Shikhar Insurance

अभिकर्ता फकाउन गैरकानुनी रुपमा बीमा कम्पनीले दिए अर्बौ ऋण, समितिको निर्देशनको ठाडो अवज्ञा !

६ महिनामा ४२ करोड रुपैयाँ थप, १२ वटाले बढाउँदा ७ ले घटाए
दिलु कार्की
२०७८ आश्विन १९, मंगलवार १४:३४
NIMB
Nabil Bank

काठमाडौं । बीमा कम्पनीहरुले नियमकारी निकायको निर्देशनको खिल्ली नै उठाएका छन् । बीमा समितिको निर्देशन विपरित गएर बीमा कम्पनीहरुले अभिकर्तालाई अर्बौं रुपैयाँ कर्जा दिएर थप बढाएको पाइएको हो ।

बीमा समितिले कम्पनीहरुले दिने अभिकर्ता कर्जालाई गैर कानुनी ठहर गरिसकेको छ । समितिले २०७७ वैशाख २ गते नै परिपत्र जारी गर्दै ३ महिना भित्र अभिकर्तालाई दिइएको कर्जा असुल गर्ने कम्पनीहरुलाई निर्देशन दिएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

तत् पश्चात समितिले कम्पनीहरुसँग लिएकोे तथ्यांकअनुसार २०७७ पुस मसान्तसम्म ८ अर्ब ७१ करोड ५० लाख रुपैयाँ अभिकर्तालाई कर्जा दिएका थिए ।

कम्पनीहरुले अर्बौंको परिमाणमा अभिकर्ताले लागेको कर्जा तोकिएको समयसीमा उठाउन समस्या हुने भन्दै थप समय माग गरे । जसमा समितिले यस्तो कर्जा असुली गर्ने समय कम्पनीहरुलाई २०७८ असार मसान्तसम्मको समय दिएको थियो ।

समितिले यसबीचमा कम्पनीहरुलाई क्रमिक रुपमा अभिकर्तालाई दिएको कर्जा असुल गरी २०७८ असार मसान्तसम्म शून्यमा झार्न निर्देशन दिएको हो ।

तर, जीवन बीमा कम्पनीहरुले भने नियमकारी निकायको खिल्ली उठाउँदै दिएको निर्देशनको अवज्ञा गरेका छन् । कम्पनीहरुले २०७८ असार मसान्तसम्म अभिकर्तालाई ९ अर्ब १३ करोड २० लाख रुपैयाँ बढी कर्जा दिएको तथ्यांक सिंहदरबारले प्राप्त गरेको छ । जुन गत पुस मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले अभिकर्तालाई दिएको कर्जामा ४१ करोड ६९ लाख ८७ लाख रुपैयाँ थप हो ।

समितिबाट प्राप्त तथ्यांकअनुसार २०७७ पुस मसान्तसम्म अभिकर्तालाई दिएको कर्जामा २०७८ असार मसान्तसम्म १२ वटा कम्पनीले थप गरेका छन् । यी कम्पनीहरुले समितिको निर्देशनको अवज्ञा गर्दै अभिकर्तालाई दिएको कर्जा असुली गरी घटाउनु पर्नेमा असार मसान्तसम्म बढाएका हुन् ।

सो अवधिमा ७ वटा कम्पनीले भने अभिकर्ता कर्जा घटाएका छन् ।

के हो अभिकर्ता कर्जा ? कसरी भयो गैर कानुनी ?
बीमा कम्पनीहरुले बीमकलाई पोलिसी धितो राखी कर्जा दिन पाउँछन् भने निश्चित अवधि कार्यअवधि पुरा गरेका कर्मचारीलाई समेत बिना धितो कर्जा दिन पाउने व्यवस्था समितिले गरेको छ । तर, अभिकर्ताहरु भनेका संस्थाका कर्मचारी नभएर बीमिति र बीमकबीचको सहजकर्ता (मेडिएटर) मात्र हुन् । बीमा कम्पनीहरुले सीमित अवधिका लागि उनीहरुलाई एजेन्सी अर्थात् अभिकर्ताको रुपमा नियुक्त गरेको हुन्छ ।

जीवन बीमा क्षेत्रमा कम्पनीहरुको व्यवसाय विस्तार र वृद्धिमा अभिकर्ताको महत्वपूर्ण भुमिका हुन्छ । संस्थाको पोलिसी होल्डर बाहेक कर्मचारी हुँदामात्र कर्जा दिन पाउने व्यवस्था बीमा ऐनले गरेपनि कम्पनीहरुले अभिकर्ता खुसी पार्न कर्जा दिएका हुन् ।

