Shikhar Insurance

नेपालको पर्यटन प्रवर्द्धनमा मलेसियाले सघाउने

सिंहदरबार संवाददाता
२०७८ भाद्र १२, शनिबार १९:२०
NIMB
Nabil Bank

काठमाडौं । नेपालले मध्यपूर्वी एशियाको उदियमान पर्यटकीय गन्तव्य मुलुक मलेसियासँग पर्यटन प्रवद्र्धनका लागि सहकार्य गर्ने भएको छ ।

दुई देशबीच पर्यटन प्रवद्र्धन गर्न आपसी सहकार्य गर्ने सन्दर्भमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिईओ) डा धनञ्जय रेग्मी र नेपालका लागि मलेसियाका फस्ट सेक्रेटरी (चार्ज दी अफेयर्स) मोह्द फाजेल अबु हसनबीच छलफल भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

मलेसियन राजदूतावासमा शुक्रबार भएको भेटमा दुवै देशले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै एक अर्को देशको पर्यटन प्रर्वद्धनका लागि सहकार्य गर्ने सकिने कुरामा जोड दिइएको छ । भेटका क्रममा दुवै देशका कूटनीतिक व्यक्ति, सेलिब्रेटी, सञ्चारकर्मीको मैत्रीपूर्ण भ्रमणको कार्यक्रमलाई निरन्तरता दिने र पर्यटनका राम्रा अभ्यास आदानप्रदान गर्न सकिने विषयमा छलफल भएको बोर्डले आज विज्ञप्तिमार्फत जनाएको छ ।

बोर्डका सिइओ रेग्मीले कोभिड–१९ महामारीले गर्दा समग्र पर्यटन क्षेत्र प्रभावित भएको अवस्थामा डिजिटल मार्केटिङमा जोड दिँदै बिटुबीका माध्यमबाट दुवै देशको पर्यटन प्रवद्र्धन गर्न सकिने धारणा राखे । उनले नेपालका विभिन्न क्षेत्रमा पूर्णखोप कार्यक्रम सम्पन्न भएकाले हिमाल आरोहण र ट्रेकिङ गर्ने क्षेत्रमा पर्यटक लैजान खासै समस्या नभएको बताए ।

उनले मलेसियमामा नेपालको प्रवद्र्धन गर्न त्यहाँस्थित सरकारी सञ्चारमाध्यम र नेपालमा मलेसियाको प्रवद्र्धन गर्न नेपालको सरकारी सञ्चारमाध्यमबीच सहकार्य गर्न सकिने पनि बताए ।

भेटका क्रममा मलेसियन राजदूतावासका फस्ट सेक्रेटरी अबु हसनले नेपाल र मलेसियाबीच विभिन्न कोणले सुमधुर सम्बन्ध रहेको बताउँदै कोभिडकै बीचमा स्वास्थ्य मापदण्ड पालना गरेर पर्यटनलाई सञ्चालन गर्न सकिने विषयमा आफूहरुले पनि छलफल गरिरहेको बताए । उनले मलेसिया नेपालीको श्रम गन्तव्य मात्र नभएर पर्यटकीय दृष्टिलेसमेत महत्वपूर्ण रहेको उल्लेख गर्दै आपसी सहकार्यबाट दुवै देशको पर्यटन विकास गर्ने सन्दर्भमा आफूले प्रसास गर्ने धारणा राखे ।

बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले नेपालले मलेसियामा आयोजना हुने विभिन्न मार्टमा सहभागिता जनाउँदै आएको बताउँदै कोभिडकाबीच पनि स्वास्थ्य मापदण्ड पालना गरेर पर्यटनलाई चलायमान बनाउन सकिने बताइन् ।

बोर्डले कोभिडकैबीचमा पनि नेपालको पर्यटनलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ भनेर विभिन्न देशका राजदूतसँग निरन्तर भेटघाट तथा छलफल गरिरहको छ । बोर्डले यसअघि कतार, थाइल्याण्ड र श्रीलङ्का राजदूतसँग छलफल गरेको थियो ।

रासस

GBIME

प्रतिक्रिया दिनुहोस्