‘सीईओहरुले राष्ट्र बैंकको नीतिमा लुपहोल खोज्ने हैन, सस्टेनेबल बैंकिङ गर्ने हो’

सन्तोष कोइराला
२०७८ आश्विन ८, शुक्रबार ०७:०६

माछापुच्छ्रे बैंक यसपाली पनि  लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बन्न सफल रह्यो ।

स्वच्छ, मन्द र गहन व्यासायिक चाल, प्रतिस्पर्धी व्यावसायिक शैली अपनाएको माछापुच्छ्रे बैंक दरिलो आधार बोकेर बैंकिङ जगतमा उभिएको छ । कुल निक्षेपको ७२ प्रतिशत व्यक्तिगत निक्षेप हुनु बैंकको बलियो जगको आधार हो ।

नियामकको निर्देशन अक्षरस पालना गर्न पछि नहट्ने, क्राइसिसमा नआत्तिने बैंकका नेतृत्व सन्तोष कोइरालाले गरिरहेका छन् । टेलरबाट बैंकिङ करिअर सुरु गरेका कोइराला दुई दशकभन्दा बढीको अनुभव बोकेर डेढ वर्षदेखि बैंकको नेतृत्वमा रही आफूभन्दा अब्बल भनिने बैंकसँग प्रतिस्पर्धा गरिरहेका छन् ।

बैंकिङ क्षेत्रबारे युवा र उम्दा बैंकर कोइरालाको बुझाइ केही भिन्न छ । एग्रेसिभ मोडलमा विश्वास गर्दैनन्, नियामकको व्यवस्थामा कमजोरी औंल्याउन चाहँदैनन् । सबै खाले प्रतिस्पर्धामा पहिलो हुन चाहन्छन् । त्यसैले बैंक २ वर्षदेखि लाभांश घोषणा गर्ने पहिलो बैंक हो ।

उनै कोइरालासँग सिंहदरबारले लामो कुराकानी गरेको छ । प्रस्तुत छ अन्तर्वार्ताको सारः

– कोरोना महामारीमाझ पनि बैंकले राम्रो प्रगति गर्न सफल हुनु हाम्रो टिमवर्कको सफलता हो । व्यवस्थापन र सञ्चालक टिम मिलेर माछापुच्छ्रेलाई एक स्तर माथि लग्यौं । साथै नेपाल राष्ट्र बैंकको निर्देशन अक्षरस पालना गर्‍यौं ।

– हाम्रो सन्तुलित व्यवसायको नतीजा १४ प्रतिशत लाभांश हो ।

– नेपालको बैंकिङ बिजनेस पारदर्शी छ, नियामक सशक्त छ । बैंकहरु मिहिनेती छन्, प्रोफेसनल छन् । कोरोना महामारीमाझ १४–१५ प्रतिशतलाई राम्रै रिटर्न भन्न मिल्छ ।

– बैंकमा गरेको लगानी कहिल्यै खेर जाँदैन । मात्र फरक यो हुन्छ कि कहिले धेरै प्रतिफल मिल्छ, कहिले कम । यो वर्ष प्रोभिजन लगायत नियामकीय व्यवस्थाले केही कम देखिएला ।

– आम सर्वसाधारणको निक्षेप वा बचत (पैसा) को सुरक्षण गर्नु हाम्रो पहिलो दायित्व हो । नाफा गर्नु पा प्रतिफल दिनु दोस्रो । पैसाको सुरक्षण गर्नु हाम्रो बिजनेस भएकाले प्रतिफल नतीजा हो ।

– निक्षेपकर्ताले धेरै ब्याज पाए हुन्थ्यो भन्ने इच्छा राख्छ भने ऋणीले कम ब्याजमा कर्जा पाइयोस् भन्छन् । बैंकले यी दुई भावनाबीच सन्तुलन कायम गर्ने गर्छ ।

– बैंकको बिजनेस सस्टेनेबल (दीगो) बिजनेस हो । सेयर बजार वा घरजग्गा जस्तो अल्पकालमा कयौं गुणाा कमाउने भन्ने बैंकमा लगानी गर्नेले सोच्नु हुँदैन ।

