Shikhar Insurance

निषेधाज्ञामा ३० अर्ब रुपैयाँ बजारमा किन पठाउँदैछ राष्ट्र बैंक ?

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १४, शुक्रबार ११:३९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले १४ दिनका लागि बजारमा ३० अर्ब रुपैयाँ पठाउँदैछ । जेठ २८ गते परिपक्व हुने ३० अर्ब रिपोका लागि बैंक तथा वित्तिय संस्थाहरुले आफैं ब्याजदर प्रस्ताव गर्नुपर्नेछ । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले रिपोका लागि आवेदन दिन सक्नेछन् । आजै निष्काशन हुने रिपो आजै बाडफाँट पनि हुनेछ ।

करिब एक महिनादेखि मुलुकका अधिकांश भागमा निषेधाज्ञा लागेको छ । उपत्यका भित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । जेठ १४ देखि २० गतेसम्मको निषेधाज्ञामा वाणिज्य बैंक बैंकको केन्द्रिय कार्यालय र तीन शाखा, विकास बैंकको केन्द्रिय कार्यालय र दुई शाखा तथा वित्त कम्पनीको केन्द्रिय कार्यालय र एक शाखा मात्रै खोल्न पाइन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकहरुले निषेधाज्ञा लागेपछि ऋण प्रवाह पनि घटेको छ भने निक्षेप पनि खासै बढेको देखिन्न । निक्षेप र ऋण प्रवाह दुबै ठप्प प्रायः भएका बेला बजारलाई ३० अर्ब रुपैयाँ किन चाहियो ? नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सिंहदरबारसँग भने, ‘बजारमा तरलता घटेकै छ, त्यसले अब ब्याजदर बढ्न सक्ने सम्भावना पनि बढेको छ, सरकारले बजारबाट ऋण उठाउने तयारी गरेको छ, त्यसकारण सस्तोमा पैसा पठाएर सस्तोमै उठाउने योजना हो ।’

नेपाल राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले बजारमा तरलता कम हुँदै गएकाले रिपो जारी गर्न लागिएको बताए । बिहिबार बजारमा १७ अर्ब ५४ करोड रुपैयाँको तरलता थियो । अन्तर बैंक ब्याजदर पनि ४.६५ प्रतिशत पुगिसकेको थियो । सोमबार राष्ट्र बैंकले ११ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने तयारी गरिरहेको छ । बिहिबार साढे १७ अर्बमा रहेको तरलताबाट सोमबार ११ अर्बको ट्रेजरी बिल जारी गर्दा बजारमा साढे पाँच अर्बको तरलता मात्रै रहने थियो ।

‘बजारमा तरलता १७ अर्ब ५४ करोड मात्रै थियो, सोमबार ११ अर्बको ट्रेजरी बिल जारी हुँदै थियो, त्यसैले शुक्रबार नै ३० अर्ब रुपैयाँ बजारमा पठाउन लागेका हौं,’ राष्ट्र बैंक प्रवक्ता ढकालले भने । उनले अब ब्याजदर बढ्न सक्ने सम्भावनालाई समेत हेरेर राष्ट्र बैंकले यो कदम चालेको पनि बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्