Shikhar Insurance

बिग मर्जरका लागि हिमालयन र इन्भेस्टमेन्ट चुके, राष्ट्र बैंकले दियो अन्तिम मौका

सिंहदरबार संवाददाता
२०७८ आश्विन १२, मंगलवार १५:४५
NIMB
Nabil Bank

काठमाडौं । आन्तरिक म्यानेजमेन्ट मिलाउन नसक्दा हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकले मर्जरका लागि समय थप गरेका छन् । सैद्धान्तिक स्वीकृति पाएपछि अन्तिम स्वीकृतिका लागि प्रक्रिया पुर्‍याउन नसक्दा यी बैंकले राष्ट्र बैंकसँग थप तीन महिना समय लिएका हुन् ।

सैद्धान्तिक स्वीकृति पाएको ३ महिनाभित्र अन्तिम स्वीकृतिको प्रक्रिया पुर्‍याउन नसक्दा यी बैंकको अनुरोधमा समय थप गरिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए । उनका अनुसार राष्ट्र बैंकले हिमालयन र इन्भेस्टमेन्टलाई आपसी मर्जरका लागि गत जेठ २० गते नै सैद्धान्तिक स्वीकृति दिएको थियो । तर, स्वीकृति पाएको ३ महिना बितिसक्दा पनि अन्तिम स्वीकृतिका लागि आवश्यक कागजात पेस नगरेको उनले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

“राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिएको ३ महिनाभित्र एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति लिनुपर्ने हुन्छ,” प्रवक्ता ढकालले सिंहदरबारसँग भने, “तर, वित्तीय विवरण स्वीकृत भइ वार्षिक साधारणसभा गर्न समय लाग्ने भन्दै थप समय मागेपछि ३ महिना दिइएको हो ।”

राष्ट्र बैंकको मर्जर नीतिअनुसार मर्जर तथा प्राप्तिका लागि आपसी समझदारी गरी राष्ट्र बैंक पुगेका बैंक तथा वित्तीय संस्थाले सैद्धान्तिक स्वीकृति पाएको ३ महिनाभित्र अन्तिम स्वीकृतिका लागि प्रक्रिया पुरा गरिसक्नुपर्ने हुन्छ । कारणबस ढिलाइ भएमा राष्ट्र बैंकमा निवेदन दिएर एक पटकका लागि मात्र थप ३ महिना समय माग गर्न सकिने व्यवस्था छ । सोही व्यवस्थाअनुसार २ बैंकले सहमतिअनुसार मर्जरलाई मुर्तरुप दिन राष्ट्र बैंकबाट अन्तिम मौका पाएका हुन् ।

बैंक मर्जर कमिटीले दिएको निवेदनमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असोज ११ गते म्याद थप गरिदिएका प्रवक्ता ढकालले जानकारी दिए ।

यी बैंकले थपिएको समयमा पनि अन्तिम स्वीकृतिका लागि आवश्यक कागजात पेस गर्न नसके राष्ट्र बैंकले डिमर्जका लागि प्रक्रिया थाल्नेछ ।

पछिल्लो समय हिमालयन बैंकका अध्यक्ष रहेका तुल्सीप्रसाद गौतम विवादमा तानिएपछि मर्जर पेचिलो बनेको छ ।

दुई बैंकको मर्जर अहिलेसम्मकै ठूलो मर्जर हो । उनीहरूबीच वैशाख ३० गते नै मर्जरको सम्झौता भएको हो । हिमालयन बैंकका तत्कालीन अध्यक्ष गौतम र नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पाँडेले बिग मर्जरको सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

त्यतिबेलै दुई बैंक मिलेर बन्ने नयाँ बैंक ‘हिमालयन एन्ड नेपाल इन्भेस्टमेन्ट बैंक’को एकीकृत कारोबार २ महिनाभित्र सुरू हुने बताइएको थियो ।

नयाँ बैंकको अध्यक्ष इन्भेस्टमेन्टका पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत हिमालयन अशोक राणा हुने तय भएको थियो । इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे नयाँ बैंकको डेपुटी सीईओ हुने सहमति भएको थियो ।

यसअघि हिमालयन बैंकले कुनै पनि बैंक तथा वित्तीय संस्था मर्ज वा प्राप्ति गरेको थिएन भने इन्भेस्टमेन्टले एस डेभलपमेन्ट बैंक, जेबिल्स फाइनान्स र सिटी एक्स्प्रेस फाइनान्स एक्वायर गरेको थियो ।

१ बराबर १ को स्वाप रेसियोमा मर्ज भएका दुई बैंक मिलेर बन्ने नयाँ बैंकको चुक्तापुँजी करिब २७ अर्बको हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्