Shikhar Insurance

सीएसआरमा बैंक तथा वित्तीय संस्थाले गर्छन् राष्ट्र बैंकको निर्देशनभन्दा बढी खर्च, लघुवित्तले गर्छन् दोब्बर

सिंहदरबार संवाददाता
२०७८ श्रावण १९, मंगलवार १७:३१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफूले नियमन गर्ने बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्नो निर्देशनभन्दा बढी खर्च गरेको बताएको छ । राष्ट्र बैंकले नेपालको बैंकिङ क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व विषयमा गरेको अध्ययनमा बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको निर्देशनभन्दा बढी खर्च गरेको पाइएको छ ।

बैंक तथा वित्तीय संस्थाले आफ्नो वार्षिक मुनाफाको १ प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने हुन्छ । अध्ययन अनुसार आव २०७६/७७ मा बैंक तथा वित्तीय संस्थाहरुले आव २०७५/७६ को खूद मुनाफाको १.५८ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गरेको देखिन्छ । जसमध्ये सबैभन्दा बढी लघुवित्त संस्थाहरुले २.०१ प्रतिशत छुट्याएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

राष्ट्र बैंकको अध्ययन प्रतिवेदन अनुसार ‘क’ वर्गका वाणिज्य बैंकहरुले औसतमा १.५४ प्रतिशत, ‘ख’ वर्गका विकास बैंकहरुले १.५५ प्रतिशत र ‘ग’ वर्गका वित्त कम्पनीहरुले १.६६ प्रतिश रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गरेका छन् ।

सर्वेक्षणमा सहभागी धेरै बैंक तथा वित्तीय संस्थाहरुले छवि निर्माण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धित कार्यहरु गर्ने गरेको देखिन्छ । बैंक तथा वित्तीय संस्थाहरुमध्ये ८५ प्रतिशतको आफ्नो छुट्टै संस्थागत सामाजिक उत्तरदायित्व नीति रहेको तथा बाँकी १५ प्रतिशतले सो सम्बन्धी वार्षिक योजना बनाउने गरेको देखिएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट भएको खर्च क्षेत्रगत तथा प्रदेशगतरुपमा सन्तुलित भने हुन सकेको छैन । सुधार हुँदै गएपनि सामाजिक उत्तरदायित्व कोषको दुई तिहाईभन्दा बढी बागमति प्रदेशमा खर्च हुने गरेको छ ।

आव २०७५/७६ मा ३५ प्रतिशत वाणिज्य बैंकहरुले संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट भएको क्षेत्रगत खर्च आफ्नो वार्षिक प्रतिवेदनमा खुलाएकोमा आव २०७६/७७ मा सो संख्या बढेर ३८ प्रतिशत पुगेको देखिएको छ । त्यस्तै, आव २०७५/७६ मा १२ प्रतिशत वाणिज्य बैंकहरुले वार्षिक प्रतिवेदनमा संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट भएको प्रदेशगत खर्च खुलाएकोमा आव २०७६/७७ मा सो संख्या बढेर ३०.८ प्रतिशत पुगेको देखिएको छ । यसरी निर्देशन दिए बमोजिम सामाजिक उत्तरदायित्व कोषको खर्चको विवरण वार्षिक प्रतिवेदनमा खुलाउने गरेका छैनन् ।

भौगोलिक र क्षेत्रगत सन्तुलन मिलाउनुका साथै पारदर्शी रुपमा खर्च गराउन सामाजिक उत्तरदायित्व सम्बन्धी स्पष्ट मार्गदर्शन तथा निर्देशनको आवश्यकता राष्ट्र बैंकले औंल्याएको छ । नेपाल राष्ट्र बैंकले नेपालको बैकिङ उद्योगमा संस्थागत सामाजिक उत्तरदायित्व विषयक अध्ययन सम्पन्न गरी प्रतिवेदन प्रकाशन गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी अभ्यासहरुको यथार्थता केलाउन तथा यस बैंकबाट यस सम्बन्धमा जारी गरिएका निर्देशनहरुकोे कार्यान्वयन स्थिति विश्लेषण गर्ने उद्देश्यले अध्ययन गरिएको हो । बैंक तथा वित्तीय संस्थाहरुको वार्षिक प्रतिवेदन, नेपाल राष्ट्र बैंकमा पेश गरेका तथ्यांक साथै २०७७ कार्तिक २० देखि मंसिर २६ गतेसम्म गरिएको अनलाइन सर्वेक्षणका आधारमा अध्ययन गरिएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्