Shikhar Insurance

कुखुराको सुलीबाटै चल्छ ६२ केभिएको जेनेरेटर

नारायण अधिकारी
२०७८ श्रावण ३१, आईतवार २०:३०
NIMB
Nabil Bank

चितवन । कुखुराको सुलीबाट ६२ केभिएको जेनेरेटर चलिरहेको छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । पूर्वीचितवनका व्यवसायी अर्जुन अर्यालले आफ्नै फर्ममा सङ्कलन भएको कुखुराको सुलीबाट बिजुली उत्पादन गरी नयाँ कामको समेत सुरुआत गरेका छन् । उत्पादित बिजुली कुखुराका खोरमा प्रयोग गरिइएको छ । उनका अनुसार सुलीबाट मासिक एक लाख हाराहारीको विद्युत् उत्पादन भएको छ ।

खैरहनी नगरपालिका– १ ज्यामिरेमा रहेको अन्नपूर्ण पोल्ट्री बिडर्स फार्म प्रालीमा जडित बायोग्यास प्लान्टबाट विद्युत् उत्पादन हुँदै आएको हो । फार्मले ६२ केभिएको जेनेरेटर ग्यासबाटै सञ्चालनमा ल्याएको छ । यससँगै तीन फार्मलाई आवश्यकपर्ने विद्युत् यहीबाट उत्पादन भएको छ । फार्मका सञ्चालक अर्यालका अनुसार सुरुमा १२ लाख खर्च गरेर ग्यास उत्पादन थालिएको हो । यसको प्रभावकारिता राम्रो देखिएपछि एक करोड ६५ लाख खर्च गरेर अत्याधुनिक सिएसटिआर प्रविधिअन्तर्गत ५०० घनमिटरको आधुनिक डोमबाट ग्यास उत्पादन हुँदै आएको छ । यसका लागि विश्व बैंकले ऊर्जा विकास कम्पनीमार्फत ५२ लाख अनुदानसमेत दिएको उनको भनाइ छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सुलीबाट ग्यास उत्पादन भएपछि गन्ध हराउने र मल थप प्रभावकारी हुने भएपछि उहाँ यसप्रति आकर्षित हुनुभएको हो । यससँगै इन्धन बचाउने काममा ग्यास प्रभावकारी भएको छ । निकट भविष्यमा दुई हजार घनमिटरको डोमबाट बायोग्यास उत्पादन गर्ने तयारी उनको छ ।

उनका अनुसार बैंकले प्रस्ताव स्वीकृत गरेको छ । यो परियोजना सम्पन्न हुँदै गर्दा दुई लाख १५ हजार कुखुरालाई आवश्यकपर्ने सम्पूर्ण इन्धन ग्यासबाट पूरा हुनेछ । यसका लागि करिब रु १२ करोड खर्च हुनेछ । सोमध्ये रु चार करोड विश्वबैंकले अनुदान दिने उनको भनाइ छ । यसबाट २५० केभिएको जेनेटर चल्नेछ । यसले अत्याधुनिक वातानुकूलित खोरमा आवश्यक विद्युत् पूरा गर्ने उनले बताए ।

अहिले खोरमा एक लाख कुखुरा छन् । केही महिनाभित्रमा दुई लाख १५ हजार पु¥याउनका लागि आधुनिक खोर बनिरहेका छन् । नेपालमा उच्चस्तरको केज प्रविधि भित्र्याउने अर्याल सरकारको जागिर छाडेर यो पेशामा लागेका हुन् । विसं २००८ असार ११ गते काठमाडौँको ज्याठामा जन्मिएका उनले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । बुबा अदालतमा जागिर गर्ने हुँदा उनले देशका विभिन्न जिल्लामा रहेका जेपी हाइस्कुल, भुटनदेवी हाइस्कुल, ठाकुरराम क्याम्पस, त्रिचन्द्र कलेज, शङ्करदेव क्याम्पसलगायतमा अध्ययन गरे ।

अठार वर्ष नेपाल बैंकमा जागिरपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अर्याललाई विसं २०५० मा माध्यमिक शिक्षा विकास परियोजनाको निर्देशकमा नियुक्त गरेसँगै उनी राजनीतिक नियुक्तितर्फ लागेका थिए । लम्जुङका नेपाली कांग्रेसका नेता श्रीकान्त अधिकारी र उदयनाथ अधिकारी लगायतको नाता सम्बन्धका कारण राजनीतिमा प्रवेश गरेका उनी निर्देशक पदबाट हटेसँगै आफ्नै व्यवसाय थालेका हुन ।

उनकी बहिनी डिना उपाध्याय अहिले पनि कांग्रेसको केन्द्रीय नेता छिन् । विसं २०५२ मा चितवन झरेर उनले कुखुरापालन व्यवसाय शुरु गरेका थिए । उनका श्रीमती सुमा अर्यालले जनकपुर चुरोट कारखानाको अधिकृतको जागिर छोडेर यो पेशा अंगालेकी छिन् ।

अध्ययनका कारण उनीहरुले सामान्य नभएर अत्याधुनिक प्रविधिमा जानुपर्छ भन्ने सोचका साथ व्यवसाय शुरु गरे । सो ठाउँमा दुई बिघा १० कठ्ठा जग्गा खरिद गरेर उनले अटोमेटिक केजमार्फत व्यवसाय शुरु गरे । उनले भने, “नेपालमा हामीले पहिलो पटक आटोमेटिक केज भित्र्याएका हौँ ।” उनीहरुको क्लोज हाउसमा कटनले बारिएको छ भने पूर्णरुपमा क्लोजहाउस विकास गरिने जनाइएको छ ।

उनले सुुरुमा ६० हजार कुखुरापालनबाट पेशा थालेका थिए । केजमा उत्पादन भएको अण्डा ठूलो र आकर्षक हुने हुँदा उनको अण्डाको माग राम्रो छ । भविष्यमा यस पेशालाई आधुनिक बनाउने उनको योजना छ । सत्तरी वर्षका उमेरमा पनि युवाहरुसँग व्यावसायिक प्रतिस्पर्धा गर्न सफल उनी पोल्ट्री क्षेत्रमा नेपालमा चिनिएका व्यक्ति हुन् । उनी भन्छन्, “खेर जाने सुलीलाई उपयोग गर्न सक्यौँ भने कसैका खोरमा विद्युत् किन्नु पर्दैन ।” यसो त बायोग्यास बनाउनुपूर्व गन्धका कारण स्थानीयले समयसमयमा विरोध गर्दै आएकामा अहिले खोरभित्रमात्रै होइन, बायोग्यासपछि निस्किएको मलमा गन्ध आउँदैन । यो मलमा नाइट्रोजन प्रशस्त हुने हुँदा उर्वर मानिन्छ । यद्यपि उनले खोर वरिपरि अग्लो बार र हरियाली बनाएका छन् । उनको फार्म पुग्दा जोकोहीलाई तारे होटल पुगे जस्तो भान हुन्छ ।रासस

GBIME

प्रतिक्रिया दिनुहोस्