– १ महिनामै ३ प्रतिशत ब्याजदर वृद्धि ? भन्ने प्रश्न मलाई आएको थियो । म आफैं रनभुल्लमा परें र सोचें । हो पनि । तरलताको पहिलो स्रोत सरकारी खर्च, त्यसपछि रेमिट्यान्स । सरकारी खर्च रोकिएकाले बैंकरको धैर्यताको घटेको हो कि भन्ने महसुस भएको मात्र हो ।

– कात्तिकबाट लगानीयोग्य रकमका लागि रेस गर्ने स्थिति हट्छ । किनकी अहिलेको क्राइसिस अल्पकालीन मात्र हो ।

– केही बैंकरले यसलाई दीर्घकालीन पनि भन्ने गर्नुभएको छ तर म त्यसमा सहमत छैन । दीर्घकालीन क्राइसिस भन्ने बैंकहरु पनि कात्तिकबाट सिंगल डिजिट ब्याजदरमात्र फर्कनु हुन्छ ।

– जब हामी बैंकर आफैं मिल्दैनौं, त्यतिबेला नियामकले हस्तक्षेप गर्छ । २ वर्षअघि ब्याजदरको विषयमा हामी आफैं नमिलेर राष्ट्र बैंकले हस्तक्षेप गरेको हो ।

– अहिले साँढेको जुधाइ बाच्छाको मिचाइ भइरहेको छ । हामी शान्तरुपमा अघि बढ्दै गर्दा एग्रेसिभ व्यवसाय गर्ने बैंकको प्रतिस्पर्धाले हामी मिचिएका पक्कै हौं । केही बैंकले निक्षेपमा उच्च ब्याज दिँदा हामीकहाँ रहेको पैसा ‘फ्लाइ’ हुन थाल्यो । तर, हाम्रो सेवा सुविधाका कारण ग्राहकहरुलाई रोक्न सफल भएका छौं ।

– निक्षेप र कर्जाबीचको ब्याजदर अन्तरमा लगाइएको सीमा गलत हो म भन्दिनँ । तर, तरलता पर्याप्त रहेका बेला त्यसको आवश्यकता पनि छैन ।

– बैंकहरुले खराब कर्जा लुकाएका छन् जस्तो मलाई लाग्दैन । अरुको कुरा गर्न त मिल्दैन । माछापुच्छ्रे बैंकको कुरा गर्दा, हामी स्वच्छ छौं । नत्र, हामीले तयार पारेको ब्यालेन्स सिट राष्ट्र बैंकबाट जस्ताको तस्तै पास भएर यति चाँडो लाभांश घोषणा गर्नै सकिन्न ।

– अर्कातर्फ ९५ प्रतिशत ऋणी ग्राहक इमानदार हुनुहुन्छ । बैंकबाट पैसा लिएर भाग्न खोज्ने व्यक्ति नेपालमा खासै हुनुहुन्छ । यसर्थमा खराब कर्जा लुकाए भन्नु अर्थात एभरग्रिनिङको आरोप लगाउनु सरासर गलत हो ।

– कोरोना महामारीका कारण मुख्यगरी जीवनपद्धतीबारे धेरै सिक्यौं । प्रोफेसनल कुरा गर्दा ‘स्लो र स्टेडी’ हुनुपर्ने रहेछ, एग्रेसिभ भएर मात्र नहुने रहेछ भन्ने सिक्यौं ।

– कोरोनाले नेपाली बैंकिङमा ल्याएको सकारात्मक पाटो डिजिटाइजेसन हो । अबको दुनियाँ डिजिटल भएकाले बैंकहरुले यो पाटोमा अझै धेरै लगानी गर्नु आवश्यक छ ।

– हामी पेपरलेस बैंकिङको अभ्यास गर्नुपर्ने सोचमा अघि बढिसकेका छौं ।

– मर्जर र एक्विजिसनले बैंकिङ व्यवसायमा सिनर्जी दिन्छ । व्यावसायीक लागत घट्छ । तर, मानव संशाधन व्यवस्थापन सबैभन्दा चुनौतीपूर्ण हुन्छ । दुई फरक प्रकृतिका बैंक एक हुँदा व्यवसाय विस्तारको शैली तथा सञ्चालकको सोचबीच कहिलेकाही तालमेल मिल्दैन ।

– बैंकको संख्या घटेर क्षमतावान् तथा कम सञ्चालन खर्च हुने बनाउन पनि मर्जरको आवश्यकता छ ।

