मनकामना स्मार्टको आईपीओः ५८ गुणा बढी सेयर माग, १७ लाखले २५ हजारले दिए आवेदन

सिंहदरबार संवाददाता
२०७८ असार २०, आईतवार १८:२१

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आईपीओमा आवेदन दिने म्याद १ दिन बाँकी छँदै बाँडफाँड हुनेभन्दा ५८ गुणा बढी सेयर माग भएको छ ।

लघुवित्तको आईपीओमा आईतबार साँझ ५ बजेसम्म १७ लाख २५ हजार ६ सय ७८ जनाले आवेदन दिएका हुन् । बिहिबारदेखि आवेदन खुलेको आईपीओमा २ अर्ब २७ करोड २६ लाख ८९ हजार रुपैयाँ बराबरको २ करोड २७ लाख २६ हजार ८ सय ९० कित्ता माग भएको हो ।

माग भएको सेयर संख्या कम्पनीले बाँडफाँड गर्नेभन्दा ५८ गुणा बढी हो ।

कम्पनीको ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ बिक्री खुला भएको हो । आईपीओमा असार २१ गतेसम्म आवेदन दिन पाइन्छ ।

३ लाख ८९ हजारमध्ये ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीका लागि, १९ हजार ४ सय ५० कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी ३ लाख ६३ हजार ४ सय ९२ कित्ता सर्वसाधारले आवेदन दिन पाउनेछन् ।

आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिन्छ ।

कम्पनीको आईपीओ १०-१० कित्ताका दरले ३६ हजार ३ सय ४७ जनाले पाउनेछन् भने २ जनाले ११-११ कित्ता पाउनेछन् । आवेदक संख्या सेयर पाउनेको भन्दा ४४ गुणा बढी हो ।

अर्थात्, हरेक ४४ जना आवेदकमध्ये १ जनाले १० कित्ता सेयर पाउनेछ ।

कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी आईआर डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्छ ।

आईपीओ विक्रीका लागि कम्पनीले असार ६ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल हो ।

चुक्तापूँजी ८ करोड २२ लाख ५० हजार रूपैयाँ छ । आईपीओ बिक्री पश्चात कम्पनीको चुक्तापूँजी १२ करोड ११ लाख ५० हजार कायम हुनेछ ।

गत आर्थिक वर्ष कम्पनीको प्रतिसेयर आम्दानी ६ दशमलव ८५ र प्रतिशेयर नेटवर्थ ११० दशमलव ८४ छ ।

प्रतिक्रिया दिनुहोस्