‘इन्स्योरटेक’ युगः बीमामा प्रविधिको उपयोग कसरी गर्ने ?

पोषकराज पौडेल
२०७८ जेष्ठ ६, बिहीबार २१:१४

मानव विकासको क्रममा पूर्वजले भनेका कुराको विश्वासको स्थानमा तर्क र प्रमाणको आवश्यकता महसुसको शुरुवात र जीविकाको लागी संघर्षवाट नै प्रविधिको क्रमिक उदय भएको हो । आजको युगमा प्रविधिले जीवन र जिविकाको सहज बनाउन उत्कृष्ट साधनको रुपमा भूमिका खेलेको छ । विगतका दशक भन्दा यस दशकमा भएको प्रविधिको गुणात्मक विकासले मानवको दैनिकी देखि राज्य र महाशक्ति देशहरुको आयतन समेतमा ठूलो उलटफेर र उपलब्धि हासिल भएको अवस्था छ ।

प्रविधिको प्रयोगले परम्परागत रुपमा गरिँदै आएको काम र उत्पादनहरुको गुणस्तर, समय, मात्रा लगायत धेरै क्षेत्रमा उल्लेख्य रुपमा प्रगति भयो । प्रविधिको ज्ञान र क्षमतामा उल्लेख्य सुधार भएको कारणले आजको विश्व विकास र समृद्धिको हिसावले उन्नत र भव्य छ । प्रविधिमा मेकानिकल, इलेक्ट्रिकल, इन्डस्ट्रियल, मेडिकल, सञ्चार सूचना प्रविधि लगायत विभिन्न क्षेत्रमा विश्वभरि भएको विकास र प्रयोगमा नेपालको अवस्था न्यून स्थानमा रहेको छ । प्रविधिको सहजता तथा सो को विश्वव्यापी बजारको हिसावले कुनै पनि प्राविधिक विषय आजको संसारमा नयाँ र उपलब्ध हुन नसक्ने अवस्था छैन ।

प्रविधिको ज्ञान र क्षमताको हिसावले नेपाल पछि रहे सँगै बीमा क्षेत्र झनै पछि रहेको छ । बीमा बजारले उपयोग गर्न सक्ने प्रविधिका विभिन्न क्षेत्रहरु रहेतापनि मुख्यतया सञ्चार र सूचना प्रविधिको प्रयोगवाट यसलाई अझ व्यापक, स्तरीय, उत्कृष्ट र विश्वासनीय बनाउन सकिन्छ । नेपालको बीमा क्षेत्रमा प्रविधि र दक्ष जनशक्तिको अधिकतम प्रयोगद्धारा बीमाको विकास गर्नुपर्ने समयको आवश्यकता हो । यस सम्बन्धमा मुख्यतया सञ्चार र सूचनाको डिजिटल प्रविधिको प्रयोगवाट बीमा क्षेत्रलाई गर्न सकिने योगदानको बारेमा चर्चा गर्ने छौं ।

बीमा योजना तयार गर्दा प्रविधिको प्रयोगः
कम्पनीले ग्राहकको लागि आवश्यक र उपयुक्त बीमा योजनाको पहिचान र छनौट गर्नको लागि धेरै पक्ष र ग्राहकहरुलाई समेटेर अनुसन्धान गर्नुपर्ने हुन्छ । तब मात्र ग्राहकहरुको क्षमता, आवश्यकता तथा उपयोगिता अनुसारको प्रोडक्ट कम्पनीले तयार गर्न सफल हुन्छ । यसरी अनुसन्धान गरेर बीमा योजना तयार गर्ने प्रचलन नेपालमा खासै पाईदैन । यसका लागि धेरै खर्च, समय र जनशक्ति लाग्ने हुन्छ ।

