Shikhar Insurance

एक्सिडेन्टल बैंकरः इन्जिनियर बन्ने सपना, सिएमा एडमिसनपछि बैंकिङको स्थापित ब्राण्ड

रोशनी तामाङ
२०८१ असार २३, आईतवार ०९:२३
NIMB
Nabil Bank

काठमाडौं । ‘भोजपुरको निम्न मध्यम वर्गिय परिवारमा जन्मेको केटो, झापा झरेर एसएलसी पास, इन्जिनियर बन्ने सपना, अस्कल क्याम्पस भर्ना, सिए पढ्न चेन्नईको यात्रा तर स्वास्थ्यले साथ नदिएपछि फर्किएर बैंकमा जागिर अनि अहिले ‘क’ वर्गको बैंकको अब्बल सिईओ ।’ –यो कथा हो, सन्तोष कोइरालाको, जो अहिले माछापुच्छ्रे बैंकलाई दोश्रो कार्यकाल नेतृत्व गरिरहेका छन् । खासमा कोइराला ‘एक्सिडेन्टल बैंकर’ हुन् ।

‘मेरो बाल्यकालको सपना इन्जिनियर बन्ने थियो, साइन्स पढ्न अस्कल क्याम्पस आएँ । पछि सिए पढ्नुपर्छ भन्ने भयो र चेन्नई गए, त्यहाँबाट फर्केर केहि समय क्याम्पस पनि पढाएँ । खासमा म एक्सिडेन्टल बैंकर हुँ ।’ कोइरालाले भने ।

Citizen Life
Kumar Bank

उनको अझै एउटा सपना बाँकी छ, क्याम्पस पढाउने । बैंक टेलरको जागिर छाडेर झापामा क्याम्पस पढाउन जाने निधो गरेका कोइरालाको राजिनामा पत्र मावलाका दाज्यूले च्यातिदिए अनि बल्ल कोइराला पर्मानेन्ट बैंकर बने । ‘तत्कालीन बैंक अफ काठमाण्डुमा टेलरको जागिर सुरु गरेको ६ महिना मात्रै भएको थियो, एमबिए गरेको मान्छे म, के पैसा गन्ने जागिर खानु ? भन्ने सोचेँ, राजिनामा पत्र बोकेर हिडेको थिएँ, डिल्ली बजारमा मावलाका दाज्यूले  राजिनामा च्यातिदिनु भो ।’ कोइरालाले पुराना दिन सुनाए ।

इन्जिनियर बन्ने पहिलो सपना पूरा गर्न अस्कल क्याम्पस पढेका उनी परिवारको रहर पूरा गर्नका लागि सिए(चार्टर्ड एकाउन्टेन्ट) पढ्न तयार भए । सिए पढ्न कै लागि दक्षिण भारतको चेन्नई हानिए । तर त्यहाँ पुगेपछि उनलाई जण्डिसले सतायो । अन्ततः कोइराला परिवार कै आग्रहमा नेपाल फर्किए ।

त्यतिबेला काठमाडौंस्थित भारतीय दूतावासबाट सिए पढ्न पाइन्थ्यो । उनी फेरि दूतावासको सिए कोर्समा भर्ना भए । सिएसँगै एमबिए गर्ने सोँच पलायो तर क्याम्पसमा भर्ना गर्ने समय घर्किसकेको थियो । यद्यपी उनले विकल्पहरुको खोजी सुरु गरे र त्रिभुवन विश्वविद्यालयमा प्राईभेट एमबिए भर्ना भए । पहिलो वर्ष कोइरालाले प्राइभेट तर्फ टियु टप गरे । दोश्रो वर्ष, पनि राम्रो गरेर टियु नै टप्ने अनि गोल्ड  मेडल थाप्ने योजना बनाउँदै खुब मेहनत गरे । ‘ख्याल ख्यालैमा पहिलो वर्षमा हाई स्कोर आएछ, दोश्रो वर्ष अलि मेहनत गरेर गोल्ड मेडल लिने सोचेको थिएँ तर प्राइभेट परिक्षा दिनेलाई त्यो सुविधा रहेनछ ।’ कोइरालाले सुनाए ।

प्राइभेट परिक्षा दिएर ‘हाई स्कोर’ ल्याएपछि उनलाई व्यवस्थापन संकायका तत्कालीन डिनले बोलाएर गाली पनि गरेका थिए । ‘यति राम्रो पढ्ने मान्छेले किन प्राइभेट फर्म भरेको भनेर डिनले गाली गर्नु भयो । मैले ढिला भैसकेको रहेछ भने ।’ कोइरालाले पुराना दिन सम्झँदै  भने ।

एमबिएको पहिलो वर्षको नतिजा आईसक्दा उनी अब के गर्ने भन्ने सोच्दै थिए । एकदिन पत्रिकामा बैंकमा जागिर खुलेको सूचना फेला पारे । उनले त्यो फर्म भरे । परिक्षामा सामेल भए र लिखितमा दुई नम्बरमा नाम निस्कियो । अब प्रयोगात्मक परिक्षा दिनुपर्ने भयो, त्यो पनि कम्प्युटरमा । उनले त्यतिबेलासम्म कम्प्युटर सिकेका थिएनन् ।

