Shikhar Insurance

भारतमा नेपाली रेल चल्ने !

सिंहदरबार संवाददाता
२०७८ असार २६, शनिबार १५:२०
NIMB
Nabil Bank

काठमाडौं । अब भारतमा नेपाली रेल चल्ने भएका छन् । नेपाल भारत रेल सम्झौता भएसँगै नेपाली सामानहरू नेपाल रेलवे कम्पनीका स्वामित्वका रेल तथा वागनले कलकत्तास्थित हल्दियाबाट नेपाल ल्याउन पाउने भएका हुन् ।

सम्झौताको संशोधनमा हस्ताक्षर गर्ने काम शुक्रबार सकिएको हो । सम्झौतामा नेपालका तर्फबाछट वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई र भारतका तर्फबाट भारतीय रेलवे बोर्डका एडिसनल मेम्बर (ट्राफिक ट्रान्सपोर्टेसन) सुशान्तकुमार मिश्राले हस्ताक्षर गरे । हस्ताक्षर भएको कपि शुक्रबार आदानप्रदान भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

यो सम्झौताको संशोधन पछि नेपाली उद्योगी व्यापारीले आयात गर्ने सामग्री तथा निर्यात हुने वस्तु ढुवानी सहज तथा सस्तो हुनेछ ।

रेल सेवा सम्झौताको संशोधनमा नेपालको तेस्रो मुलुकसँग हुने व्यापारका लागि भारतीय रेल सेवा उपयोग गर्ने तथा भारतसँगको द्विपक्षीय व्यापारमा रेलबाट हुने ढुवानीलाई व्यवस्थित गर्ने सम्बन्धमा विभिन्न व्यवस्थाहरू गरिएका छन्‌ । उक्त संशोधनबाट भारतका निजी रेल सेवा प्रदायकहरूले नेपालका लागि रेलबाट हुने ढुवानी सेवा दिन सक्ने व्यवस्था गरिएको छ ।

यसका साथै भारतमा रेल सेवा उपलब्ध गराइरहेका सबै अनुमतिप्राप्त कार्गो ट्रेन अपरेटरहरूले नेपालको पारवहनका लागि हुने ढुवानीका लागि सेवा दिन सक्नेछन्‌ । भारतमा सञ्चालनमा ल्याउनका लागि अनुमति प्राप्त गरेका सबै किसिमका कन्टेनर/वागनहरू नेपाल लक्षित ढुवानीका लागि उपयोगमा ल्याउन सकिनेछ भने निजी सेवा प्रदायकले सञ्चालनमा ल्याएका लोकीमोटिभबाट समेत नेपाल लक्षित ढुवानी हुने मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, नेपाल लक्षित पारवहन कार्गो ढुवानीका लागि नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहने रेल तथा वागनले विरगञ्ज र विराटनगर देखि कलकत्ता/हल्दिया सम्म रेल सेवा दिन सक्ने गरी रेल सेवा सम्झौतामा संशोधन भएको छ ।

हाल नेपालको वीरगञ्जसम्म रेल सेवा उपलब्ध भएकोमा विराटनगर, भैरहवा र इनरवामा रेल सम्बद्ध पूर्वाधार तयार भएपश्चात रेल सेवा उपलब्ध हुने गरी र नेपाल भारत सीमानाका अन्य पारवहन विन्दु तथा द्विपक्षीय व्यापार नाकाहरूमा सहमतीका आधारमा रेल सेवा विस्तार हुँदै जाने सहमति पनि भएको छ । साविकमा नेपालमा हुने आयात निर्यातका लागि रेल सेवामा लागे सेवा शुल्क अग्रिम रुपमा कलकत्तामा तिर्नुपर्ने व्यवस्था रहेकोमा नेपाली वाणिज्य बैक मार्फत सोझै भुक्तानी दिन सकिने व्यवस्था पनि गरिएको छ।

यस संशोधनले दुवै देशबीचको व्यापार तथा पारवहन सम्बन्ध थप सुदृढ हुने विश्वास लिइएको छ ।

विगत केही वर्षदेखि नेपाल-भारतबीच विद्यमान रेल सेवा सम्झौतामा संशोधन गर्ने विषयमा विभिन्न चरणमा छलफल र वार्ता भएका थिए। उक्त वार्ता अनुरुप नेपाल र भारतबीच आदानप्रदान भएको लेटर अफ एक्स्चेन्जमा दुवै देशको सहमति भएअनुरूप असार १४ मा नेपालका तर्फबाट सचिव भट्टराईले हस्ताक्षर गरेका थिए । यस्तै असार १५ मा बोर्डका एडिसनल मेम्बर मिश्राले हस्ताक्षर गरे । हस्ताक्षर गरिएको प्रति भर्चुअल समारोहका बीच आदानप्रदान गरिएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्