Shikhar Insurance

नारायणगढ–बुटवल सडक: पुल निर्माण असारमा सकीने, धमाधम काम हुँदै

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २१, शुक्रबार ०७:३८
NIMB
Nabil Bank

नारायणगढ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत निर्माणाधीन पुल असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ । आयोजनाको खण्ड–१ मा पर्ने दाउन्ने गैँडाकोट सडकको गैँडाकोट नगरपालिका क्षेत्रमा निर्माणाधीन सातवटा माइनर ब्रिज (साना पुल) निर्माणमा सम्पूर्ण जनशक्ति केन्द्रित गरिएको आयोजनाले जनाएको छ ।

आयोजनाका प्रमुख रमेशकुमार दिस्टीले गैँडाकोटको थुम्सीबाट मुकुन्दपुरसम्म सडक डाइभर्सन गरेर सात स्थानमा पुल निर्माणको काम जारी रहेकाले वर्षा अगाडि नै निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको जानकारी दिए । “सडकलाई डाइभर्सन गरेर माइनर ब्रिजको काम अगाडि बढाइएको क्षेत्रमा मनसुन अगाडि नै काम सक्ने योजना बनाएर निर्माण अगाडि बढेको छ”, दिस्टीले भने , “वर्षा अगाडि पुल निर्माणको काम सकियो भने बाढी र भेलले कुनै असर पार्दैन अन्यथा भेलबाट पुलको काम प्रभावित हुनसक्छ ।” नारायणगढ–बुटवल सडक विस्तारका लागि यस खण्डमा खटिएका सबै मजदुरलाई आवश्यकतानुसार पुल निर्माणको काममा प्रयोग गरिएको दिस्टीले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

“अहिले यहाँ कार्यरत सबै मजदुर पुल निर्माणका लागि परिचालन गरिएको छ”, आयोजना प्रमुख दिस्टीले भने , “निर्माणाधीन सातवटा माइनर ब्रिजमध्ये तीनवटाको काम अन्तिम चरणमा पुगेका छन् ।” तीनवटा पुलमा एप्रोच रोड (पुललाई सडकसँग जोड्ने बाटो) बनाएपछि सवारी साधन सञ्चालन गर्न सकिने दिस्टीले बताए । “अन्य पुलमध्ये केहीमा सबस्ट्रक्चर (पिलरको काम) सकिएको छ”, दिस्टीले भने , “केहीमा भने सुपर स्ट्रक्चर (पुल निर्माणका लागि बिम राख्ने तथा ढलान गर्ने काम)को लागि फर्मा राख्ने काम भइरहेको छ ।”

आयोजनाअन्तर्गत खण्ड–१ को काममा अहिले ८० देखि १०० जनासम्म मजदुर प्रयोग हुने गरेका दिस्टीले बताए । “कोभिडको असरका कारण काममा ढिलाइ भएको छ, केही मजदुर बिरामी परेर घर गए केही भने बिरामी हुने डरले काममा आउनै छाडे”, दिस्टीले भने , “मजदुर नहुँदा काममा ढिलाइ भएको हो, निषेधाज्ञाले कुनै असर परेको छैन, स्थानीय प्रशासनबाट पूरै सहयोग पाइरहेका छौँ ।” अहिले पुल निर्माणको काममा स्थानीय मजदुर बढी प्रयोग भइरहेका दिस्टीले बताए ।

नारायणगढ–बुटवल सडक विस्तारका क्रममा खण्ड–१ मा साना १०० भन्दा बढी कल्भर्ट निर्माण भइसकेका छन् । सो खण्डमा २२ वटा साना पक्की पुल तथा १२ वटा ठूला पक्की पुल निर्माण हुँदैछन् । फलामे पुल भएको स्थानमा ठूलो पक्की पुल निर्माण हुने आयोजना प्रमुख दिस्टीले बताए।

नारायणगढ–बुटवल सडकको ११४ किलोमिटर क्षेत्रलाई दुईवटा खण्डमा विभाजन गरेर सडक विस्तारको काम अगाडि बढाइएको छ । गैँडाकोटबाट दाउन्ने (६५ किमी) खण्ड–१ र दाउन्नेबाट बुटवल (४९ किमी)लाई खण्ड–२ मानेर विस्तारका लागि ठेक्का दिइएको छ । दुवै खण्डको सडक विस्तारका लागि ग्लोबल टेण्डरमार्फत चाइना स्टेट कन्स्ट्रक्शन इञ्जीनियरिङ कर्पोरेशनले १६ अर्ब ९९ करोड ५२ लाखमा ठेक्का पाएको छ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्