यही कारणले धेरै कम्पनीहरुले देश तथा विदेशमा प्रचलनमा रहेका बीमा योजनाहरु जस्तै समान योजनाहरु प्रचलनमा ल्याउने गरेको पाइन्छ । अनुसन्धानको लागि प्राप्त हुनुपर्ने बीमा क्षेत्रको विगतको अनुभवको बीमा योजना अनुसारको डाटा तथा सोको विस्तृत सूचनाको सहजता सँगै प्रविधिको प्रयोग गर्न सके मात्र खर्च, समय र जनशक्ति बचत हुने र ग्राहकको आवश्यकता अनुसार बीमा योजना वनाउन सकिन्छ । यसको साथै नवीनतम प्रविधिको प्रयोग गरेर स्तरीय तथा विश्वसनीय व्यवसायीक अनुसन्धान गर्ने संस्थाहरुको समेत अभाव छ ।

बीमा योजना तयार गर्दा सूचनाको विशिष्टिकृत विवरणको अभावमा धेरै आधारहरुमा फरक पर्ने हुन्छ । जनसंख्याको उमेर समूह, लिंग, स्थान विषेश, जन्म र मृत्युदर, जीवनको व्यवहार, प्राकृतिक प्रकोप, अस्पताल, स्वास्थ्य र उपचारको अवस्था इत्यादिको समग्र देशको र बीमा क्षेत्र विषेशको तथ्याङ्क समेतको एक्सपेरिमेन्टल स्टडी गर्न प्रविधिको प्रयोगमा मात्र सम्भव हुन्छ । यस प्रकारको अध्ययन नहुदा बीमा योजनाको विशिष्टिकृत सुरक्षणको शर्त र बीमा शुल्क दर निर्धारणमा वैज्ञानिक र वास्तविक आधारको मान्यतामा फरक पर्दछ ।

मानव संसाधनको छनौट तथा विकासमा प्रविधिः
बीमा कम्पनीहरुको चुनौतीहरु मध्येको महत्वपुर्ण पक्षका रुपमा मानव संसाधनको छनौट, नियुक्ती, क्षमता अभिवृद्धि र तालिम तथा अवधारणा (रिटेन्सन) रहेको छ । यो सबै प्र्रक्रियामा धेरै जसो कम्पनीहरुले परम्परागत प्रक्रियालाई अपनाएको पाइन्छ । प्रविधिको प्रयोग गर्न सके मात्र मानव पुँजीको विकास र अधिकतम उपयोग हुन सक्छ । सूचना प्रविधिको मद्दतले कर्मचारी छनौट, स्विटेबलिटी एनालाइसिस र नियुक्ति लागि मानव संसाधनको केन्द्रीकृत तथ्याङ्क आवश्यक छ ।

यसै गरी विकसित देशमा जब एग्रेगेटर ले राम्रो भूमिका खेलेको पाइन्छ । कुन कर्मचारीलाई के विषय र क्षमता अभिवृद्धि र तालिमको आवश्यकता छ इत्यादिको लागि ह्युमन रिसोर्स इन्फरमेसन सिस्टमको प्रयोग मार्फत ग्याप एनालाइसिस गर्ने, व्यवस्थापन तथा परिचालनको लागी प्रविधिमा आधारित मोबिलिटी म्यानेजमेन्ट सिस्टम, कामको प्रगती, अनुगमान, र कार्य मूल्यांकनका लागि पर्फमेन्स एन्ड मनिटरिङ टुल्स, मानव साधनको वृद्धि विकास र स्तरोन्नतीका लागि ई–लाइब्रेरी एन्ड डिस्ट्यान्स लर्निङ, समयमा पारिश्रमिक भुक्तानी र सो को कम्पनीमा पर्ने भारको भावी योजनाको लागि पेरोल म्यानेजमेन्ट सस्टम, कम्पनीको समग्र मानव संसाधनको मूल्यांकन, अवधारणा र सुधारको लागि एक्जिट इन्टरभ्यु एन्ड फिडब्याक टुल्स इत्यादिको प्रयोग गर्नु उपयुक्त हन्छ ।