– म वा माछापुच्छ्रे बैंक ३ खर्ब निक्षेप भएको बैंकसँग भिड्दैन । ३० अर्ब पुँजी भएको बैंकसँग पनि भिड्दिनँ । ठूलो बिजनेस गर्ने बैंकले धेरै नाफा गर्ला । म चाहीँ लगानीमा दिइने प्रतिफलमा प्रतिस्पर्धा गर्छु ।इक्विटीमा प्रतिफलको हिसाबमा हामी देशको आठौं ठूलो बैंक हौं ।

– सबैको आ–आफ्नो बजार छ । आकार र वर्ग हेरेर बैंक सानोठूलो हुँदैन, सेवा र प्रतिफल हेरेर हुन्छ ।

– माछापुच्छ्रे बैंक मर्जरमा नगए पनि सस्टेन गर्न सक्छ । अरुसँग प्रतिस्पर्धा गर्न सक्छ । तर, एउटै स्तरको, उस्तै बजार भएको, उस्तै ऊर्जा र शैली भएको, व्यवसाय एकरुपको भएको, कर्जर गर्दा लागत घट्ने र बिजनेस सिनर्जी बुस्ट हुने बैंक पार्टनरको रुपमा पाए पक्कै पनि बिग मर्जरमा जानेछौं ।

– राष्ट्र बैंकले पनि फोर्स नभएर स्वस्फुर्त रुपमा मर्जमा जाने बाटो देखाएको छ ।

– माछापुच्छ्रे सेक्युरिटी ब्रोकर लाइसेन्स माग्न जाने पहिलो सब्सिडरी कम्पनी हो ।

– बैंकको सब्सिडरी कम्पनीलाई ब्रोकर लाइसेन्स दिए सेयर बजारमा थप ह्यांकी–प्यांकी हुँदैन, अनुशासित हुन्छ ।

– कुनै समय ब्रोकर लाइसेन्स पाउने आशा थियो, अहिले छैन ।

– बैंकको सीईओलाई दोस्रो बजारमा बैंकको सेयर मूल्य कति भयो भन्ने चासो हुँदैन । कति प्रतिफल दिने कम्पनीलाई कति रुपैयाँमा किन्ने भन्ने लगानीकर्ताको छनौटको विषय हो ।

– तर, बैंकिङ इन्डेक्स निकै कम हो । १५ प्रतिशत रिटर्न दिने कम्पनीको मूल्य ४ सय रुपैयाँमात्र हुन्छ ?

– बैंकको काम सेयर बजारबाट कमाउने होइन, कोर बिजेनस गर्ने हो । सर्वसाधारणको पैसा सेयर लगाउनु हुँदैन । हिजो सेयर बजार बढ्यो र फाइदा भयो । घटेको भए के हुन्थ्यो ?

– बैंकरले जे मिल्ने हो त्यो मात्र गर्नुपर्छ । नियामकको नीतिमा लुपहोल खोज्ने काम बैंकको सीईओले गर्नै नहुने काम हो ।

– बैंकहरुले विदेशबाट कर्जा लिन पाउने व्यवस्था कुनै बेला काम लागेको थिएन । नाफा गर्न सकिएको थिएन । अहिले सीडी अनुपातमा गणना गर्न पाइन्छ । बल्ल काम लागेको छ । हामी थप विदेशी ऋण खोज्दै छौं ।

– राष्ट्र बैंकले ०.३ प्रतिशत प्रोभिजन थप नगरिदिएको भए हामी पनि १५ प्रतिशत लाभांश दिने थियौं । कोरोना परिस्थिति सहज भएसँगै प्रोभिजनलाई नाफामा देखाउन सकिन्छ, त्यो आर्थिक वर्ष लाभांश पक्कै बढ्छ ।

– अन्त्यमा, म यही भन्नु चाहन्छु कि हामीले स्टेबल बैंकिङ गर्नुपर्छ । आत्तिएर हुँदैन । लिडरले क्राइसिस धान्नुपर्छ । कात्तिकदेखि लगानीयोग्य रकमको अभाव हट्छ । हामी बैंकर निक्षेपकर्ताको पैसा जोगाउने प्रयासमा लाग्नुपर्छ । नाफा त्यसको नतीजा हो ।

 

कोइरालासँग गरिएको कुराकानी सिंहदरबारको युट्युब च्यानलमा हेर्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्