Shikhar Insurance

दुई हप्ता बित्दा पनि खुलेन सडक

सिंहदरबार संवाददाता
२०७८ श्रावण ७, बिहीबार ०८:४१
NIMB
Nabil Bank

दमौली । पहिराले अवरुद्ध भएको सडक दुई हप्ता बित्दा पनि नखुलेपछि सर्वसाधारण मारमा परेका छन् । व्यास नगरपालिका–१२ हुँदै भानु नगरपालिका–५ जाने भगवती रङ्गपथ मोटरमार्ग अवरुद्ध भएको लामो समय हुँदा पनि पुनःसञ्चालन नहुँदा सर्वसाधारण मारमा परेका हुन् ।

गत असार १७ गते परेको अविरल वर्षाले बाटो अवरुद्ध हुँदा पिपलथोक, गोलढुङ्गा, मैवल, कोखे, गरमभ¥याङ, नावरुङ, मिलडाँडा, डाँडाथोकका सर्वसाधारणलाई प्रत्यक्ष मार परेको स्थानीयवासी रामबहादुर अधिकारीले बताए । “बाटो अवरुद्ध हुँदा खाद्यान्न ढुवानीमा पनि समस्या आएको छ । बिरामी हुँदा अस्पतालसम्म आउन पनि कठिनाइ भएको छ”, उनले भने , “लामो समय हुँदासम्म पनि बाटो खोल्न सरोकारवालाको ध्यान गएन ।”

Citizen Life
Kumar Bank
Nepal Life

भानु–५ का वडाध्यक्ष प्रकाश मल्ले आफ्नो क्षेत्रमा भने सवारी साधनमा अवरोध नभएको बताए । छिर्कनेदेखि पिपलथोकसम्म व्यास–१२ को क्षेत्र भएकाले आफूले सो क्षेत्रमा केही पनि गर्न नसकेको उनको भनाइ छ । “मुख्य अवरोध भनेको व्यासको वडा नम्बर १२ मा नै हो । भानु–५ को मोटरमार्गमा पर्ने बाटोको अवरोध हटाइसकेका छौँ”, उनले भने , “त्यो बाटोको विकल्पमा नागनागिना हुँदै मैवल अनि नावरुङ जान सकिन्छ ।”

व्यास–१२ का वडाध्यक्ष तोत्रबहादुर कुँवरले आफ्नो वडाको क्षेत्र भए पनि त्यहाँ ठेक्का लागिसकेको हुँदा केही गर्न नसकेको बताए । प्रदेश सरकारले उक्त बाटोको स्तरोन्नति गरी बाटो मर्मत गरेको थियो । त्यसैले गर्दा त्यो ठेकेदारले नै काम गर्नुपर्ने उनले बताए । “वडा आफ्नो भए पनि बाटो समितिले काम गरेको र त्यो ठेकेदारलाई सम्पर्क गर्ने प्रयास गरेको छु”, उनले भने ।

बाटोको विषयमा पनि वडा र नगरपालिकाले राजनीति गरेको स्थानीयवासी शिव शाहीले बताए । “भानुको वडा कार्यालयमा भन्दा क्षेत्राधिकारभित्र पर्दैन भन्छ, व्यास–१२ मा सम्पर्क गर्दा ठेकेदार खोजेर ल्याउनु भन्छ । ठेकेदार सम्पर्कविहीन छ”, उनले भने , “नगरपालिकामा सम्पर्क गर्दा वडामार्फत आउनु भन्छ । यो अति नै राजनीति भयो ।” बाटो अवरुद्ध हुँदा दैनिक जीवनयापनमै प्रत्यक्ष असर परे पनि सम्बन्धित निकाय पन्छिने काम गरेको उनको आरोप छ ।

छिर्कने बजारको पिपलथोकदेखि डाँडाथोकसम्म करिब आठ किलोमिटर रहेको भगवती रङ्गपथ मोटरमार्गअन्तर्गत करिब एक किलोमिटर मोटरमार्गमा गएको पहिरोले गर्दा घरसमेत जोखिम परेको छ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्