Shikhar Insurance

रोगको डरले नेपाल आए, भोकको डरले भारत फर्कँदै मजदूर

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ८, शनिबार १७:५२
NIMB
Nabil Bank

कैलाली । भारतमा महामारी फैलिएपछि करिब एक महिना पहिले भारतमा मजदूरी गर्न गएका आफ्ना परिवारका सदस्यसहित नेपाल फर्कनुभएका कैलालीको गोदावरीका श्यामकुमार चौधरी शुक्रबार परिवारसहित भारत लागे ।

महामारीका बीचमा भारतबाट रोगको डरले घर फर्कनुभएका श्याम अहिले रोगभन्दा पनि भोकको डरले फेरि भारत फर्कन लागेको सुनाउँछन् । “घर आउने बित्तिकै निषेधाज्ञा शुरु भयो, भारतबाट आउँदा ल्याएको पैसा पनि सकियो, यहाँ काम पनि छैन बाँच्न गाह्रो भो त्यसैले बरु रोग लागेर मरे मरिएला तर भोकबाट त बचौँ भन्ने लागेर भारतको बैङ्गलोर जान लागेको हो”, श्यामकुमारले भने । यस्तो समयमा जान मन नभए पनि भोको पेटका लागि जानैपर्ने अवस्था रहेकाले जान लागेको श्यामकुमारकी श्रीमतीले गुनासो गरिन् । हातमा दुधे बालक च्यापेकी उनले यहाँ बसे रोगभन्दा पनि भोकले मर्नुपर्ने अवस्था आयो त्यसैले फर्किन लागेको बताइन् ।

Citizen Life
Kumar Bank
Nepal Life

महामारीबाट बच्न घर फर्किएका आफूहरू महामारीकै बीचमा फेरि पनि भारत फर्कनुको कारण भोककै पीडा भएको भारतको पञ्जाब जानका लागि गौरिफन्टा नाकामा भेटिनुभएका हर्क लामाले गुनासो गरे । भारतमा कोरोना महामारी डरलाग्दो गरी फैलिएपछि एक महिना पहिले नेपाल फर्किनुभएका लामाले स्वदेशमा बिहान बेलुकाको छाक टार्नसमेत मुश्किल हुन थालेपछि पुनः भारत जान बाध्य भएको बताए । “रोगको डरले भारतबाट नेपाल आए, तर फेरि भोकको डरले भारत नै फर्कँदैछु”, लामाले निन्याउरो अनुहार लगाउँदै दुखेसो पोखे ।

घरमा खानलाउनकै समस्या भएपछि श्यामलाल र हर्कजस्तै भोकले सताएको कारण भारतबाट आएको दुई महिनामै फेरि फर्कन लाग्नुभएका कैलालीका मोहन विक पनि कमाउने कुनै बाटो नभएकाले उतै जान लागेको बताउँछन् ।

भारतमा कोरोना बढेर स्थिति भयावह भएपछि ज्यान जोगाउन स्वदेश फर्किएका नेपालीहरू अहिले धमाधम भारत जान थालेका छन् । भारतमा स्थिति भयावह हुँदा नेपाल फर्किएकाहरू बिहान–बेलुकाको छाक टार्नसमेत मुस्किल हुन थालेपछि उनीहरू पुनः रोजगारीकै लागि भारत जान थालेका हुन् ।

कैलालीमा निषेधाज्ञा जारी छ तर यसैबीच गौरीफन्टा नाका भएर दुई हजारभन्दा बढी नेपाली भारत पलायन भइसकेका छन् । अहिले सीमामा नेपाली नागरिकलाई भारत जान रोक छैन भने भारतीय नागरिकलाई नेपाल आउन रोक लगाइएको छ ।
रासस

GBIME

प्रतिक्रिया दिनुहोस्