Shikhar Insurance

‘ब्युरोक्रेसीलाई राजनैतिक क्षेत्रले अझै विश्वास गर्न सकेन’ भन्दै सेवाबाट बिदा भए राजस्व सचिव पुडासैनी

सिंहदरबार संवाददाता
२०७८ श्रावण २२, शुक्रबार १७:४१
NIMB
Nabil Bank

काठमाडौं । राजस्व सचिव रामशरण पुडासैनी सरकारी सेवाबाट निवृत्त भएका छन् । अर्थ मन्त्रालय र सम्बद्ध निकायमा ३३ वर्ष काम गरेर पुसैनी बिदा भएका हुन् ।

वि.सं. २०४५ साल असार २० गते निजामति सेवामा प्रवेश गरी २५ वर्ष अर्थमन्त्रालयमा कार्यरत पुडासैनीसँग विश्व बैंक र एशियाली विकास बैंकमा बसेर काम गरेको अनुभव छ । निजामति सेवामा ३३ वर्ष बिताएका पुडासैनी ५८ वर्षे उमेर हदका कारण साउन २४ गते आइतबारदेखि सेवानिवृत्त हुँदै छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सेवानिवृत्त भएका राजस्व सचिव पुडासैनीको विषयगत विज्ञताको प्रशंसा गर्दै अर्थमन्त्री जनार्दन शर्माले त्यसलाई राज्यले आगामी दिनमा पनि उपयोग गर्ने बताएका छन् ।

बिदाई मन्तव्यको क्रममा राजस्व सचिव पुडासैनीले नवनियुक्त अर्थमन्त्रीले अघि सारेको ‘उपभोगवादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने’ भिजन महत्वपूर्ण र सान्दर्भिक रहेको भन्दै त्यसको कार्यान्वयनले राजस्व संकलनमा समेत सुधार आउने तर्क गरे । राजनीतिक र प्रशासनिक क्षेत्र एक अर्काको परिपुरक रहेको भन्दै उनले प्रशासनिक क्षेत्रको जनशक्तिले आफूलाई लोकसेवाबाट आएको भनेर घमण्ड प्रस्तुत गर्न नहुनेमा जोड दिए । सचिव पुडासैनीले भने, “हामी राज्यबाट केही लिन आएको हैन, राज्यलाई केही दिन आएको हो । जनता र राष्ट्रको सेवा गर्नु हाम्रो धर्म हो । घमण्ड गर्नु हुँदैन ।”

तीन दशकभन्दा लामो समय निजामति सेवामा बिताउँदाको अनुभव सुनाउदै उनले नेपालमा राजनैतिक क्षेत्रले ब्युरोक्रेट्सलाई अझै पूर्ण रुपमा विश्वास गरिनसकेको बताए ।

सो अवसरमा मन्त्री शर्माले जनताको पसिनाको थोपा थोपाबाट संकलन भएको राजस्वको न्यायपूर्ण वितरण हुने गरी नीति बनाउन निर्देशन दिएका छन् । मन्त्री शर्माले संविधानले निर्दिष्ट गरेको जन अधिकारको मर्मबमोजिम न्यायिक वितरण सुनिश्चित गर्नुपर्नेमा जोड दिए । “राजस्व भनेको जनताको पसिनाको थोपा थोपाको संग्रह हो । यसको सम्मान गर्नुपर्छ र न्यायपूर्ण वितरण गर्नुपर्दछ,” उनले भने ।

मन्त्री शर्माले राज्यका हरेक नीतिहरु निरन्तर सुधारको प्रक्रियामा रहेको भएतापनि आफूले निरन्तर सुधारभित्र ‘गुणात्मक सुधार’ चाहेको बताए । “निरन्तर सुधारले मात्र पुग्दैन भन्ने मेरो मान्यता छ । निरन्तर सुधारभित्र गुणात्मक सुधार भएन भने त्यो यथास्थितिवादी नीति बन्छ । यथास्थितिवादी नीतिले परिवर्तनको आकांक्षालाई सम्बोधन गर्न सक्दैन,” मन्त्री शर्माले थपे, “ मैले गुणात्मक सुधारको लागि काम गर्ने हो । यो काम हचुवाको भरमा गर्ने होइन । गहन अध्ययन विश्लेषण गरेरै गर्ने हो तर गर्ने हो ।”

बिदाई समारोहमा अर्थसचिव मधुकुमार मरासिनीले सेवा निवृत्त हुन लागेका सचिव पुडासैनीले नेपालको अर्थतन्त्र सुधारमा गरेको योगदानको चर्चा गर्दै बिना कुनै दाग बिदाई हुनु पनि सेवाकालको ठूलो सफलता भएको टिप्पणी गरे । उनले सुधारको विकल्प थप सुधार नै भएको कुरामा जोड दिँदै आर्थिक क्षेत्रमा भएका परिणाममुखी सुधारमा सचिव पुडासैनीको भूमिका महत्वपूर्ण रहेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्