Shikhar Insurance

कोभिड महामारीमा व्यवसायीहरू यसरी गर्दैछन् ‘समाजसेवा’, हालसम्म ८ सय बढी लाभान्वित (कसले के भने ?)

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ७, शुक्रबार ११:४२
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोभिड संक्रमित बिरामीहरूको सहयोगका लागि सञ्चालन गरेको हेल्लो डाक्टर स्वास्थ्य परामर्श र कोभिड १९ सहायता केन्द्रबाट हालसम्म सयौंको संख्यामा बिरामीहरूले स्वास्थ्य परामर्श र आवश्यक स्वास्थ्य सहायता लिएका छन् । महासंघका अनुसार आफूले सञ्चालन गरेको स्वास्थ्य अभियानबाट संक्रमित बिरामी, तिनका परिवार र आफन्तहरू सहित धेरैलाई राहत पुग्न गएको छ ।

जेठ ६ गतेसम्मको तथ्यांक अनुसार हेल्लो डाक्टर स्वास्थ्य परामर्श कार्यक्रमबाट साढे ५ सय भन्दा बढी कोभिड संक्रमित बिरामीहरूले डाक्टरहरूबाट स्वास्थ्य परामर्श र सहायता केन्द्रबाट करिब २ सय ५० जनाले आवश्यक स्वास्थ्य सहायता लिएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

वैशाख २६ बाट सुरु भएको हेल्लो डाक्टरमार्फत भाइबरको सहकार्यमा डाक्टर अन कलका चिकित्सकहरूले बिरामीहरूलाई स्वास्थ्य परामर्श दिइरहेका छन् ।

कोभिड सहायता केन्द्रबाट गम्भीर प्रकृतिका बिरामीहरूदेखि भर्खर कोभिड संक्रमण भएकासम्मले सहयोगका लागि आग्रह गर्ने गरेका छन् । केन्द्रका तर्फबाट हालसम्म डेढ वर्षको बच्चा देखि ८९ वर्षसम्मका जेष्ठ नागरिकलाई सेवा दिइएको छ ।

सहायता केन्द्रले वैशाख २४ गतेबाट काम थालेको थियो । केन्द्रमा दैनिक सरदर १६/१७ जनाले सहयोगका लागि आग्रह गर्ने गरेका छन् । केन्द्रमा मुलुकका सबै भागबाट सहयोगका लागि आग्रह भई आएको छ । मुलुकमा बढदो कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण गरी आम सर्वसाधारणको जीवन रक्षामा सहयोग पुर्‍याउने उद्देश्यले हेल्लो डाक्टर र कोभिड सहायता केन्द्र स्थापना गरिएको हो । सहायता केन्द्रबाट अस्पताल÷आइसोलेसन केन्द्र सहजीकरण, अक्सिजन सिलिन्डर, अस्पताल, एम्बुलेन्स, हवाई तथा यातायात व्यवस्थापन लगायतमा सहयोग/समन्वय भैरहेको छ ।

कोभिड संक्रमण जटिल हुँदै गई अस्पताल जान समस्या परेकालाई नजिकको अस्पतालसम्म पुर्याउन, अस्पतालमा अक्सिजन सहितको आइसियू, भेन्टिलेटर बेड पाउन समस्या परेका, अक्सिजन सिलिन्डर भर्न समस्या परेका, अक्सिजन सहितको सिलिन्डर, आइसोलेसन केन्द्र, रेमडेसिभर लगायतका अत्यावश्यक औषधि नपाएका र डाक्टरको परामर्श खोजिरहेकाहरूलाई केन्द्रबाट सहयोगको पहल भएको छ ।

एम्बुलेन्स सहयोग खोज्नेका लागि व्यवस्थापन गरिदिने, अस्पतालमा भेन्टिलेटर, आइसियू सहितको बेड नपाउनेहरूका लागि सकभर नजिकको अस्पतालमा व्यवस्थापन गरिदिने, प्लाज्माको लागि पहल गरिदिने, अक्सिजन नपाएकालाई अक्सिजनको प्रवन्ध गरिदिने, रेमडेसिभर लगायतका अत्यावश्यक औषधि खोजेकालाई सकभर नजिकको स्थानबाट त्यस प्रकारका औषधि किन्ने प्रवन्ध मिलाई दिने, कोभिड संक्रमण भई घरमा बस्ने ठाउँ नपाएका निम्न आय भएका परिवारका सदस्यलाई खानपान र औषधिको उचित व्यवस्था सहितको आइसोलेसन केन्द्र मिलाई दिने, डाक्टरहरूसंग स्वास्थ्य परामर्शको उचित व्यवस्थापन गरिदिने लगायतको कार्यमा सहायता केन्द्र जुटिरहेको छ ।

आइसोलेसन नपाएकाहरूलाई महासंघले आफैले क्षेत्रपाटी र कमलपोखरीमा सञ्चालन गरेको आइसोलेसन केन्द्रमा राख्ने प्रवन्ध मिलाई रहेको छ भने स्वास्थ्य परामर्शका लागि महासंघ आफैले सञ्चालनमा ल्याएको हेल्लो डाक्टर मार्फत स्वास्थ्य परामर्श दिइरहेको छ । महासंघले सञ्चालन गरेको आइसोलेसनका लागि महासंघका वर्तमान तथा पूर्व पदाधिकारीहरू, कार्यकारिणी समिति सदस्यहरू, उद्यमी व्यवसायीहरूले औषधि, स्वास्थ्य उपकरण/सामग्रीहरू सहयोग गरेका छन् ।

