सिटिजन्स बैंकले घोषणा गरेको लाभांश इन्डष्ट्रिकै ‘टप टेन’ हुन्छ

गणेशराज पोखरेल
२०७८ आश्विन १५, शुक्रबार १७:१६

कान्छो पुस्ताको बैंक सिटिजन्स बैंक इन्टरनेसनलको नेतृत्वमा कान्छो पुस्ताको प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल छन् ।

‘मिसन टप टेन’ को नारा लिए अघि बढेको बैंक अहिले सबल बैंक बनेको छ । साढे १२ अर्ब रुपैयाँ चुक्तापुँजी भएको बैंकले पछिल्लो आर्थिक वर्षमा ५२ अर्ब रुपैयाँ निक्षेप र ४० अर्ब रुपैयाँ कर्जा विस्तार गरी सबैभन्दा आक्रामक शैली अपनाएको देखिन्छ । देशैभर व्यवसाय विस्तार गर्ने क्रममा बैंकले आफ्नो कम उपस्थिति भएको स्थानमा सेवा दिइरहेका विकास बैंक तथा वित्त कम्पनीलाई अक्वायर गरेको छ र शीर्ष १० बन्ने लक्ष्यका साथ आफूले बनाएको गोरेटो फराकिलो पारेको छ । जसलाई प्रमुख कार्यकारी अधिकृत पोखरेल ‘राजमार्ग’ को संज्ञा दिन्छन् ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट १६ प्रतिशत लाभांश घोषणा गरिसकेको छ जसलाई पोखरेल टप १० मै पर्ने दाबी गर्छन् ।

मिडियामा आउन खासै नरुचाउने पोखरेलले बैंकमा एउटा प्रणाली बनाएका छन् । बैंकले सबै काम सिस्टममै चल्छ ।

यसरी दरिलो बन्दै गएको बैंकका सीईओ पोखरेलसँग सिंहदरबारले लामो कुराकानी गरेको छ । प्रश्तुत छ, गणेशराज पोखरेलसँग गरेको कुराकानी ‘पालो आर्थिक बहसको’को सारः

 

– स्फुर्त टिम, सञ्चालकको विश्वास, कर्मचारी दत्तचित्त भएर काममा लाग्ने बानी, केही प्राप्तिका कारण हाम्रो व्यवसाय विस्तार भइ कोराना महामारीका माझ १६ प्रतिशत लाभांश दिन सक्यौं ।

– एकवर्ष मै चौथो सानो बैंकबाट सबल बैंक बन्न सक्नुका केही कारण छन्,

१) प्रदेश नंं १ मा सबल रहेको सिर्जना फाइनान्स प्राप्ति गर्नु ।

२) प्रदेश नं. २ को सहहयोगी विकास बैंक प्राप्ति गर्नु ।

३) बाग्मती प्रदेशमा आफैं बलियो हुनु र थप व्यवसाय विस्तार गर्नु ।

४) लुम्बिनी प्रदेशको तिनाउ मिसन डेभलपमेन्ट बैंक प्राप्ति गर्नु ।

– यी कारणले हामी एकैपल्ट ठूलो भयौं । म प्रमुख कार्यकारी अधिकृत हुँदा ४ लाख ३० हजार जना ग्राहक रहेकामा अढाइ वर्षमा ८ लाख सेवाग्राही थपिए ।

– बैंक आफैं पनि दह्रो थियो । पुरानै स्थितिमा १८ प्रतिशत लाभांश दिने स्थिति थियो । तर, मर्जरले हामीलाई झन् बलियो बनायो ।

– हामी कसरी व्यवहार गर्छौं, त्यसले टिममा असर गर्छ । प्राप्तिका बेला हामीले मन ठूलो बनाएर व्यवहार गर्‍यौं । अर्को बैंकबाट सिटिजन्समा समाहित हुनुभएका कर्मचारीलाई सिटिजन्सलाई माया गर्ने बनायौं । कसैले जागिरबाट बिचलित हुन नदिने प्रतिवद्धता दिलायौं ।

– जो जुन जिम्मेवारीमा हुनुहुन्थ्यो, उहाँलाई सोही जिम्मेवारी दियौं । ८०–९० प्रतिशत कर्मचारीलाई पुरानै शाखामा काम दियौं । सबैलाई तालीम दियौं । क्षमता विकास गरायौं, सिटिजन्सको एटिच्युड सिकायौं ।

– बैंकमा कल्चरको आवश्यकता छ । कल्चर बिग्रेर जनकपुर चुरोट कारखाना बिलायो, बैंकमा पनि त्यस्तै डर हुन्छ । १२ लाख ३० हजार जनाको १ सय ४८ अर्ब निक्षेप र लगानीकर्ताको साढे १२ अर्ब लगानी जोगाउन पनि कल्चर आवश्यक हुन्छ ।

– यो बीचमा बैंकमात्र ठूलो भएन, दोस्रो बजारमा बैंकको सेयर मूल्य २ सयबाट ४ सय पुग्दा लगानीकर्ताको कुल सम्पत्ति पनि २५ अर्ब रुपैयाँले बढेको छ ।

– सञ्चालक र व्यवस्थापन बीच नङ र मासुको सम्बन्ध हुन्छ । बैंक सञ्चालक वा अध्यक्षले चलाउने कि सीईओले ? भन्ने प्रश्नको जवाफ विभिन्न नियम, कानुन तथा नेपाल राष्ट्र बैंकको निर्देशिकाले स्पष्ट पार्छ । कहीँ कतै व्यवस्थापनमा सञ्चालको दबाब हुन सक्छ, हाम्रोमा भने त्यसो पाउनुहुन्न । व्यवस्थापनमा सञ्चालकको नियन्त्रण हुनु राम्रो चाहीँ होइन ।

