सिमेन्टमा आत्मनिर्भर बन्ने अभियानमा सरकारी र विदेशी लगानीको उद्योगबाटै धोका !

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ८, शनिबार १७:२५

काठमाडौं । नेपालमा हाल सञ्चालनमा रहेका सिमेन्ट उद्योगहरू जडित क्षमताअनुसार उत्पादन गर्ने गरेका छैनन् । नेपालको सरकारी, वैदेशिक लगानीमा खुलेका वा निजी क्षेत्रको पू्र्ण लगानीमा खुलेका सिमेन्ट उद्योगले दुईतिहाइ पनि  जडित क्षमता उपयोग गरेका छैनन् ।

नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययन अनुसार विदेशी लगानीमा खुलेका सिमेन्ट उद्योग अवस्था झनै नाजुक छ । उनीहरूले आधा क्षमता पनि उपयोग गरेको देखिँदैन ।

नेपालमा स्थापित ५५ सिमेन्ट उद्योगको जडित क्षमता वार्षिक १ करोड ५० लाख टन उत्पादन हो । तर, यी उद्योगबाट ७४ लाख ५० हजार टनमात्र उत्पादन हुने गरेको छ । नेपालको माग धान्न थप १५ लाख ६० हजार टन आयात गर्नुपरेको छ ।

आत्मनिर्भर बनेर पनि सिमेन्ट आयात गर्नुपरेका पीडाको कारण हो, उद्योगहरू आंशिक क्षमतामा मात्र चल्नु । त्यसमाथि पनि करोडौं रूपैयाँ विदेशी लगानीमा खुलेका उद्योग त आधा क्षमतामा पनि चलेका छैनन् । ती उद्योग बढी प्रभावकारी, कम लागतमा चल्ने तथा बढी नाफा गर्न सक्ने क्षमताका भएपनि ४५ प्रतिशतमात्र क्षमता उपयोग गरिरहेका छन् ।

सरकारी सिमेन्ट उद्योग भने आधा जडित क्षमतामा चलिरहेका छन् । केन्द्रिय बैंकको अध्ययनअनुसार २ सरकारी उद्योगको उत्पादन जडित क्षमताको ५०.१२ प्रतिशत छ ।

यता स्थानी निजी सिमेन्ट उद्योग भने बढी अब्बल देखिएका छन् । महंगो लागत, ठीकै प्रविधिका बाबजुत यस्ता ५० उद्योगले आफ्नो क्षमताको करिब दुई तिहाइ सिमेन्ट उत्पादन गर्ने गरेका छन् । प्रतिवेदनअनुसार स्थानीय व्यवसायीको पूर्ण स्वामित्वमा चलेका उद्योगले वार्षिक क्षमताको ६३.७८ प्रतिशत उत्पादन गर्ने गरेका छन् ।

देशका ५५ सिमेन्ट उद्योगमध्ये ३ उद्योगमा विदेशी लगानी छ भने २ वटा सरकारी हुन् । विदेशी लगानी भएको उद्योगको क्षमता नेपालको कुल क्षमताको २०.३१ प्रतिशत (३० लाख ४८ हजार टन) हो । २ सरकारी उद्योगले वार्षिक ६ लाख मेट्रिक टन उत्पादन गर्छन् ।

यी ५ सिमेन्टसँग वार्षिक ३६ लाख ४७ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमता छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र र सिमेन्ट उत्पादक संघका अनुसार नेपालको वार्षिक सिमेन्ट उत्पादन क्षमता १ करोड ५० लाख टन हो ।

वैदेशिक लगानीमा खुलेका उद्योगले १३ लाख ७१ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्छन् भने २ सरकारी उद्योग ३ लाख मेट्रिक टन सिमेन्ट उत्पादन गर्छन् ।

यी दुई प्रकारमा उद्योगबाट वार्षिक क्षमताबराबर उत्पादन हुँदा आयात अन्त्य हुने देखिन्छ । यी ५ उद्योगले वार्षिक क्षमताभन्दा १९ लाख ७५ हजार टन कम सिमेन्ट उत्पादन गर्छन् जुन वार्षिक आयात १५ लाख ६० हजारभन्दा बढी हो ।

