Shikhar Insurance

फोहर व्यवस्थापन नहुँदा नूनथर प्रदूषित बन्दै

सिंहदरबार संवाददाता
२०७८ भाद्र ८, मंगलवार १३:५३
NIMB
Nabil Bank

सर्लाही । प्रदेश २ कै धार्मिक तथा पर्यटकीयस्थल नूनथर प्रदूषित बन्दै गएको छ । रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित उक्त स्थललाई नूनथर क्षेत्र विकास समितिले नै संरक्षण, प्रवद्र्धन र सञ्चालनमा चासो नदिँदा दिनदिनै यहाँ उत्सर्जित फोहरले प्रदूषण बढाएको हो ।

घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक, तीर्थालु, पिकनिक मनाउनेहरूले फालेका र होटलबाट निस्कने फोहर व्यवस्थापन नगर्दा उक्त स्थानका साथै नजिकैको वाग्मती नदी पनि प्रदूषित भएको छ । अहिले नदी किनारमा प्लाष्टिकका खोल, पेय पर्दाथका खाली बोतल देखिन्छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

भगवान् शिव–पार्वतीको आस्थाको धरोहर बनेको नूनथर र नदीमा फोहर बढ्नु दुःखद् भएको वडा नं १ का अध्यक्ष वीरबहादुर राखालले बताए । रौतहट, सर्लाही, मकवानपुर र सिन्धुलीको सङ्गमस्थल बनेको यो स्थललाई प्रकृतिले नै श्रृङ्गारेकाले स्थानीयवासीका साथै छिमेकी जिल्ला र भारतबाट पनि ठूलो सङ्ख्यामा पर्यटक आउने गर्दछन् ।

अहिले यहाँ आउने पर्यटक फोहर देखेर खिन्न हुन थालेका छन् । नूनथर पार्कभित्र फोहर सङ्कलनका लागि केही डस्बिन राखिए पनि त्यसको सदुपयोग भएको छैन् ।

फोहर व्यवस्थापन नभए नूनथर क्षेत्रको सुन्दरताका साथै वाग्मती सभ्यतामा पनि असर गर्ने नेपाली काँग्रेस रौतहट क्षेत्र नं ४ का सचिव विनोद गुप्ताले बताए । यहाँको महत्व र सौन्दर्यलाई जोगाइ राख्न आफूहरूले पहल गर्ने समितिका अध्यक्ष रामकुमार भट्टराईले जोड दिए ।

साउन महिनामा बोलबम आउने तीर्थयात्री र आन्तरिक तथा बाह्य पर्यटक वृद्धिले सो समयमा फोहर व्यवस्थापन गर्न नसकिएकामा अब छिटै गरिने र यसका लागि योजनावद्ध रूपमा काम अघि बढाइएको उनको भनाइ थियो ।

कुहिने फोहरलाई ठूलो खाडल खनेर जम्मा गर्ने र नकुहिने फोहोरलाई एक ठाउँमा सङ्कलन गरेर व्यवस्थापन गर्ने तयारी भइरहेको समितिका व्यवस्थापक समीर कार्कीले बताए । फोहर टिप्ने कर्मचारी पनि राखिएको र अहिले देखिएका समस्या दीर्घकालीनरूपमा समाधानका लागि योजनावद्ध रूपले समिति अघि बढिरहेको पनि उनको भनाइ थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्