बीमाको सचेतनामा प्रविधिः
बीमाको सचेतनाको स्तर नेपालमा निकै कम रहेको र बीमाका ग्राहकले हाल खरिद गरेको बीमा योजनाको बारेमा समेत यथोचित मात्रामा जानकारीको कमी समेत रहेको अवस्थामा विभिन्न सञ्चार प्रविधिको प्रयोग गरेर यसलाई विस्तार गर्नु पर्ने देखिन्छ । सञ्चार प्रविधि तुलनात्मक रुपमा सस्तो र प्रभावकारी हुने हुँदा यी साधनहरु जस्तै इमेल, टेलिफोन, मोबाइल, विभिन्न सामाजिक सञ्जालको प्रयोग, भिडियो तथा वेब कन्फेरेन्सिभ, र मास कम्युनिकेसनका लागि टिभी, रेडियो, पत्रपत्रिका, अनलाइन मिडियामार्फत बीमा सचेतनामा अभिवृद्धि गर्न सकिन्छ ।

बीमा बजारीकरण र वितरण प्रणालीमा प्रविधिः
बीमा बजारीकरण र वितरणमा प्रविधिको प्रयोग एकदमै कम भएको अवस्था छ । यसले गर्दा बीमाको अधिग्रहण (एक्विजिसन) खर्च नेपालमा अधिक रहेको अवस्था छ । यस प्रक्रियामा प्रविधिको प्रयोग गर्न सके बीमामा सम्वद्ध सवै पक्षलाई लाभ र बीमा लागत कम हुन्छ । बीमा बजारीकरण र वितरणको मेरुदण्डको रुपमा रहेका बीमा अभिकर्तालाई प्रविधि सम्बन्धि प्रशिक्षण, उपयुक्त साधन प्रदान गर्न सके मात्र यो क्षेत्रको समग्र विकास हुन सक्छ ।

यस क्षेत्रमा सुरुवाती चरणमा रहेको डिजिटल मार्केटिङ र नगन्य मात्रामा रहेको डिजिटल तथा अनलाइन विक्री तथा वितरण प्रणालीको विकास र प्रयोगमा हामी धेरै पछाडि छौं । बैंकाएस्युरेन्स अन्तरगत बैंकहरु मार्फत बीमा विक्री गर्दा समेत प्रविधिको भन्दा परम्परागत तरिका नै प्रयोग गरेको अवस्था छ ।

बीमा बजारीकरण र बिक्रीमा प्रत्यक्ष डिजिटल मार्केटिङ, टेली मार्केटिङ प्रणाली, डिजिटल ब्रोकरेज तथा वेब एग्रिगेटर जस्ता प्रविधिको प्रयोग छिमेकी देश भारतमा समेत व्यापक रहे तापनि यस प्रविधिको प्रयोगमा हामी निकै पछि रहेका छौं । हाल नेपालमा बजारीकरण गरिएको बीमा शुल्क फिक्स प्रिमियम मोडल हो जहाँ, एकै प्रकृतिका समूहलाई समान दरमा बीमा शुल्क तोकिन्छ तर प्रविधिको विकास र अधिकतम प्रयोग भएका देशमा सो अन्तरगत पनि थप व्यक्तिगत विवरण र आवश्यकताको आधारमा पे एज यु गो मोडल अपनाइएको पाइन्छ ।

बीमा जारी तथा ग्राहक सेवामा प्रविधिः
बीमाको बजारीकरण पश्चातको ग्राहक सेवामा प्रविधिको प्रयोगमा तुलनात्मक रुपमा अत्यन्तै कमजोर रहेको अवस्था छ । बीमा योजना छनौट, बीमा प्रस्ताव पेश, बीमा शुल्क भुक्तानी, बीमालेख प्राप्त गर्ने, नियमित ग्राहक सेवा सहित दाबी भुक्तानी प्रक्रियासम्म डिजिटल प्रविधिको प्रयोग गरेर अधिकतम सेवा दिनु पर्ने समयको माग र आजको आवश्यकता हो । यी सेवाहरु प्रदान गर्न मोबाइल एपहरु तथा ग्राहक पोर्टलहरु लगायतका डिजिटल माध्यमहरु मार्फत उपलब्ध गराउन सकिन्छ ।

