Shikhar Insurance

विज्ञकै निसानामा बैंक तथा वित्तीय संस्था, धेरै कमाएकै हुन् त ?

सिंहदरबार संवाददाता
२०७८ श्रावण २५, सोमबार १४:३६
NIMB
Nabil Bank

काठमाडौं । आर्थिक वर्षको हरेक त्रैमास अन्त्य हुँदा बैंक तथा वित्तीय संस्थाले प्रकाशन गर्ने वित्तीय विवरणबाट एउटा मुख्य समाचार बन्छ, ‘फलानो बैंक/वित्तीय संस्थाको नाफा यति !’ यो समाचार सबैको चाखको विषय बन्छ । वित्तीय विवरण हेर्न जान्नेले सोही नाफाका आधारमा प्रतिसेयर आम्दानी, वितरणयोग्य मुनाफा, पीई रेसियो जस्ता फन्डामेन्टल नियाल्छन् र लाभांश क्षमता पनि गणना गर्छन् ।

गत आर्थिक वर्षको ९ महिना बित्दै ५० अर्बभन्दा बढी नाफा गरेका वाणिज्य बैंकहरूले वर्षभर ६० अर्बभन्दा बढी नाफा गरेको अनुमान लगाइएको छ । विकास बैंक, वित्त कम्पनी र लघुवित्तको नाफा पनि त्यसरी नै बढीरहेको छ ।

Citizen Life
Kumar Bank

वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०७४/७५ भर ५३ अर्ब ६३ करोड रूपैयाँ नाफा गरेकामा आव २०७७/७८ को ११ महिनामै ६२ अर्ब ३६ करोड रूपैयाँ कमाएका छन् ।

कोभिड महामारीकै माझ अघिल्लो आव २०७६/७७ मा बैंकहरूले ५४ अर्ब ३५ करोड रूपैयाँ नाफा गरेका थिए । आव २०७५/७६ मै उनीहरूल ६५ अर्ब २१ करोड रूपैयाँ नाफा गरेको केन्द्रिय बैंकको तथ्यांक छ ।

कुन आर्थिक वर्ष कति नाफा ?

आर्थिक वर्ष
नाफा (रूपैयाँ)
आव २०६७/६८
१५ अर्ब ५९ करोड
आव २०६८/६९
१५ अर्ब ८७ करोड
आव २०६९/७०
२१ अर्ब ५ करोड
आव २०७०/७१
२१ अर्ब २९ करोड
आव २०७१/७२
२८ अर्ब ३८ करोड
आव २०७२/७३
३८ अर्ब १२ करोड
आव २०७३/७४
४५ अर्ब ४३ करोड
आव २०७४/७५
५३ अर्ब ६३ करोड
आव २०७५/७६
६५ अर्ब २१ करोड
आव २०७६/७७
५४ अर्ब ३५ करोड
आव २०७७/७८ (११ महिना)
६२ अर्ब ३६ करोड

                                                                                     स्रोतः नेपाल राष्ट्र बैंक

विकास बैंक र वित्त कम्पनीको नाफा भने वाणिज्य बैंकहरूको तुलनामा निकै कम छ । तर, साना संस्था भएर पनि लघुवित्त कम्पनीको नाफा अधिक छ ।

हाल देशभर २७ वाणिज्य बैंक, १८ विकास बैंक, २० वित्त कम्पनी र ७४ लघुवित्त वित्तीय संस्था छन् ।

केन्द्रिय बैंकका अनुसार ३ खर्ब १९ अर्ब ३५ करोड रूपैयाँ चुक्तापुँजी भएका वाणिज्य बैंकहरूले ११ महिनामा ६२ अर्ब ३६ करोड रूपैयाँ कमाएका छन् । यस्तै ३२ अर्ब ८ करोड रूपैयाँ चुक्तापुँजी भएका विकास बैंकले ६ अर्ब १ करोड र १४ अर्ब ९३ करोड चुक्तापुँजी भएका वित्त कम्पनीले यही अवधिमा १ अर्ब ९१ करोड कमाएका छन् । तर, २४ अर्ब ३८ करोड रूपैयाँ चुक्तापुँजी भएका लघुवित्तहरूको कमाइ भने ८ अर्ब ७९ करोड रूपैयाँ छ ।

