Shikhar Insurance

मौद्रिक नीतिको लक्ष्यभन्दा बढी कर्जा विस्तार, कहाँ भयो यति धेरै लगानी ?

सिंहदरबार संवाददाता
२०७८ श्रावण ५, मंगलवार १७:११
NIMB
Nabil Bank

काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा वाणिज्य बैंकहरुले लक्ष्यभन्दा बढी कर्जा विस्तार गरेका छन् । मौद्रिक नीतिमार्फत् निजी क्षेत्रमा गरिने कर्जा लगानी २० प्रतिशतले बढाउने लक्ष्य लिइएकोमा २७ वाणिज्य बैंकहरूले नै २८ प्रतिशतले कर्जा बढाएका छन् ।

वाणिज्य बैंकहरूले आव २०७७/७८ मा कर्जा लगानी २८.०७ प्रतिशतले विस्तार गरेको नेपाल बैंकर्स संघको तथ्यांक छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकिङ प्रणालीमा हुने निक्षेप संकलन तथा कर्जा प्रवाहको ठूलो हिस्सा (असार मसान्तसम्मको तथ्यांका आधारमा ८९ प्रतिशत) वाणिज्य बैंकहरूबाटै हुने गरेको छ ।

आर्थिक वर्षभर २७ वाणिज्य बैंकहरुको कर्जा लगानी ८ खर्ब १५ अर्ब रूपैयाँले बढेको छ ।

२०७७ असार मसान्तमा २९ खर्ब ५ अर्ब रहेको वाणिज्य बैंकहरुको कर्जा लगानी गत आर्थिक वर्षको अन्त्य अर्थात् २०७८ असार मसान्तमा पुग्दा बढेर ३७ खर्ब २१ अर्ब भएको छ ।

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा लगानी २० प्रतिशतभित्र सीमित गर्ने लक्ष्य लिएको थियो ।

आर्थिक वर्ष २०७६/०७७ मा कर्जा प्रवाह १२ प्रतिशतले मात्र बढेको थियो ।

बैंकहरु कर्जा विस्तारमा आक्रमक बन्दा कर्जा प्रवाह बढेको हो । यसो त नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् सीसीडी रेसियो ८५ प्रतिशतसम्म पुर्‍याउन छुट दिएको थियो भने डिबेन्चरको सतप्रतिशत कर्जा लगानी गर्न पाउने व्यवस्था थियो ।

आर्थिक वर्ष २०७७/७८ को एघार महिनाको तथ्यांकका आधारमा कुल आन्तरिक कर्जा २१.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा १२.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ जेठ मसान्तमा यस्तो कर्जा २२.२ प्रतिशतले बढेको छ ।

जेठ मसान्तसम्म मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी २५.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ जेठ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी २४.६ प्रतिशतले बढेको तथ्यांक छ ।

तर, जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १५.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २०.८ प्रतिशतले बढेको हो ।

२०७८ जेठमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.६ प्रतिशत, ३४.३ प्रतिशत र ४८.५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.७ प्रतिशत, ३२.२ प्रतिशत र ४८.२ प्रतिशत रहेको थियो ।

२०७८ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४१.२२ प्रतिशत रहेको छ । २०७७ जेठ मसान्तमा यस्तो निक्षेपको अंश ४४.९८ प्रतिशत रहेको थियो ।

जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २४.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा यस्तो कर्जा विस्तार २६.३ प्रतिशतले बढेको हो ।

जेठ मसान्तसम्म निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २५.२ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह २५.३ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ९.९ प्रतिशतले बढेको तथ्यांक राष्ट्र बैंकको छ ।

जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६५.७ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३.० प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको हो । २०७७ जेठ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.५ प्रतिशत र १३.३ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७७/७८ को एघार महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ४०.२ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १९.१ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १४.६ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १५.९ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २५.४ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १८.२ प्रतिशतले बढेको थियो । सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २४.८ प्रतिशतले, ओभरड्राफ्ट कर्जा २८.२ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा २४.१ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ११.९ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ८७.६ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ५३.२ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ५.५ प्रतिशतले घटेको छ ।

यो पनि पढ्नुहोस्:

वाणिज्य बैंकहरुमा भएको कुल निक्षेप ४२ खर्ब नाघ्यो, वर्षदिनमा ७ खर्ब ११ अर्बले विस्तार

GBIME

प्रतिक्रिया दिनुहोस्