बीमा गर्ने सम्पत्तिको विवरण तथा भौतिक परीक्ष्ँण समेत गर्न र दाबीको भुक्तानी प्रक्रियाको लागि क्षतिको आँकलन गर्न ड्रोन प्रविधिको प्रयोग विकसित देशमा व्यापक हुँदैछ । समान किसिमका ग्राहकका समस्या तथा जिज्ञासाको लागि च्याटबोट जस्तो प्रविधिले हरसमय उत्तर दिन सकिन्छ । नवीनतम प्रविधिको प्रयोगले महिना लाग्ने दाबी भुक्तानी लगायतका ग्राहक सेवाहरु दिन÷घण्टामा प्रदान गर्न सकिन्छ । कम्पनीहरु बीचको प्रतिस्पर्धा र ग्राहकको उत्कृष्ट सेवाको अपेक्षाको प्रविधिको विकास र प्रयोग एकमात्र विकल्प हो । ग्राहकले सवै सेवाहरु रियल टाइम आधारमा जहिले पनि जहाँ पनि पाउन चाहन्छन् ।

सूचनाको अभिलेख र प्रशोधनमा प्रविधिः
ग्राहकको विवरण (डेटा) को अभिलेख, वितरण र व्यवस्थापनको लागि बीमा योजना र व्यवसायीक मोडलको अधिकतम उपयोग र परिचालन गर्न इन्स्योरटेक प्रविधिको युगमा हामी छौं । बीमाको प्रोडक्ट तयार गर्दा देखी ग्राहकलाई प्रदान गरिने अन्तिम सेवा र सो क्रियाकलापले कम्पनीमा परेको वित्तीय प्रभावसम्मको विवरणको अभिलेख र प्रशोधनको लागि नवीनतम डिजिटल प्रविधि आवश्यक पर्दछ ।

यसका लागि डाटा स्टोर गर्न सुरक्षित माध्यम, प्रोसेस गर्न उच्च क्षमताको सर्भर, डाटा सुरक्षाका उपकरण र सोलाई प्रयोगकर्ताले सेवा लिन एप्लिकेसनहरुको माध्यमको प्रयोग गर्न सकिन्छ । संग्रहित डाटा र सोसँग ग्राहकको भिन्न व्यवहारलाई व्यवसायीक प्रयोगको अधिकतम उपयोग गर्न आर्टिफिसियल इन्टिलिजेन्स प्रविधिको आवश्यक हुन्छ ।

कम्पनीको वित्तिय विवरण र सुचकांकमा प्रविधिः
कम्पनीको वार्षिक वजेट तथा वित्तीय लक्ष्य अनुसार कम्पनीको प्रगतिको समयमै मापन गर्न सूचना प्रविधिको प्रयोग जरुरी हुन्छ । विभिन्न मान्यताहरु र वास्तविक उपलब्धीहरुको तुलनात्मक अध्ययन, बर्तमान र भविश्यको सम्पत्ती र दायित्वहरुको नियमित मूल्यांकन, बीमा जोखिमाड्ढन अवस्था, बीमा योजना तयारीको लागी विभिन्न मापनहरुको मोडलिभ, लगानीको उपलब्धी र भविश्यको आंकलन, कम्पनीको आम्दानी तथा खर्चको अवस्था र अनुमानका साथै समग्र वित्तीय अवस्था र सूचकांकको मद्दतले समयमै निर्णय लिन सहयोग गर्दछ । प्रविधिको मद्दतले समयमा विभिन्न रिपोर्टको अध्यनले ढिलो निर्णयवाट हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न मद्दत पुग्छ ।