सामान्य भाषामा भन्दा वाणिज्य बैंकको प्रति १ अर्ब चुक्तापुँजीबाट १९ करोड ५२ लाख रूपैयाँ कमाइ भएको छ । यस्तै विकास बैंकले १८ करोड ७३ लाख कमाउँदा विकास बैंकले भने १२ करोड ८० लाख कमाएका छन् । जबकि विकास बैंकले १ अर्ब चुक्तापुँजीबाट ३६ करोड ५ लाख रूपैयाँ कमाइरहेका छन् ।

 

वित्तीय संस्थाका प्रकार
चुक्तापुँजी (रूपैयाँ)
नाफा (रूपैयाँ)
प्रति १ अर्ब चुक्तापुँजीको नाफा
वाणिज्य बैंक
३ खर्ब १९ अर्ब ३५ करोड
६२ अर्ब ३६ करोड
१९ करोड ५२ लाख
विकास बैंक
३२ अर्ब ८ करोड
६ अर्ब १ करोड
१८ करोड ७३ लाख
वित्त कम्पनी
१४ अर्ब ९३ करोड
१ अर्ब ९१ करोड
१२ करोड ८० लाख
लघुवित्त कम्पनी
२४ अर्ब ३८ करोड
८ अर्ब ७९ करोड
३६ करोड ५ लाख

                                                   स्रोतः नेपाल राष्ट्र बैंकबाट प्राप्त ११ महिनाको तथ्यांक

 

वित्तीय संस्थाको यत्तिको नाफामा गभर्नर देखि पूर्वप्रधानमन्त्री सम्मको चासो छ ।

प्रतिनिधि सभाको अर्थ समितिमा गभर्नर महाप्रसाद अधिकारीले लघुवित्तहरुको नाफा धेरै भएको भन्दै त्यसतर्फ नजर लगाउने संकेत गरे । त्यसको पर्सिपल्टै पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबैक्षेत्र लथालिंग हुँदा पनि बैंकहरुको नाफा बढेको बढ्यै गरेको बताए । भट्टराईले बैंकहरुका कारण सिमित व्यक्तिहरु मात्रै धनी हुने क्रम बढेको आरोप पनि लगाउन भ्याए ।

उद्योगी व्यवसायीहरूले अधिकांश समय ब्याज बढी भएको, उद्योगधन्दा घाटामा जाँदा समेत बैंकहरुले सँधै उच्च अंकको नाफा नै गर्दै आएको आरोप लगाउँदै आएका छन् ।

 

के बैंकहरुले धेरै नाफा कमाएकै हुन् त ? के बैंकहरु आधुनिक युगका सामन्त नै हुन त ?

नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले विभिन्न प्रसंगमा “बैंकहरुमा लगानी असुरक्षित हुन थालिसक्यो । पहिले त २५ प्रतिशत प्रतिफल हुन्थ्यो, अहिले १५ प्रतिशतभन्दा तल ओर्लिसक्यो । ११ भन्दा तल ओर्लिए बैंकहरुमा लगानी नगरे हुन्छ ।” भन्दै आएका छन् ।

विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृत र अध्यक्षहरू पनि एउटा ३० अर्ब लगानी गरेर वार्षिक ४ अर्ब नाफा गरेको हो अर्थात् १३ प्रतिशत नाफा गरेको बताउँदै आएका छन् । जबकि अन्य क्षेत्रमा २–४ करोड लगानीबाटै त्यति धेरै नाफा हुन्छ ।

बैंकरहरु भने नाफा बढ्दै गएको भएपनि लगानीको प्रतिफल कम हुँदै आएको जिकिर गर्दै आएका छन् । यसको कारण हो, जुन दरमा बैंकमा गरिएको लगानी बढ्दै गएको छ, त्यो दरमा नाफा नबढ्नु ।

चुक्तापुँजी वृद्धि, रिजर्भमा सुधार भएसँगै सेयरधनीको कोषमा रहेको रकम अर्थात् बैंकको कुल इक्विटी व्यापक मात्रामा बढ्दा नाफामा भने सामान्य सुधार आएको छ ।

कुल इक्विटीको तुलनामा गरिएको नाफाको दरलाई बैंकहरुको वित्तीय विवरणमा रिटर्न अन इक्विटी (आरओई) भनिएको हुन्छ । २०७० असार मसान्तमा २४.८३ प्रतिशत रहेको बैंकहरुको औसत आरओई साढे ७ वर्षमा १३.८२ प्रतिशतमा खुम्चिएको वित्तीय विवरणले देखाउँछ ।