– म बिहान ५ बजेदेखि रातिको ११ बजेसम्म बैंकको काममा लाग्छु । बिहान साढे ५ अघिल्लो दिनको व्यवसायबारे कर्मचारीलाई अपडेट गराइसक्छु ।

– देशको कुल गार्हस्थ उत्पादन बराबरको निक्षेप हामीसँग छ । हामी निकै जिम्मेवार व्यक्ति हौं ।

– ‘डिमान्ड’ र ‘सप्लाइ’ले ब्याजदर तोकिन्छ । बेसरेट बढाएर नाफा कुम्ल्याउन लागे भन्ने आरोप बैंकलाई कहिल्यै लगाउन मिल्दैन । लागतले बेसरेट निर्धारण गर्छ । तर, प्रिमियम परिवर्तन गर्ने काम बैंकले गर्न मिल्दैन ।

– बैंकलाई रिटर्न र डिभिडेन्डमा दबाब नदिऔं । इक्विटी बढ्दै जाँदा प्रतिफल त्यहीरुपमा नबढेको हो । त्यसैले आरओई कम हुँदै गएको छ । अर्कातर्फ लगानीकर्ताले दास्रो बजारबाट पनि कमाइरहनु भएकै छ ।

– धेरै शुल्क लिएर आफ्नो सेवा बेच्छु भन्न किन नपाउनु ? राम्रो सेवा सस्तोमा दिँदा नाफा कम हुन्छ । कम प्रतिफल भयो भन्दै राम्रा लगानीकर्ताले आफ्नो लगानी झिक्न थाले जोखिम बढ्छ नि !

– मलाई सेयर बजारमा इन्टरेस्ट छैन । हामीले जुन प्रतिफल दिएका छौं, आश गरेअनुसार त हैन । तर, मलाई के लाग्छ भने हामीले घोषणा गरेको लाभांश यो वर्षको टप १० मा त पर्छ नै ।

– मार्जिन लेन्डिङको मात्रा राम्रो भएपनि हामीले सेयर बेचेर कमाएका हैनौं । जति कमायौं, कोर बैंकिङ बिजनेस गरेरै कमाएका हौं ।

– दोस्रो बजारमा सिटिजन्स बैंकको मूल्यप्रति मलाई गुनासो छैन । जे जति मूल्य छ, लगानीकर्ताले जानबुझ तबरबाटै त तोक्नु भएको होला ।

– म त भन्छु, लगानीकर्ताले मुद्रास्फीतिभन्दा बढी प्रतिफल पाउनुपर्छ र मुद्दती निक्षेपको ब्याजदर पनि मुद्रास्फीतिभन्दा बढी नै हुनुपर्छ ।

– बैंकको ब्याजदर अघिल्लो मसान्त मै तोक्नुपर्छ ।

– बैंकको संख्या थोरैमात्र राखौं र स्वच्छ प्रतिस्पर्धा गरौं ।

– साउनदेखि कर्जाको वृद्धि ठीकै भएपनि लगानीयोग्य रकम हामीसँग पर्याप्त छ । सिटिजन्सकै सीडी रेसियो ८८ प्रतिशत छ । अब सरकारी खर्च हुन थालेपछि तरलता सहज हुन्छ । स्थानीय तहमा पनि पैसा आइरहेको छ ।

– यो वर्ष लक्ष्य अनुसार ७५० अर्ब रुपैयाँ कर्जा विस्तार गर्नु पर्ने हुन्छ । त्यसका लागि ८ देखि साढे ८ खर्ब रुपैयाँ निक्षेप आवश्यक हुन्छ । निक्षेपको माग बढेकाले ब्याजदर बढेको हो ।

– हामीले प्रवाह गर्न पाउने ९० प्रतिशत कर्जामध्ये पनि ४५ प्रतिशत प्राथमिकता प्राप्त क्षेत्रमै पठाउनु पर्ने हुन्छ । त्यसैले बाँकी ४५ प्रतिशतमा बैंकर ‘चुजी’ हुन्छन् ।

– राष्ट्र बैंकको नियमन कडा छ । हामी त गर भने पछि गर्ने हो ।

– अस्तित्वमाथि प्रश्न उठेपछि सिटिजन्सको ‘मिसन टप टेन’ शुरु भएको हो । फलेफुलेको बैंकका बीचमा हामी सानो भएका थियौ । साइजले साँच्चै ‘म्याटर’ गर्ने रहेछ ।

– म सीईओ भएको साढे २ वर्षमा सिटिजन्स बैंक चम्किलो संस्था बनेको छ । अब दिगो सोच राखेर अघि बढ्नेछ ।

– अबको लक्ष्य कहाँ हो ? भन्ने ‘रिलेटिभ’ कुरा हो, अर्थ त हाम्रो सोच, काम गर्ने शैलीले राख्छ । नाफा नोक्सान र अंक हेरेर मात्र हुँदैन ।

– सीईओ कहाँ आएर काम गराउने प्रणाली अन्त्य गर्न हामीले विभाग र विभिन्न शाखाको व्यवस्था गरेका छौं । हरेक विभागमा प्रतिस्पर्धी र क्षमता वान कर्मचारी हुनुहुन्छ । म प्रणालीमा विस्वास राख्ने मान्छे हुँ, सिटिजन्स बैंक पनि प्रणाली मै चल्छ ।

प्रतिक्रिया दिनुहोस्