वैदेशिक लगानीबाट खुलेका सिमेन्ट उद्योग कम खर्चमा तथा गुणस्तरीय सिमेन्ट उत्पादन गर्न सक्षम पनि छन् । केन्द्रिय बैंकको अध्ययन प्रतिवेदनअनुसार विदेशी लगानीमा खुलेका उद्योगले १ टन सिमेन्ट उत्पादन गर्न ०.९९ टन चुनढुंगा खपत गर्छन् जबकि, सरकार लगानीमा खुलेका उद्योगले १.४५ टन चुनढुंगा प्रयोग गर्छन् ।

तर, नेपाली आयोजना परियोजनाले भने नेपाली सिमेन्ट गुणस्तरीय नहुने भन्दै विदेशबाट सिमेन्ट आयात गर्ने गरेका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘नेपालमा सिमेन्ट उद्योगमा वैदेशिक लगानी : आर्थिक सामाजिक प्रभावको अध्ययन प्रतिवेदन’ अनुसार आन्तरिकरूपमा उद्योगबाट ७४ लाख ९० हजार मेट्रिक टन मात्रै सिमेन्ट उत्पादन भएको छ ।  यस्तै  १५ लाख ६० हजार मेट्रिक टन विदेशी मुलुकबाट आयात भएको देखिन्छ ।

लगानी र उत्पादन क्षमताका आधारमा हेर्दा मुलुकमा प्रत्यक्ष विदेशी लगानी रहेका सिमेन्ट उद्योगको वाहुल्य रहेको केन्द्रीय बैंकको अध्ययनमा समावेश छ ।

अध्ययनमा प्रत्यक्ष विदेशी लगानी रहेका सिमेन्ट उद्योगको वस्तुस्थितिको तुलनात्मक स्थिति, स्वदेशी माग र आपूर्तिलगायत ती उद्योगको सामाजिक तथा आर्थिक प्रभाव संलग्न गरिएको छ । अध्ययनले विदेशी लगानी रहेका तीन  सरकारी स्वामित्व र निजी स्वामित्व रहेका दुई/दुई गरी कूल ७ उद्योगलाई समेटेको छ । सिमेन्ट उद्योगको सामाजिक तथा आर्थिक प्रभावको विश्लेषणात्मक अध्ययनका लागि प्रत्येक उद्योगबाट कार्यकारी प्रमुख, दुई कर्मचारी र उद्योग वरपरका १० जना बासिन्दालाई उत्तरदाताका रूपमा चयन गरिएको राष्ट्र बैंकको भनाइ छ ।

सरकारी र निजी स्वामित्व रहेका उद्योगहरुको तुलनामा प्रत्यक्ष विदेशी लगानी रहेका उद्योगको सञ्चालन र मुनाफा राम्रो रहेको छ । विदेशी लगानीमा स्थापित सिमेन्ट उद्योगहरुको उत्पादन क्षमता उच्च र उत्पादन लागत न्यून रहेको पाइएको छ ।

मुलुकभित्रै सिमेन्ट उत्पादन बढ्दो क्रममा रहेका कारण केही वर्षदेखि सिमेन्टको आयात घट्दै गइरहेको छ । स्थापित उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेमा सिमेन्ट आयातमा थप कटौती आउने देखिने बैंकको अध्ययनले देखाएको छ । देशभित्र उपलब्ध चुनढुङ्गा खानीलाई समुचित उपयोगमा ल्याई सिमेन्टको बढ्दो आन्तरिक माग परिपुर्ति गर्न र आयात कटौती तथा निर्यात प्रवद्र्धन गर्न वैदेशिक लगानीमा थप सिमेन्ट उद्योग खोल्न दिन उपयुक्त हुने अध्ययनले औँल्याएको छ ।

सामाजिक तथा आर्थिक पाटोलाई विश्लेषण गर्दा सिमेन्ट उद्योगको सञ्चालनबाट व्यापारिक र रोजगारीका अवसरहरु सिर्जना भएका छन् । उद्योग वरिपरि रहेका जमीनको मूल्य वृद्धिका कारण सम्पत्ति वृद्धिलगायतका सकारात्मक प्रभाव परेको भए पनि वातावरणीय प्रदूषणसम्बन्धी नकारात्मक असर पनि परेको छ । उद्योगहरुलाई आवासीय क्षेत्रमा स्थापना गर्न निरुत्साहित गरिनुका साथै सामाजिक संस्थागत उत्तरदायित्व अनुरूप शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण आदिमा लगानी गर्न प्रोत्साहन गर्ने नीति अवलम्बन गर्नु आवश्यक रहेको केन्द्रीय बैंकको अध्ययनमा सुझाव दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्