करिब १४ रूपैयाँ कमाउन बैंकले दुनियाँभरको कसरत गर्छन् । कर्जा लगानी गर्छन्, सेयर कारोबार गर्छन्, सञ्चालन मुनाफा सकेसम्म कम बनाउन मिहिनेत गर्छन् । नाफा देखाउनकै लागि प्रोभिजनका लागि छुट्याइएको रकम राइट ब्याक गर्छन् । यसो गर्दा पनि बैंकहरूलाई १०० रूपैयाँवापत् १४ रूपैयाँ कमाउन पनि मुस्किल परेको हुन्छ ।

अन्य व्यवसायहरुले लगानीको प्रतिफल बढाउँदै गर्दा बैंकमा गरिएको लगानीको भने प्रतिफल घट्दै जान थालेको हो ।

साढे ७ वर्षको बीचमा वाणिज्य बैंकहरुको कुल इक्विटी ९६ अर्ब ६२ करोडबाट साढे ५ गुणाले बढेर ५ खर्ब ४० अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । यस अवधीमा अधिकांश वाणिज्य बैंकहरुको चुक्तापुँजी चार गुणाले बढेको छ, केहीको भने बढेर २१ अर्ब रुपैयाँसम्म पुगेको छ ।

गत आवको ९ महिनासम्मको तथ्यांक हेर्दा सबैभन्दा ठूलो इक्विटी भएको बैंक नेपाल बैंक हो । बैंकको कुल इक्विटी ३४ अर्ब १४ करोडको छ । ग्लोबल आईएमईसँग ३२ अर्ब र नबिल बैंकसँग ३१ अर्बको इक्विटी छ । सबैभन्दा थोरै इक्विटी भएका बैंकहरु सेन्चुरी र सिभिल हुन् । उनीहरुको कुल इक्विटी क्रमशः १० अर्ब ६४ करोड र १० अर्ब ६६ करोड छ ।

अब उनीहरुले कमाएको नाफाको कुरा गरौं । २० अर्ब २३ करोड इक्विटी भएको एनआईसी एसिया बैंकले ९ महिनामा सर्वाधिक २३.२६ प्रतिशत कमाएको थियो । यस्तै १४ अर्ब ३९ करोड इक्विटी भएको सानिमाको आरओई १९.७३ प्रतिशत थियो ।

वित्तीय विवरणका आधारमा साढे ७ वर्ष अघि ९६ अर्ब ६२ करोड रुपैयाँ लगानी गरेर बैंकहरुले १९ अर्ब कमाएका थिए । अहिले ५ खर्ब ४० अर्ब रुपैयाँ लगानी गर्दा नाफा ५१ अर्ब रुपैयाँ मात्र छ ।

 

हामीले माथिको प्रश्न नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल र वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाललाई सोध्यौं ।

 

नेपाल राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकाल भन्छन्:

“बैंकहरूले लगानी गरेका छन् । त्यही अनुसार नाफा गरेका छन् । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको औसत प्रतिफल १०-१२ प्रतिशत छ । त्यसलाई सामान्य मान्न सकिन्छ ।

लघुवित्तको नाफा भने औसतभन्दा बढी देखिन्छ ।”

 

बैंकर्स संघका अध्यक्ष भुवन दाहाल भन्छन्:

“गत आवमा केही बैंकहरूले सेयरमा लगानी गरेर राम्रै नाफा गरेको देखिन्छ । सेयरबाट हुने नाफा हटाएर हेर्दा बैंकहरूको यथार्थ स्थिति छर्लंगै हुन्छ ।

गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्ने सिटिजन्स बैंक र एनबी बैंकको विवरण हेर्दा उनीहरूको नाफा सेयर कारोबार र प्रोभिजन राइट ब्याक गरेर बढेको छर्लंगै देखिन्छ । मुख्य नाफा कोर बैंकिङ कारोबारबाट हुने नाफा हो । अरू माध्यमबाट आक्कलझुक्कलमात्र कमाइ हुन्छ ।

अर्थविद्, पूर्व अर्थ तथा प्रधानमन्त्री बाबुराम भट्टराईज्यू साढे ३ प्रतिशतमा खुम्चिएको स्प्रेडदरबारे अपडेटेड हुनुहुन्न जस्तो छ ।

बैंकहरूको हेर्ने भनेको सञ्चालन मुनाफा हो । त्यसको मुख्य तत्व स्प्रेड दर हो । अहिले स्प्रेड ५ बाट ३.५ प्रतिशत खुम्चिएको छ । मर्ज र अक्वायर गर्नेबाहेक बैंकहरूको खुद ब्याज मुनाफा घटेको छ ।”

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्