Shikhar Insurance

बेलचौतारा सोलार आयोजनाबाट विद्युत उत्पादन सुरु, राष्ट्रिय प्रणालीमा ५ मेगावाट थपियो

सिंहदरबार संवाददाता
२०७८ भाद्र २९, मंगलवार १६:४७
NIMB
Nabil Bank

तनहुँ । तनहुँको बेलचौतारामा निर्माण गरिएको सोलार आयोजनाले विद्युत उत्पादन थालेको छ । सोलार फार्म प्रालिले निर्माण गरेको आयोजनाले मंगलबारदेखि उत्पादन थालेको हो । योसँगै राष्ट्रिय प्रसारण लाइनमा पाँच मेगावट विद्युत थपिएको छ । आयोजनास्थलबाट पाँच सय मिटरको दूरीमा रहेको बेलचौतारा सवस्टेसनमा यहाँ उत्पादित विद्युत जोडिएको हो ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मंगलबार सोलार आयोजनाबाट विद्युत उत्पादनको शुभारम्भ गरिन् । उनले राज्यले मिश्रित ऊर्जाको नीति अपनाएको बताइन् । ‘हामीले उत्पादन गरेको जलविद्युतमा १० प्रतिशत सोलार शक्ति मिश्रण गराउने गरेका छौँ’, उनले भनिन् । सरकारले जलशाययुक्त जलविद्युत आयोजनालाई प्राथमिकता दिएको उनको दाबी थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

सोलार फार्म निजी क्षेत्रबाट नेपाल विद्युत प्राधिकरणसँग विद्युत बिक्री सम्झौता गर्ने पहिलो कम्पनी हो । नेपाल विद्युत प्राधिकरणसँग २०१९ जुलाईमा विद्युत उत्पादन गर्ने सर्तसहित पिपिए सम्झौता भएको थियो । कोरोना कहरले आयोजना निर्माणमा ढिलाइ भएको अध्यक्ष मोहन गुरुङले बताए ।

शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा भानुभक्त बहुमुखी क्याम्पसको एक सय रोपनी जग्गा भाडामा लिएर सोलार आयोजना निर्माण गरिएको हो । दुई वर्षको २७ लाख रुपैयाँ क्याम्पसले जग्गा भाडा बुझ्नेछ । २५ वर्षसम्मका लागि जग्गा कम्पनीले लिने सम्झौता छ । उक्त सम्झौता सकिएपछि पनि फेरि पाँच वर्ष उपभोग गर्न पाउने उल्लेख छ ।

१३ हजार पाँच सय सोलार प्यानल जडान गरी विद्युत उत्पादन थालेको आयोजनाका निर्देशक शंकरजंग गुरुङले जानकारी दिए । उनका अनुसार ४३ करोड रुपैयाँ लगानी गरिएको छ । ‘कोरोनाले निर्माणमा ढिलाइ हुँदा एक करोड रुपैयाँ लागत बढ्यो । सुरुमा ४२ करोड रुपैयाँ लागत अनुमान गरेका थियौँ’, उनले भने । कुमारी बैंक, डोल्मा इमप्याक्ट फन्ड, नेपाल कर्पोरेटिभ इन्भेस्टमेन्ट समुहसँगै एनआरएनए र स्थानीयवासीले समेत लगानी गरेका छन् । सोलार फार्मले स्थानीयका लागि आईपिओ (प्राथमिक सेयर) जारी गर्ने भएको छ ।

आयोजनाबाट वार्षिक ८७ लाख युनिट विद्युत उत्पादन हुने जनाइएको छ । पिपिए सम्झौताअनुसार यहाँ उत्पादित पाँच मेगावटसम्म विद्युत प्रति युनिट ७.३० रुपैयाँमा नेपाल विद्युत प्राधिकरणले खरिद गर्नेछ । पाँच मेगावट बढी भएमा प्रतियुनिट ३.६५ रुपैयाँका दरले आयोजनाले प्राधिकरणलाई बिक्री गर्नुपर्ने सम्झौता गरिएको छ । ६ वर्षमा लगानी सुरक्षित हुने कम्पनीको दाबी छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्