कोभिडको दोस्रो लहरको संक्रमण अत्याधिक बढ्न जाँदा मुलुकको स्वास्थ्य प्रणालीले नै थेग्न नसक्ने भएपछि आम सर्वसाधारणको स्वास्थ्य सुरक्षामा केही सहयोग गर्न सकियोस् भनेर महासंघले कोभिड सहायता केन्द्र स्थापना गरेको हो ।

महासंघका अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा सहायता केन्द्रको समन्वय महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गरिरहेका छन् । कोभिड १९ सहायता केन्द्रलाई प्रभावकारी रूपमा अगाडि बढाउन जिम्मेवारी पनि बाँडफाँड गरिएको छ ।

जसअनुसार अक्सिजन सिलिन्डर व्यवस्थापनतर्फ महासंघका उपाध्यक्ष रामचन्द्र संघई र कार्यकारिणी समिति सदस्य शौरभ ज्योति, अस्पताल आइसोलेसन केन्द्र सहजीकरणतर्फ कार्यकारिणी समिति सदस्य हेमराज ढकाल, पूर्व कास रविन श्रेष्ठ, अस्पताल व्यवस्थापनतर्फ कार्यकारिणी समिति सदस्य ई. देश बन्धु वस्नेत(अजित), बाबुकाजी कार्की, डा. केयुर गौतम र एम्बुलेन्स व्यवस्थापनतर्फ कार्यकारिणी समिति सदस्य रंजितराज आचार्यले समन्वय गरेका हुन् ।

त्यसैगरी औषधि मेडिकल उपकरणतर्फ कार्यकारिणी समिति सदस्यहरू प्रवलजंग पाण्डे र भक्त बहादुर हमाल, होटल, हवाई तथा यातायात व्यवस्थापनतर्फ कार्यकारिणी समिति सदस्य ज्योत्सना श्रेष्ठ, होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाह, पर्यटन समितिका सदस्य विनोद सापकोटाले समन्वय गरिरहनु भएको छ । सचिवालयकातर्फबाट अधिकृतद्धय हरि पौड्याल र रिंकु घिमिरेले सहयोग गरेका छन् ।

मुलुक संकटमा पर्दा महासंघले संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गरी हरेक पटक सहयोग पुर्‍याएको जनाएको छ । मुलुकले कहिल्यै भोग्नु नपरेको कोभिड महामारी कहिले नियन्त्रणमा आउने हो यकिन छैन । महामारिको बढ्दो संक्रमणलाई नियन्त्रण गरी आम सर्वसाधारणको स्वास्थ्य सुरक्षा गर्नु यतिबेला सबैको परम कर्तव्य भएकाले आ–आफ्नो ठाउँबाट सकेको सहयोग गर्न र अधिकतम स्वास्थ्य सचेतना अपनाउन महासंघले सबैमा गम्भीर आग्रह गरेको छ ।
महासंघले सञ्चालन गरेको स्वास्थ्य अभियानप्रति विभिन्न माध्यममार्फत व्यक्त केहि महत्वपूर्ण धारणाहरूः

सन्देश श्रेष्ठ, व्यवसायी
“सामाजिक रूपमा पनि सकारात्मक सन्देश जानुको साथै सामाजिक उत्तरदायित्व पनि निभाउन सकेकोमा जिल्ला उद्योग वाणिज्य संघहरू र उद्यमी व्यवसायीहरूले गर्वको महशुस गरेका छौं ।”

अखिल चापागाईं, पूर्व कार्यकारिणी समिति सदस्य, नेउवा महासंघ
“महासंघको यस अभियानको ह्रृदयदेखिनै प्रशंसा गर्दछु । वास्तवमै यो अभियानबाट समस्यामा परेकाहरूले निकै ठूलो राहतको महशुस गरेका छन् ।”

अशोककुमार टेमानी, पूर्व कार्यकारिणी समिति सदस्य, नेउवामहासंघ
“उत्कृष्ट सहकार्य । यो वस्तवमै उद्धार हो । महान कार्यका लागि आभार । महासंघ टीमलाई बधाई । ”

राजन श्रेष्ठ, कार्यकरिणी समिति सदस्य
“अति नै सराहनीय कार्य, निजी क्षेत्र सधै नाफामुखीमात्र हुंदैन । हरेक सामाजिक अभियानमा पनि सदैव अग्रसर रहने गरेको छ भन्ने दह्रिलो उदाहरण हो यो ।”

उमेशलाल श्रेष्ठ, निवर्तमान उपाध्यक्ष, नेउवामहासंघ
“यो महानकार्यमा लागिरहेको सिंगो टिमनै बधाईका पात्र हुनुहुन्छ । सामूहिक प्रयासबाट गरिएको काम सधै सफल हुन्छ । तपाईहरूको सुरक्षालाई ध्यानमा राखेर सहयोगका हात अगाडि बढाउनुहोस ।”

भवानी राणा, निवर्तमान अध्यक्ष, नेउवामहासंघ
“महासंघले थालेको अभियानको जहाँतहीँ हरेकले उच्च प्रशंसा गरेका छन् । यसमा लग्नुहुने महासंघको नेतृत्व र यसमा सहभागी सवै बधाईका पात्र हुनुहुन्छ ।”

शेखर गोल्छा, अध्यक्ष, नेउवामहासंघ
“वरिष्ठ उपाध्यक्षको नेतृत्वमा रहेको यो टिमको कार्य देखेर मलाई गर्व महशुस हुन्छ । तपाईहरूको प्रयास यसरीनै अन्तिमसम्म पनि जारी रहोस मेरो तर्फबाट पूर्ण सहयोग र साथ रहने छ ।”

GBIME

प्रतिक्रिया दिनुहोस्