Shikhar Insurance

५ नगरपालिकामा फोहोरमैला व्यवस्थापन परियोजना शुरु, १५ सयले जागिर पाउने

सिंहदरबार संवाददाता
२०७८ श्रावण १२, मंगलवार १२:०२
NIMB
Nabil Bank

काठमाडौं । फोहोरमैला व्यवस्थापनको लागि पहल गर्दै, संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) र पाँच नगरपालिकाहरुको आर्थिक साझेदारीमा हरित पुनःउत्थान प्रवद्र्धन परियोजना (पिजीआरपी) सुरु भएको छ । यस परियोजनाले फोहोरमैला व्यवस्थापनको साथसाथै १५ सय जनाका लागि प्रत्यक्ष रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य लिएको छ । जसका लागि जोखिममा रहेका समूह, विशेष गरी महिलाहरुलाई प्राथमिकता दिइनेछ ।

यूएनडीपीको प्राविधिक सहयोग तथा आर्थिक साझेदारीमा गण्डकी प्रदेशको वालिङ्ग नगरपालिका, कर्णाली प्रदेशको वीरेन्द्रनगर नगरपालिका, सुदूरपश्चिम प्रदेशको भीमदत्त नगरपालिकामा यो परियोजना कार्यान्वयनमा आएको छ भने प्रदेश नं. २ को जनकपुरधाम उप–महानगरपालिका र लुम्बिनी प्रदेशको तिलोत्तमा नगरपालिकामा पनि सञ्चालन हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

यस परियोजनाले लक्षित वर्गलाई रोजगारीको अवसर सिर्जना गर्नुको साथै, फोहोरको व्यवस्थापन श्रोतबाट नै शुरु हुनुपर्छ भन्ने अवधारणालाई प्रबद्र्धन गर्नेछ । सोको लागि घर, उद्योग, व्यवसाय तथा संघसंस्थामा फोहोरको वर्गिकरण गर्ने प्रणालीको विकास गर्ने उद्देश्यले फोहोरमैला व्यवस्थापनमा अपनाइने प्रक्रियाहरु जस्तैः संकलन, वर्गिकरण तथा विसर्जनमा लक्षित वर्गलाई सहभागी गराई रोजगारीको अवसर सिर्जना गर्नेछ ।

साथै बायोग्याँस तथा प्राङ्गारिक मल उत्पादन गर्ने तथा व्यवसायीक जैविक खेतीलाई प्रबद्र्धन गरी आम्दानीको श्रोतलाई बढावा दिइनेछ । कार्यक्रमको पहिलो वर्षमा अनौपचारिका रुपमा फोहोरमैला व्यवस्थापनको जोखिमपूर्ण कार्यहरुमा संलग्न करिब २ सय जनालाई लक्षित गर्दै सुरक्षित तथा व्यवस्थित तरिकाले फोहोर संकलन, वर्गिकरण, पुनःप्रयोग तथा विसर्जन गर्ने सीप तथा रोजगारीको अवसर प्रदान गरिनेछ । जसमध्ये ५०% महिला हुनेछन् । साथसाथै ७०% महिलालाई प्राथमिकतामा राखी विपन्न वर्गलाई लक्षित गर्दै १३ सय जनाले प्राङ्गारिक मल र बायोग्याँस उत्पादन तथा व्यवसायिक जैविक खेती सम्बन्धी सीप तथा रोजगारको अवसर प्राप्त गर्नेछन् भने नगरपालिकाभित्र रहेको ५ हजार घरधुरीलाई प्राङ्गारिक मल उत्पादन गर्ने सीप तथा प्रविधि प्रदान गरिनेछ ।

आयोजनाले व्यवस्थित फोहोर संकलन तथा फोहोर प्रशोधन केन्द्र स्थापनार्थ नगरपालिकालाई आर्थिक तथा प्राविधिक सहयोग प्रदान गर्नेछ । त्यस्तै यस परियोजना अन्तर्गत यूएनडीपीले पाँचवटा नगरपालिकालाई कोभिड–१९ पश्चातको हरित पुनःस्थापना सम्बन्धी योजनाको निर्माण र कार्यान्वयन गर्न टेवा पुर्‍याउनेछ ।

वालिङ्ग नगरपालिकाका मेयर दिलीप प्रताप खाँडले यूएनडिपिको साझेदारीमा नगरपालिकाको फोहोरमैला व्यवस्थापनको लागि नयाँ परियोजना शुरु गर्न पाउँदा हर्षित भएको बताए । “यस आयोजनाले हरित पुनःस्थापनामा फोहोरमैला व्यवस्थापनको महत्व दर्शाउनेछ । साथै फोहोर व्यवस्थापनमा पनि प्रशस्त आर्थिक अवसरहरू सिर्जना हुनसक्छ भन्ने उदाहरणको रुपमा स्थापित हुनेछ,” मेयर खाँडले भने ।

भीमदत्त नगरपालिकाका मेयरसुरेन्द्र विष्टले यस परियोजनाद्वारा गरिने दिगो फोहोरमैला व्यवस्थापन समयको माग भएको बताउँदै यो साझेदारीको अवधारणाले स्थानीय समुदायलाई आकर्षित गर्न र उनीहरुमा आयोजनाप्रति अपनत्वको भावना जगाउन मद्दत पुर्‍याउने दाबी गरे । वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले यो साझेदारीले फोहोरमैला व्यवस्थापनमा नगरपालिकाको क्षमता अभिबृद्धि गराउने कुरामा विश्वास प्रकट गरे ।

यस परियोजनाको सफल कार्यान्वयनका लागि स्थानीय संघ संस्था, सामुदाय र निजी क्षेत्रसँग सहकार्य गर्दै दिगो र स्थानीय स्वामित्वमा फोहोरमैला व्यवस्थापन प्रणालीलाई व्यवस्थित गरिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्