‘बोर्डले बजारको सेन्टिमेन्ट बुझ्नुपर्छ, दुनियाँमा कहीँ नभएका लगानीकर्ता यहीँ छन्’

चन्द्रसिंह साउद
२०७८ असार २३, बुधबार २१:१३

नेपालको एकमात्र सेयर बजार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को नेतृत्वमा छन्, चन्द्रसिंह साउद । प्रमुख कार्यकारी साउदकै कार्यकालमा पुँजीबजारले डिजिटिलाइजेसनमा फड्को मारेको छ । अनलाइनकै सुरुवातका कारण साउद सहित नेप्सेले वाहवाही पायो । तर, बेलाबेलामा आउने समस्याका कारण नेप्से आलोचनाको केन्द्रमा पनि रहि आएको छ । अहिले नेप्सेको प्रणालीगत र संरचनागत कमजोरी सुधार नगरेको भन्दै नयाँ स्टक एक्सचेन्जको माग भइरहेको छ ।

प्रस्तुत छ, उनै साउदसँग पुँजीबजारमा देखिएका प्रवृत्ति, नेप्से–सेबोन सम्बन्ध र नेप्सेका कामकारबाही तथा लगानीकर्ताको मनोवृत्तिबारे सिंहदरबारले गरेको कुराकानीको सारः

– नट्स र टीएमएस नेप्सेले बनाएको भएपनि सञ्चालनको जिम्मेवारी ब्रोकरको हो ।

– नेपालको सेयर कारोबारमा अपनाइएको अनलाइन प्रणाली पूर्ण छ । तर, डेटा सेन्टर, ब्रोकरबीच नेटवर्क समस्या तथा धेरै प्राविधिक समस्याले बेलाबेला गढबढी हुने गरेको छ । यद्यपि धेरैजसो समस्या ब्रोकरकै कारण भएको हो ।

– अहिले थप समस्या एनसीएचएल, सीडीएससी, ब्रोकरबीच इन्टिग्रेसन नमिल्दा पनि सिर्जना भएको हो ।

– ब्रोकरलाई आफ्नै टीएमएस चलाउन पहिलेदेखि नै भनेका हौं । अझै पनि उनीहरु हामीमा निर्भर छन् । हाम्रो मापदण्डअनुसार राम्रो विकल्प लिएर आउन भनेको भएपनि उनीहरुले तदारुकता देखाएका छैनन् ।

– वेबसाइटको समस्या डेटा लिनेले गर्दा भएको हो । त्यसैले व्यावसायीक प्रयोजनका लागि, ब्रोकरका लागि र सर्वसाधारणका लागि छुट्टाछट्टै डेटा उपलब्ध गराउने गरी तयारी गर्दै छौं । व्यवसायीक प्रयोजनका लागि शुल्क लिएरै गुणस्तरीय डेटा उपलब्ध गराउछौं ।

– नेपाल इन्स्योरेन्सको एउटा नयाँ किसिमको केस छ । जहाँ कारोबार गर्नेले टीएमएसको लुपहोल प्रयोग गरेको देखिन्छ । कसैले योजना बनाएरै यस्तो गरेको रहेछ भने कारबाही हुन्छ ।

– नेप्से इन्डेक्स हिसाबकिताब धेरै अध्ययन गरेर तय भएको हो । अहिले आवाज उठ्यो भन्दैमा हिसाब गर्ने तरिका बदलिँदैन । यद्यपि नेपाल धितोपत्र बोर्डले पूनः अध्ययन गर्न निर्देश गरेको छ, जसअनुसार काम पनि भइरहेको छ ।

– कसैलाई बजारको लेखाजोखा मन छ भने सेन्सिटिभ इन्डेक्स वा उपसूचकहरु हेर्नुपर्छ ।

– तर, अहिलेको इन्डेक्स हिसाबकिताब १ सय प्रतिशत सत्य छ भनेर म ठोकुवा नै गर्न सक्छु ।

– धितोपत्र बोर्डसँग सम्बन्ध बिग्रिएको तथा इन्ट्रेस्ट बाझिएको कुरामा कुनै सत्यता छैन । बोर्ड हाम्रो अभिभावक हो । अभिभावकले भनेको मान्नुपर्छ । तर कहिलेकाही अभिभावक पनि गलत बाटोमा हुनुहुन्छ भने ‘गलत’ भन्न सक्नुपर्छ ।