कम्पनीहरुले यसरी अभिकर्तालाई ३/४ वर्ष कार्यअवधि पुरा गरेकाहरुलाई प्रोत्साहन स्वरुप दिने जीवन बीमाक संघका अध्यक्ष निर्मलकाजी श्रेष्ठले बताए ।

‘कम्पनीहरुले अभिकर्ताको क्षमता अभिवृद्धका लागि यस्तो प्रकारको कर्जा दिने गरेका हुन्,’ संघका अध्यक्ष श्रेष्ठले सिंहदरबारसँग भने, ‘ अभिकर्तालाई प्रोत्साहन स्वरुप अग्रिम कमिसन, घर खरिद गर्न तथा व्यक्तिगत प्रयोजनका लागि भने पटक/पटक कर्जा दिनु राम्रो होइन, यसले कम्पनीको व्यवसायमा जोखिम निम्त्याउँछ ।’

समितिको निर्देशन पछि कम्पनीहरुले यस्तो कर्जा घटाइरहेको हुँदा समितिले समेत कम्पनीको व्यवसाय विस्तारमा सहयोग गर्ने प्रयोजनका लागि अभिकर्ताको क्षमता बढाउने प्रकारका कर्जा दिने बाटो खुला गर्नु पर्ने उनको भनाइ छ ।

यता, गैरकानुनी रुपमा नै अभिकर्तालाई कर्जा सापटी दिएर जीवन बीमा कम्पनीहरुले व्यवसाय विस्तार गर्दा समेत समितिले कुनै कानुनी कारवाही गरेको देखिँदैन ।

बीमा कम्पनीहरुमा अभिकर्ताले लिएको कर्जा असार मसान्तसम्म भुक्तानी गर्न समस्या भएपछि त्यसमा सहुलियत दिइएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

‘केही कम्पनीहरुले घटाइरहेका छन्, भने केहीमा समस्या देखिएको छ, तर यस्तो कर्जा थप भने दिएका छैनन्,’ उनले सिंहदरबारसँग भने, ‘कम्पनीहरुले प्रोत्साहन स्वरुप कम्पनी कैै नाममा मोटरसाइकल तथा अन्य सवारी साधान खरिद गर्न अभिकर्तालाई कर्जा दिन मिल्छ तर त्यो बीमा व्यवसाय बढाउनकै लागि प्रयोग गरेको हुनुपर्छ ।’

जीवन बीमा कम्पनीहरुले थप कर्जा नदिएपनि पुरानै कर्जालाई नविकरण गरेको र ब्याजसहित गर्दा असार मसान्तसम्म कर्जाको परिमाण पुस मसान्तको भन्दा असार मसान्तमा थप भएको हुन सक्ने उनको अनुमान छ ।

बीमा कम्पनीहरुले अभिकर्तालाई बिनाधितो अर्बौ रुपैयाँ कर्जा प्रोत्साहन स्वरुप अग्रिम कमिशन दिएका हुन् । साथै, बिना धितो कर्जा कम्पनीहरुले अभिकर्तालाई गाडी, स्कुटर, मोटरसाइकल र घर खरिदका लागि पनि कर्जा दिने गरेका छन् ।

 

 

समितिको निर्देशनको अवज्ञा गरी अभिकर्ता कर्जा थप गर्ने कम्पनीहरु
गत आवको असार मसान्तसम्म १९ वटा जीवन बीमा कम्पनीले ९ र्अ १३ करोड २० लाख रुपैयाँ अभिकर्तालाई बिना धितो कर्जा दिएका छन् । जसमा कम्पनीहरुले अभिकर्तालाई ५८ लाख रुपैयाँदेखि साढे ५ अर्ब रुपैयाँसम्म कर्जा दिएका हुन् ।

अभिकर्तालाई यस्तो प्रकारको कर्जा २०७७ पुस मसान्तको तुलनामा १२ वटा कम्पनीले २०७८ असार मसान्तमा ६० लाख रुपैयाँदेखि ३ अर्ब ५८ करोड रुपैयाँ बढीले कर्जा थप गरेका छन् । जसमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले र सबैभन्दा थोरै सानिमा लाइफले थप गरेको हो ।

