Shikhar Insurance

राष्ट्र बैंकका तीन निर्देशनः सेयर बजारमा के प्रभाव पर्ला ?

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ११, मंगलवार १८:००
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामार्फत सेयर बजारसँग सम्बन्धित तीन व्यवस्थामा परिमार्जन गरेको छ । राष्ट्र बैैंकले गरेको पहिलो नीतिगत परिमार्जन हो, अब नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुको १८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्य भन्दा जुन कम छ सोही मूल्यको बढीमा ७० प्रतिशतसम्म मात्रै सेयर कर्जा दिन पाइने । यस अघि १२० दिनको अन्तिम मूल्यको औसत वा प्रचलित बजार मूल्य भन्दा जुन कम हुन्छ सो को ७० प्रतिशतसम्म कर्जा पाइन्थ्यो ।

नेपाल राष्ट्र बैंकले गरेको दोश्रो परिमार्जन गरेको बैंक तथा वित्तिय संस्थाहरुलाई सेयर किनबेचमा कडाई हो । हालसम्म बैंक तथा वित्तिय संस्थाहरुले कोर क्यापिटलको ३० प्रतिशतसम्म सेयर कारोबार गर्न पाउँथे । कहिले किन्ने र कहिले बेच्ने भन्ने विषय बैंक तथा वित्तिय संस्थाहरु आफैं तय गर्न स्वतन्त्र थिए । तर अब भने क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुले खरिद गरेको सेयर एक वर्षसम्म बेच्न पाउने छैनन् । एक वर्षपछि पनि प्राथमिक पुँजीको एक प्रतिशत बराबरको सेयर मात्रै बेच्न पाउनेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई लघुवित्त कम्पनीहरुको सेयर किन्न पनि रोक लगाइदिएको छ । ‘विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको शेयरमा लगानी गर्न पाइने छैन ।’, नेपाल राष्ट्र बैैंकले भनेको छ । यो व्यवस्थाले लघुवित्त कम्पनीहरुको सेयर मूल्य घटाउन भूमिका खेल्ने सम्भावना छ ।

के होला प्रभाव ?
बैंक तथा वित्तिय संस्थाहरुले खरिद गरेको सेयर एक वर्षसम्म बेच्न नपाउने व्यवस्थाले सेयर बजारको दिगो विकासमा भूमिका खेल्ने नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन् । रौनियारको बुझाईमा बैंकहरुले किनेको सेयर एक वर्षसम्म बेच्न नपाउने भएपछि बजारमा बैंकहरुका कारण हुने सेयर सप्लाई कम हुनेछ । सेयर सप्लाई कम हुनु भनेकै बजारका लागि राम्रो सन्देश हो । त्यस्तै, बैंकहरुले एक वर्षसम्म होल्ड गर्नुपर्ने सेयर खरिद गर्दा राम्रो अध्ययन गर्नेछन्, र लगानीकर्ताहरुलाई पनि राम्रा कम्पनी छनौट गर्न सहज हुनेछ । अर्काे अर्थमा भन्दा अब बैंक तथा वित्तिय संस्थाहरु सेयर बजारका लागि संस्थागत लगानीकर्ताका रुपमा देखा पर्ने पनि रौनियारले बताए ।

अहिले लघुवित्त कम्पनीहरुको सेयर मूल्य छोई नसक्नुछ । त्यस्तो मूल्य निर्धारणमा बैंकहरुको भूमिका रहेको आरोप लाग्दै आएको छ । थोरै सेयर सप्लाई भएका कम्पनीहरुको सेयर बैंकहरुले उठाउने गरेका छन् । त्यस्ता सेयरहरुको मूल्य निर्धारणमा बैंकहरुको भूमिका बढेपछि राष्ट्र बैंकले अब लघुवित्त कम्पनीहरुको सेयर मूल्यलाई अनावश्यक बढ्न नदिने गरि नयाँ व्यवस्था अघि सारेको देखिन्छ ।

तर रौनियारले भने राष्ट्र बैंकको नयाँ व्यवस्थाले लघुवित्तको सेयर मूल्यमा कुनै प्रभाव नपार्ने बताए । ‘लघुवित्त कम्पनीहरुको आम्दानी राम्रो छ, इपिएस पनि राम्रो छ, त्यसकारण बैंकहरुलाई किन्न नदिने वित्तिकै यसको मूल्य घट्छ भन्ने कुरा ठिक होइन’, रौनियारले भने । उता, सेयर लगानीकर्ता संघका उपाध्यक्ष तारा प्रसाद फुल्लेलले बैंकहरुले किनेको सेयर एक वर्षसम्म बेच्न नपाउने व्यवस्थाले सेयर बजारको दिगो विकासमा भूमिका खेल्ने बताए । १८० दिनको औसत बनाउने र लघुवित्तको सेयर बाणिज्य बैंकहरुले किन्न नपाउने व्यवस्था भने नगरिएको भए राम्रो हुने उनले बताए ।

राष्ट्र बैंकको निर्देशनले बैंकहरूलाई सेयर बजारमा आँखा नलगाउन भनेको लगानीकर्ताको बुझाइ छ । लगानीकर्ता दिलिप मुनाकर्मीले सामाजिक सञ्जालमा लेखेका छन्,

“कतिलाई नराम्रो लाग्ला तर आजकाे नियामकीय निर्देशनले स्पष्ट रूपमा बैंक तथा वित्तीय संस्थाहरूलाई पैसाकाे व्यापारमा केन्द्रित हुन र धिताेपत्रकाे व्यापारमा आँखा नलगाउन भनेकाे हाे । केही धिताेपत्र व्यापारी बीएफआईलाई गाह्रो हाेला तर पैसाकाे व्यापारमा फर्कन दवाव र प्राेत्साहन पनि दिएकाे हाे । यसलाई बीएफआईहरूले भुलसुधार र अवसरकाे रूपमा लिनु ठिक हाेला । अरू त आ-आफ्नाे बुझाई ।”

GBIME

प्रतिक्रिया दिनुहोस्