Shikhar Insurance

१९ लाख ऋणीले चलाउँछन् साढे ५ करोड खातावालको ५१ खर्ब बढी रकम

प्रमिला भट्ट
२०८१ जेष्ठ ३१, बिहीबार ०७:४१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा बाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीबाट ऋण लिने नेपालीहरुको संख्या करिब १९ लाख मात्रै छ । यी तिनै १९ लाख उद्योगी व्यवसायी हुन् जसले साढे पाँच करोड खातावालहरुले बैंकमा राखेको ६१ खर्ब भन्दा बढी रकममध्ये ५१ खर्ब रुपैयाँ ऋण लिएर उद्योग व्यवसाय सञ्चालन गरिरहेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार बैशाख मसान्तसम्ममा १८ लाख ९१ हजार ५ सय ७६ जना ऋणीको खातामा ५१ खर्ब १३ अर्ब रुपैयाँ ऋण गएको छ । निक्षेप खाता खोलेका ५ करोड ५० लाख ५२ हजार ६ सय ४ खातावालहरुको रकम बैंकहरुले त्यसरी ऋण प्रवाह गरेका हुन् ।

Citizen Life
Kumar Bank

नेपालमा एकै व्यक्तिको थुप्रै बैंक तथा वित्तिय संस्थाहरुमा बैंक खाता रहेको देखिन्छ भने एक जना उद्योगी व्यवसायीले थुप्रै बैंक तथा विवित्तय संस्थाबाट बिभिन्न प्रकृतिका व्यापार व्यवसाय गर्नका लागि ऋण लिएको देखिन्छ ।

एक व्यक्तिले एक खाताबाट मात्रै ऋण लिएको मान्ने हो भने पनि नेपालमा जम्मा १९ लाख नागरिकले मात्रै क, ख र ग वर्गका बैंक वित्तिय संस्थाबाट ऋण लिएर व्यवसाय गरिरहेका छन् । तर त्यस्तो सम्भावना असम्भव जस्तै छ । त्यसकारण पनि १९ लाख भन्दा निकै थोरै मात्रै नेपालीले बैंकहरुबाट ऋण लिएको देखिन्छ । र यसले नेपालका बैंक तथा वित्तिय संस्थाहरुमा नागरिकले जम्मा गरेको निक्षेपमाथि निश्चित व्यक्ति तथा घरानाहरुले उपयोग गरिरहेको आरोपमाथि बल पुर्याउँछ ।

अब हेरौं, वित्तिय पहुँचका केहि ताजा तथ्यांकहरु पनि । राष्ट्र बैंकका अनुसार बैशाख मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको शाखा ६ हजार ४ सय ५५ पुगेको छ । बैंकहरुले शाखारहित १ हजार १ सय ७० वटा बैंकिङ केन्द्रबाट सेवा दिईरहेका छन् ।

अहिले शाखारहित बैंकिङ सेवा लिने ग्राहकहरुको संख्या भने ३ लाख १ हजार १ सय ५ रहेको छ । चालु आवको १० महिनाको तथ्याङ्क अनुसार मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकको संख्या २ करोड ३७ लाख ९७ हजार ६ सय ८० देखिएको छ । क,ख, ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुको सख्या ५४ वटा कायम छ । र यी संस्थाहरुमा ७ खर्ब १६ अर्ब ६७ करोड ४० लाख रुपैयाँ पुँजी लगानी भएको छ ।

बैशाखसम्ममा इन्टरनेट बैंकिङ सेवा लिनेको संख्या १९ लाख ३८ हजार ८ सय ८८ पुगेको छ भने एटिएम बुथहरुको संख्या ५ हजार १ सय ६३ देखिन्छ ।

डेबिट र क्रेडिट कार्ड लिनेको संख्या क्रमशः १ करोड २७ लाख ८९ हजार ६ सय ५६ र २ लाख ८६ हजार २ सय ५३ पुगेको छ । साथै, प्रिपेड कार्ड लिनेहरुको संख्या १ लाख ६९ हजार ७ सय ८६ वटा रहेको छ ।

५४ संस्थाको कमाई ५३ अर्ब ८ करोड २० लाख
चालु आर्थिक बर्षको १० महिनामा क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुले जम्मा ५३ अर्ब ८ करोड २० लाख रुपैयाँ मात्रै नाफा आर्जन गर्न सफल भएको देखिन्छ । जसमा बाणिज्य बैंकहरुले ४८ अर्ब ६० करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् भने विकास बैंकहरुको नाफा ४ अर्ब १७ करोड ७० लाख रुपैयाँ देखिन्छ । उता, वित्त कम्पनीहरुले भने १० महिनामा २९ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्