सञ्चालनमा आउन सकेका थिएनन् ।

सञ्चालनमा आउन नसकेका उद्योग व्यवसाय यातायात तथा भण्डार, खानी तथा उत्खनन्, होटल रेस्टुरेन्ट, कृषिलगायत छन् ।

यसबीचमा उद्योग/व्यवसायहरुको उत्पादन/कारोबारको अवस्थामा पनि सुधार आइसकेको थियो । कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा औसतमा करिब २९ प्रतिशतमात्र उत्पादन/कारोबार रहेकोमा २०७८ वैशाखमा आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ६१.४ प्रतिशत पुगेको थियो । गत असारको तुलनामा अध्ययनले समेटेका सबै क्षेत्रहरुको उत्पादन/कारोबार बढेको पाइएको छ । तर, होटल तथा रेष्टुरेन्ट भने उत्पादन तथा कारोवारको स्थिति ४०.८ प्रतिशत मात्र पुगेको छ जुन अन्य व्यवसायहरु भन्दा सबैभन्दा कम हो ।

२०७७ असारको तुलनामा उद्योग/व्यवसायहरुले प्रदान गर्ने रोजगारीमा सुधार भएको देखिएतापनि कोभिड महामारी अगाडिको अवस्थामा भने अझै पुग्न सकेको थिएन । कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा ७७.५ प्रतिशत रोजगारी प्रदान गरेका उद्योग/व्यवसायहरुले २०७८ वैशाखमा ९३.८ प्रतिशत रोजगारी प्रदान गरेको पाइएको छ ।

मझौला तथा ठूला उद्योग/व्यवसायहरुले प्रदान गरेको रोजगारी दर भने असारको तुलनामा घटेको देखिएको छ । पूर्ण रुपमा सञ्चालनमा रहेपनि मझौला तथा ठूला उद्योग/व्यवसायहरु आफ्नो पूर्ण क्षमता उपयोग गरी सञ्चालनमा नरहेको कारण यस्ता उद्योगले प्रदान गर्ने रोजगारीको दरमा थप कटौती हुन गएको अनुमान केन्द्रिय बैंकको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्