४ सय वर्ष पुरानो खड्ग कालिका मन्दिर पुनःनिर्माण

सिंहदरबार संवाददाता
२०७८ भाद्र ८, मंगलवार १५:०२

तनहुँ । व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुरमा रहेको खड्ग कालिका मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । पुरातत्व विभागको आर्थिक सहयोगमा गत चैतदेखि पुनःनिर्माण शुरु भएको ऐतिहासिक महत्वको खड्ग कालिका मन्दिरको काम अन्तिम चरणमा पुगेको हो ।

मन्दिरको काम लगभग सकिएको र अब रङ्रोगन गर्न बाँकी रहेको वडाध्यक्ष नीरबहादुर खड्काले जानकारी दिए । “मन्दिरको काम लगभग सकियो, अब रङ्रोगन गर्न बाँकी छ”, उनले भने ।

सन् १६७५ तिरका पाल्पाका शक्तिशाली राजा मुकुन्दसेनले शासन गरेको तनहुँसुरमा जीर्ण अवस्थामा रहेको सो मन्दिर रु ५० लाखको लागतमा पुनःनिर्माण शुरुआत गरिएको थियो । “तनहुँसुरमा रहेको दरबारको दुई वर्ष अगाडि पुरातत्व विभागले उत्खनन् गरेको थियो, सोही दरबारको नजिकै रहेको खड्गदेवी मन्दिरको पुनःनिर्माण गरिएको हो”, उनले भने । जीर्ण अवस्थामा रहेको मन्दिर पुरानै शैलीमा पुनःनिर्माण गरिएको छ । उक्त मन्दिरमा तत्कालीन सेन वंशीय राजाले पूजाआजा गर्ने गरेको किंवदन्ती छ । खड्ग कालिकाको शेषको रुपमा तनहुँको व्यास नगरपालिका–४ दमौलीमा पनि तनहुँ कालिका मन्दिर निर्माण गरिएको छ ।

भक्तपुरका ठेकेदारमार्फत मन्दिरको पुनःनिर्माण गरिएको र त्यसका लागि स्थानीय कालिगढ पनि प्रयोग गरिएको छ । “पुरातत्व विभागले गत वर्ष बन्दिपुरमा सांस्कृतिक सम्पदा पुनःनिर्माणका लागि तालिम दिएको थियो, त्यहाँबाट तालिम लिएका कालिगढ मन्दिर पुनःनिर्माणका लागि खटिएका थिए”, उनले भने ।

केही समय अगाडिसम्म ओझेलमा रहेको तनहुँसुर विस्तारै चहलपहल शुरु भएको छ । कोरोना कहरपछि तनहुँसुर घुम्ने गन्तव्यको रुपमा विकास भइरहेको छ । सोही कारण यहाँ सामुदायिक घरवास पनि सञ्चालनमा आएको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं प्राकृतिक सम्पदा तथा जैविक विविधताको संरक्षण गर्दै तनहुँसुर भ्रमण गर्न आउने आन्तरिक एवं बाह्य पर्यटकका लागि खाना तथा आवासको सहज व्यवस्थापन देवस्थल सामुदायिक घरवास सञ्चालनमा आएको छ ।

तनहुँ जिल्लाको नाम तनहुँसुरबाट अप्रभंस भएर रहेको भन्ने किम्वदन्ती छ । पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनी पछिका ८ सेनवंशी राजाले २३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको इतिहास रहेको छ ।

तनहुँसुर दरबारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढी, धारा, तोप तथा अन्य हातहतियार, बारुदीखाना, राजाले न्याय निसाफ तथा कचहरि सञ्चालन गर्ने गद्दी चौतारा, साउने कुवा, कुँडापानी, बाइससिढी चौतारी, ढुङ्गेसाँगु, फूलपाती ढुङ्गा, रानीपोखरी, धर्मशाला, रानीबगैचा, भगवतीपानी मन्दिर यहाँका पर्यटकीय सम्पदा हुन् ।

विकास र व्यापारको खोजीमा तनहुँसुरका नेवार समुदाय दमौली, चितवन, पोखरा, काठमाडौ लगायतका ठाउँमा बसाई सरेर गएका थिए । तनहुँसुरबाट हिमश्रृङ्खला, महाभारत पर्वत श्रृङ्खला, कलेस्तीफाट, चुँदीफाट, गोरखा तथा कास्की जिल्लाका विभिन्न स्थान अवलोकन गर्न सकिन्छ ।

तनहुँसुरसम्म पुग्ने खड्गदेवी मोटरमार्गको ६ किलोमिटर खण्ड कालोपत्रेको तयारी थालिएको छ । सङ्घीय सरकारको रु पाँच करोड र व्यास नगरपालिकाको रु पाँच करोड गरी रु १० करोड लागतमा सडक कालोपत्रेको तयारी भइरहेको छ ।

सन् १६७५ तिरका पाल्पाका शक्तिशाली राजा मुकुन्दसेनले तनहुँसुरलाई आफ्नो राज्यमा मिलाएका थिए । तनहुँसुरको बारेमा प्रकाशित पुस्तक ‘मोतीको माला’ मा उल्लेख भए बमोजिम राजा मुकुन्दसेनको मृत्यु परोणान्त तनहुँ प्रदेशका प्रशासक छोरा भृङ्गीसेनले तनहुँलाई स्वतन्त्र राज्य घोषणा गरेका थिए । भृङ्गीसेनका छोरा हम्बिर सेन र धर्माङ्गद सेनबीच तनहुँ राज्यको उत्तराधिकारी हो हुने भन्ने विषयमा विवाद चलेको बताइन्छ ।

उक्त विवादमा दलभञ्ज्याङका रणभन्जन थापाले सहयोग गरेकाले राजा हम्बिर सेनले भाई धर्माङ्गद सेनलाई तनहुँको राजगद्दीबाट हटाएका थिए । राजा हम्बिर सेनले भाई धर्माङ्गद सेनलाई तनहुँको राजा तँ न हो भनेकाले तनहुँ र भाई धर्माङ्गद सेनले ल म जुङ्ग भनेकाले लमजुङ नाम बन्न गएको किंवदन्ती रहेको छ ।

तनहुँसुरका अन्तिम राजा हरकुमारदत्त सेन र लमजुङका राजा वीरमर्दन शाह मनाङ, मुस्ताङ, पर्वत र पाल्पाको बाटो हुँदै तनहुँको शासनभार त्यागेर तनहुँको विरासत राज्य रामनगरमा पुगेर विश्राम लिएको बताइन्छ । रासस

प्रतिक्रिया दिनुहोस्