समितिबाट प्राप्त तथ्यांकमा राष्ट्रिय बीमा कम्पनीको गत पुस मसान्तसम्म अधिकर्तालाई दिएको कर्जाको विवरण समावेश गरिएको छैन ।

गत पुस मसान्तमा दिएको कर्जामा नेपाल लाइफले ३ अर्ब ५८ करोड ३१ लाख रुपैयाँ अभिकर्ता कर्जा थप गरी ५ अर्ब ४१ करोड ६८ लाख रुपैयाँ पुर्‍याएको छ ।

साथै, नेसनल लाइफले १ अर्ब ४१ करोड ६७ लाख रुपैयाँ थप गरी १ अर्ब ८३ करोड ३७ लाख रुपैयाँ, महालक्ष्मी लाइफ इन्स्योरेन्सले ३५ करोड ५४ लाख रुपैयाँ थप गरी ४१ करोड ६९ लाख रुपैयाँ, आइएमई लाइफले १६ करोड ४३ लाख रुपैयाँ थप गरी २३ करोड ३ लाख रुपैयाँ र गुराँस लाइफले ७ करोड ५३ लाख रुपैयाँ थप गरी १० करोड ६४ लाख रुपैयाँ असार मसान्तसम्म अभिकर्ता कर्जा पुर्‍याएको छ ।

यस्तै, गत पुस मसान्तमा दिएको कर्जामा मेट लाइफ इन्स्योरेन्सले ६ करोड ९६ लाख रुपैयाँ थप गरी १० करोड ३५ लाख रुपैयाँ, एशियन लाइफले ५ करोड ६८ लाख रुपैयाँ थप गरी १६ करोड ३ लाख रुपैयाँ, प्रभु लाइफले ४ करोड ९५ लाख रुपैयाँ थप गरी ६ करोड १५ लाख रुपैयाँ र सन लाइफले २ करोड ८१ लाख रुपैयाँ थप गरी ६ करोड ७ लाख रुपैयाँ ०७८ असार मसान्तसम्म अभिकर्ता कर्जा पुर्‍याएको छ ।

साथै, सो अवधिमा रिलायवल लाइफले १ करोड ५४ लाख रुपैयाँ थप गरी ६ करोड २६ लाख रुपैयाँ र सानिमा लाइफले ६० लाख ९२ हजार रुपैयाँ थप गरी १ करोड १९ लाख रुपैयाँ अभिकर्ता कर्जा पुर्‍याएको छ ।

अभिकर्ता कर्जा घटाउने कम्पनीहरु
बीमा समितिबाट प्राप्त तथ्यांकअनुसार गत असार मसान्तमा २०७७ पुस मसान्तको तुलनामा ७ वटा कम्पनीले अभिकर्ता कर्जाको परिमाण घटाएका छन् ।

जसमा सबैभन्दा बढी एलआईसी नेपालले ५ अर्ब ३८ करोड ३० लाख रुपैयाँले र सबैभन्दा थोरै ज्योति लाइफले ५ लाख ४० हजार रुपैयाँले अभिकर्ता कर्जा घटाएका छन् ।

०७७ पुस मसान्तको तुलनामा ०७८ असार मसान्तमा एलआइसिले ५ अर्ब ३८ करोड ३० लाख रुपैयाँले घटाइ ३ करोड ३८ लाख, युनियन लाइफले १९ करोड ७१ लाख रुपैयाँले घटाइ ३ करोड ३१ लाख, सुर्या लाइफले १२ करोड ९१ लाख रुपैयाँले घटाइ ३ करोड ११ लाख रुपैयाँ र सिटिजन्स लाइफले ५ करोड ६७ लाख रुपैयाँले घटाइ ५८ लाख ८२ हजार रुपैयाँ कायम गरेको छ ।

साथै, सो अवधिमा अधिभकर्ता कर्जा प्राइम लाइफले ४ करोड ४ लाख रुपैयाँले घटाएर ६ करोड ६० लाख रुपैयाँ, रिलाइन्स लाइफले १ करोड ३५ लाख रुपैयाँले घटाएर ४ करोड ७२ लाख रुपैयाँ र ज्योति लाइफले ५ लाख ४० हजार रुपैयाँले घटाएर ३ करोड २५ लाख ९९ हजार रुपैयाँ कायम गरेको छ ।

 

जीवन बीमा कम्पनीहरूले अभिकर्तालाई दिएको कर्जाको विवरणः

GBIME

प्रतिक्रिया दिनुहोस्