– बोर्डले ५१ कम्पनीको सूची सार्वजनिक गर्दा कम्तिमा हाम्रो एड्भाइस लिएको भए राम्रो हुन्थ्यो मात्र भनेका हौं ।

– कहिलेकाहीँ बजारको सेन्टिमेन्ट अनुसार चल्नुपर्छ । त्यतिबेलाको मेरो अभिव्यक्ति बजारमा धेरै ‘प्यानिक’ स्थिति नआओस् भन्न थियो । यसअघि सबै विषयमा समन्वय हुन्थ्यो । ५१ कम्पनीको सूची कसरी फुत्क्यो फुत्क्यो ।

– बढ्दा दंग हुने, घट्दा अनसन नै बस्ने परिपाटी सम्झने हो भने त बोर्डले राम्रै गरेको हो ।

– बजार बढ्दा सबैलाई राम्रो हुन्छ तर सबैले प्रतिफल पाउने खालको बजार हुनुपर्छ ।

– त्यतिबेलाका बोर्ड अध्यक्षले अनलाइन कारोबार स्वीकार्नुभएको थिएन । जसका कारण उद्घाटन गर्न अर्थ मन्त्रालयको सहयोग लिनुप¥यो । अहिलेको अध्यक्षले कार्यकाल सम्हालेको दिनदेखि साथ दिनु भएको छ ।

– आजका लगानीकर्ता धेरै स्मार्ट छन् । यसमा मिडियाको ठूलो भूमिका छ ।

– सिमित लगानीकर्ताले बजार घटाउने–बढाउने परिपाटीको अन्त्य अनलाइन कारोबारले गरेको छ । पछिल्लो समय अल–अर–नोथिङ (एओएन)को व्यवस्था हटाएको पनि सिमितको चलखेल बन्द होस् भन्ने मनसायका साथ हो ।

– बैंकका सहायक कम्पनीलाई ब्रोकरको लाइसेन्स दिइनुपर्छ भन्ने पुरानै अध्ययनले निश्कर्ष निकालेको थियो । यस्तै प्रदेशस्तरमा काम गर्ने ब्रोकरलाई पनि अनुमति दिइने योजना थियो । पछि प्रतिनिधिसभा अर्थ समितिको निर्देशन बमोजिम बैंकको सहायक कम्पनीलाई लाइसेन्स दिने प्रक्रिया रोकेका हौं ।

– बैंकको अहिलेका शाखाले ब्रोकरको काम गर्ने होइन । उनीहरुले छुट्टै संयन्त्र तथा पूर्वाधार बनाउनुपर्छ । हाम्रो विश्वास छ कि यतिका वर्ष अनुभव बटुलेका तथा गुणस्तरीय सेवा दिएका बैंकको सहायक कम्पनीले अहिलेका ब्रोकरले भन्दा गुणस्तरीय सेवा दिनेछन् ।

– नयाँ स्टक एक्सचेन्ज ल्याइनु आवश्यक भए नियामकले ल्याउँछ तर नेप्सेको महाप्रबन्धकको कुर्सीमा बसेर भन्नुपर्दा हाम्रो प्रतिस्पर्धी बजार ल्याउनु हुँदैन र आवश्यक पनि छैन ।

– नेप्सेलाई नै पुनर्संरचना गर्ने गरी काम अघि बढेकै हो तर नेपाल राष्ट्र बैंकको स्वामित्वमा भएको सेयर नै बिकेन ।

– नयाँ स्टक एक्स्चेन्ज आए पनि नेप्सेलाई समयसापेक्ष र प्रतिस्पर्धी हुने गरी पुनर्संरचना गरिनुपर्छ ।

– नेपालको हालको पुँजीबजारमा इक्विटी कारोबारमात्र हुन्छ । त्यसमा पनि धेरैजसो वित्तीय संस्थाको मात्र सेयर किनबेच हुन्छ । विशिष्टिकृत धितोपत्र (डिबेन्चर आदि) तथा कमोडिटी कारोबार हुने बजारको आवश्यकता म पनि देख्छु ।

– लगानीकर्तालाई मेरो यो सुझाव छ कि आफ्नो सम्पत्तिको सुरक्षा हुने गरीमात्र लगानी गर्नुस् । कम्पनी सही छनौट गर्नुस् । हल्लाको भरमा लगानी गरेर डुब्नुभयो भने त्यसको जिम्मेवार कोही हुँदैन ।

 

बाँकी भिडियोमा…

प्रतिक्रिया दिनुहोस्