बाग बजारमा झापाका एक जना दाज्यूको कम्प्युटर पसल थियो, उनले एक हप्ता कम्प्युटर सिके, टाइप गर्न सक्ने भए । अनि हानिए, प्रयोगात्मक परिक्षामा । अरु प्रतिस्पर्धीको कम्प्युटर स्किल देखेर आफू छनोट नहुने आँकलन गरेका थिए । तर लिखितमा टप २ मा परेकाले उनी अन्तिम छनौटमा पर्न सफल भए तत्कालिन बैंक अफ काठमाण्डूको (बिओके–हाल ग्लोबल आइएमई बैंकमा बिलय भैसकेको) टेलर पदमा । र उनको ‘जब स्टेसन’ बन्यो न्युरोड ब्रान्च ।

आफ्नो र परिवारको मूल सपनाहरु छाडेर २०५६ सालमा बैंकर बनेका कोइरालाले त्यसपछि भने कहिल्यै पछाडी फर्कनु परेको छैन । उनको करिअरले यस्तो रफ्तार समात्यो कि उनी अहिले सिईओको रुपमा दोश्रो कार्यकाल माछापुच्छ्रे बैंकलाई दमदार नेतृत्व गरिरहेका छन् ।

हक्की स्वभावका कोइराला बैकिङ क्षेत्रमा स्पष्ट वक्ताका रुपमा चिनिन्छन् । उनी अहिले वाणिज्य बैंकका सिईओहरुको छाता संस्था नेपाल बैंकर्स संघको उपाध्यक्ष पनि छन् । अनुशासित र दिगो बैकिङमा विश्वास राख्ने कोइरालालाई बैंकहरु माथि चौतर्फी नकारात्मक टिप्पणी भैरहेको देख्दा वाक्क लाग्छ । ‘नेपालमा सबै भन्दा सबल, अनुशासित र पारदर्शी क्षेत्र नै बैकिङ हो । ठूलो मात्रामा रोजगारी दिएको छ, देशको बिकासमा पनि ठूलो योगदान दिएको छ । तर अहिले बैंकहरुलाई गाली गर्नेहरुको लर्को  लागेको देख्दा दुःख लाग्छ ।’ कोइरालाले भने ।

तर पनि एक जना इमानदार र जिम्मेवार नागरिकका रुपमा तमाम समस्याहरुका वाबजुद आफ्नो कर्ममा लागिरहने उनी बताउँछन् ।

भोजपुर हुँदै झापा–काठमाडौं–चेन्नाई–झापाबाट फेरि काठमाडौं

भोजपुर जिल्लाको भोजपुर नगरपालिका वडा न. ४ (साविकको सिद्धेश्वर गाबिस–६ मा जन्मिएका कोइरालाले कक्षा २ सम्म स्थानीय दुर्गेश्वर प्राविमा पढे । अलि परको सिद्धेश्वर माविमा कक्षा ५ सम्म पढेपछि कोइरालाको परिवार विकास र समृद्धिको सपना पहिल्याउँदै झापा झर्यो । झापाको चन्द्रगढी–६(हाल भद्रपुर नगरपालिका–६) स्थित विरेन्द्र माविबाट कोइरालाले २०४५ सालमा एसएलसी उतिर्ण गरे ।

त्यसपछि उनी इञ्जिनियर बन्ने सपना बोकेर काठमाडौं हानिए र अमृत साइन्स क्याम्पस(अस्कल)मा भर्ना थए । २०४६–४८ मा आईएससी उतिर्ण भए । उनी सीए पढ्न चेन्नाई गएपछि जण्डिसले सतायो र  फेरि झापा फर्किए । मेची बहुमुखी क्याम्पसमा २०४८ देखि २०५१ सम्ममा बिकम पास गरे । उनले २०४८ देखि २०५२ सालको बिचमा झापा र काठमाडौंमा विभिन्न विद्यालयहरुमा अध्यापनको अनुभव पनि बटुल्ने अवसर पाए । २०५६ देखि २०५८ सालमा त्रिभुवन विश्वविद्यालयबाट प्राइभेट तर्फबाट एमबिए पास गरे । कोइरालाले नेदरल्याण्डबाट एडभान्स लिडरशिप म्यानेजमेन्टमा डिप्लोमा कोर्ष पनि पुरा गरेका छन् ।

थाँती रहेको एउटा सपना

इन्जिनियर र सिएको सपना छाडेर बैंकर बनेका कोइरालाको एउटा सपना भने अझै बाँकी छ । उनी बैकिङ करिअर पछि क्याम्पस पढाउन चाहान्छन् । ‘आरोह अवरोहले म बैंकर बनेँ, बैंकिङ पछि क्याम्पस पढाउने धोको छ । आफूले सिकेको र जानेको ज्ञान शिपलाई नयाँ पुस्तामा बाँढ्ने रहर छ ।’ कोइरालाले सुनाए ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्