कम्पनीको रणनिती र भावी योजना तयारीमा प्रविधिः
कम्पनीले प्रविधिको मद्दतले कसरी विशिष्टिकृत (बिजनेस स्केलिङ) व्यवसाय र सेवाको लक्ष्य हासिल गर्ने, पारदर्शी व्यवसाय सञ्चालन गरि कम्पनीको मूल्य (भ्याल्यु) कसरी वृद्धि गर्ने, व्यवसायीक जोखिम र ग्राहकको व्यवहारको वारेमा भविष्यको सटिक अनुमान कसरी गर्ने र कम्पनीले प्रतिष्पर्धी भन्दा राम्रो व्यवसायीक प्रगति कसरी गर्ने, जोखिमको अवस्थामा कम्पनीलाई कसरी सामान्य अवस्थामा सरह व्यवसाय (बीसीपी प्लान) सञ्चालन गर्ने, जस्ता विभिन्न पक्ष र चुनौतीको बारेमा भावी योजना र रणनीति बनाउन नसकेमा बजारमा स्थापित हुन मुस्किल पर्दछ । यसका लागि बजारमा उपलब्ध प्रविधि, कम्पनीले लगानी गर्न सक्ने क्षमता, प्रयोगकर्ताको दक्षता र धरातलीय अवस्था, वर्तमान कानुनी प्रावधानका साथै प्रतिष्पर्धी कम्पनीको चाललाई समेत मध्यनगर गरि उपयुक्त प्रविधि प्रयोगको रणनीति बनाउनु पर्दछ । विकसित देशमा प्रविधिको प्रयोगको अवस्थाको अध्ययन गरेर समेत रणनीति र योजना बनाउन सकिन्छ ।

अन्त्यमा, अबको विश्व दिन प्रतिदिन नवीनतम प्रविधिको प्रयोग गरेर आवश्यक सबै सेवाहरु व्यक्तिले चाहेको समय र स्थानमा प्राप्त गर्न सक्ने गरि अगाडी बढेको छ भने प्रविधि कम्पनी र बीमा कम्पनी पनि सो अनुसार तयारीमा रहनु पर्ने छ । एक्काइसौं शताब्दीका उन्नत इन्स्योरटेक प्रविधिसहित ब्लक चेन, क्वान्टम कम्प्युटिङ, फाइभ जी, आर्टिफिसियल इन्टिलिजेन्स, मेसिन लर्निङ, साइबर सेक्युरिटी इत्यादिको प्रयोगले समग्र विश्वको विकास र सेवा क्षेत्र अझै उत्कृष्ट हुने देखिन्छ ।

नेपालमा हामी अत्यन्तै शुरुवाती अवस्थामा रहेका छौं । प्रविधिको प्रयोग गरेर बीमा क्षेत्रको एकिकृत तथ्यांकको संकलन गरी, कुन स्थान विशेषमा बीमाको पहुँचको अवस्था कस्तो छ, क्षेत्र र स्थान विशेष अनुसाुर जीवन र जिविकाको अवस्था, क्षतिको मात्रा, स्वास्थ्य र उपचार, जन्म र मृत्यु लगाएको डाटा संकलन र प्रशोधन तुरुन्त गर्न सके मात्रा बीमा क्षेत्रको आधार बलियो हुँदै जान्छ । प्रविधिको अधिकतम प्रयोग, विस्तार र उपयोगले मात्र बीमाको पहुँच, सेवाको प्रत्याभुति र विश्वासमा वृद्धि गर्न सकिन्छ ।

(पोषकराज पौडेल सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत  ‘सीईओ’ हुन् । साभारः बीमा समाचार र विचार, ५३ औं वार्षिकोत्सव विशेषांक, २०७८, बीमा समिति ।)

प्रतिक्रिया दिनुहोस्