Shikhar Insurance

तपाईं हामीले ‘कामै नलाग्ने’ बनाइदिएको नोट कसरी व्यवस्थापन गर्छ राष्ट्र बैंकले ?

सिंहदरबार संवाददाता
२०७८ आश्विन २९, शुक्रबार १०:०३
NIMB
Nabil Bank

काठमाडौं । तपाईं हामीले बोक्ने र प्रयोग गर्ने कागजी मुद्रा (नोट) बनाउन राज्यले अर्बौं खर्च गरिरहेको हुन्छ । नेपाल राष्ट्र बैंकले अहिले चलनचल्तीमा ल्याएको एउटा नोट छाप्न १ रुपैयाँ ६८ पैसा देखि ४ रुपैयाँ ६८ पैसासम्म खर्च भइरहेको हुन्छ ।

तर, तपाईं हामी भने यसको जतन गर्दैनौं । फोहोर बनाउछौं, च्याच्छौं, कामै नलाग्नेसम्म बनाउछौं । टिका–अबिर यसैमा छर्किन्छौं, पानीमा भिजाउछौं ।

Citizen Life
Kumar Bank
Nepal Life

यसरी हामीले अहिलेसम्म ५ खर्ब ६० अर्ब रुपैयाँ खराब गरिसकेका छौं ।

हुन त, यसो गरेमा कानुनी कारबाहीको व्यवस्था पनि छ । तर, त्यता ध्यानै दिदैनौं । राज्यको सम्पत्ति जोगाउनु हाम्रो दायित्व भएपनि हामी हदैसम्म गैर जिम्मेवार हुन्छौं ।

काम नलाग्ने भएपछि व्यवस्थापन गर्ने जिम्मेवारी पनि राष्ट्र बैंककै हो ।

केन्द्रीय बैंकले कसरी गर्छ कामै नलाग्ने स्थितिमा पुगेका मुद्राको व्यवस्थापन ?

भिजेको, गलेको, च्यातिएको, नचिन्ने भएका नोटहरु पुनः प्रयोगमा ल्याउन मिल्दैन । त्यसलाई नेपाल राष्ट्र बैंकले फेरि प्रयोगमा नआउने गरी सिध्याउँछ ।

यसअघि पुराना नोट जलाउने गरिन्थ्यो । अब भने जलाउने दिनको अन्त्य हुन लागेको छ । नोटलाई फेरि प्रयोग गर्न मिल्ने बनाउन थालिएको छ, तर मुद्राको रुपमा नभएर इन्धनको रुपमा ।

कसरी ? अब नोटलाई खरानी बनाइँदैन, ब्रिकेट बनाएर दाउरा (इन्धन)को रुपमा प्रयोग गरिन्छ । र, ब्रिकेट बनाइसकेपछि त्यसलाई बालेर आगो ताप्न पाइन्छ ।

केन्द्रीय बैंकले ३० लाख ५२ हजार ८६९ युरो (करिब ४ करोड रूपैयाँ) हालेर ८ वटा मेसिन खरिद गरेको छ ।

जसको परिक्षण भइसकेको छ । स–सानो प्राविधिक त्रुटी समाधान भएपछि तिहारपछि काम नलाग्ने नोटलाई पूर्णरूपमा ब्रिकेट बनाउने योजना केन्द्रीय बैंकको छ ।

केन्द्रीय बैंकका कार्यकारी निर्देशक तथा मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवती नेपाल भन्छन्, “नोट जलाउने प्रक्रियालाई आधुनिकीकरण गर्दै मेसिनबाट नोट टुक्र्याउने र ब्रिकेटका रूपमा फेरि प्रयोगमा ल्याउने काम थालिएको छ ।”

अहिले ४ वटा नोट ग्रेडिङ एन्ड सेडिङ मेसिन ल्याइएको छ । “दसैं–तिहारको बीचमा थप ४ वटा आइपुग्छन्,” नेपालले सिंहदरबारसँग भने, “त्यसपछि केन्द्रदेखि सबै प्रदेशमा नोटको ब्रिकेट बनाउने काम अघि बढ्छ ।”

जडान गर्न १५–२० दिन लाग्छ । त्यसपछि अर्थात् कात्तिकको अन्त्य वा मंसिरको सुरू देखि नोट ब्रिकेट बनाउने काम अघि बढ्छ । र, सो ब्रिकेट ठूलो परिमाणमा इँटा भट्टा वा थोक विक्रेतालाई ब्रिक्री गरिनेछ ।

हाल काठमाडौं, विरगञ्ज, बिराटनगर, नेपालगञ्जमा ब्रिकेट बनाउने मेसिन जडान भइसकेको छ । अब, जनकपुर, पोखरा, भैरहवा र धनगढीमा थपिन्छन् । मेसिनले २ सय किलो (बण्डल) पुरानो नोटलाई २ घन्टामा ब्रिकेट बनाइसक्ने क्षमता राख्छ ।

हाल मोफसलमा रहेका भट्टीमा एकपल्टमा २ सय किलोसम्म नोट जलाउने गरिन्थ्यो भने राजधानीमा रहेको ठूलो भट्टीमा ६ सय किलोसम्म जल्थ्यो ।

नेपालका अनुसार हालसम्म ५ सय ६० अर्ब रूपैयाँ पुरानो नोट जलिसक्यो । वर्षको ४० देखि ५० अर्ब रूपैयाँ पुरानो नोट जल्ने गरेको तथ्यांक उनीसँग छ ।

हालसम्म चलनचल्तीमा पठाउन नमिल्ने झुत्रा नोटलाई नोट जलन नियमअनुसार आगो लगाएर भट्टीमा जलाउने गरिन्थ्यो । वातावरण प्रदुषण हुने, प्रक्रिया झन्झटिलो हुने भएपछि नोट टुक्र्याएर ब्रिकेट बनाउन थालिँदै छ । ब्रिकेट बनाउने भएपछि धेरै जनशक्ति खर्चिनु पर्ने बाध्यताको पनि अन्त्य हुँदैछ ।

कार्यकारी निर्देशक नेपालका अनुसार नोट प्रमाणिकरण गर्ने मेसिनले चलनचल्तीमा पठाउन मिल्ने र नमिल्ने नोट, छुट्याएपछि झुत्रो नोटलाई उक्त मेसिनमा राखिन्छ । “फेरि बजारमा पठाउन मिल्छ कि मिल्दैन ? भन्ने तय गरेपछि पठाउन मिल्ने भए बजारमा पठाउँछौं, नत्र ब्रिकेट बनाउँछौं,” नेपालले थपे । बजारमा पठाउन मिल्ने नोट सेतो स्लिपमा राखिन्छ भने नमिल्ने नोटलाई रातो स्लिपमा राखिन्छ ।

हाल राष्ट्र बैंकमा दैनिकजसो नोट जलाउने गरिन्छ । जुनबेला मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक, अर्थ मन्त्रालयको प्रतिनिधि, राष्ट्र बैंकको कानुन महाशाखाको प्रतिनिधिको उपस्थिति हुन्छन् ।

प्रदेशमा पनि त्यहाँका प्रतिनिधि बसेर नोट जलाउने काम हुन्छ । प्रतिनिधिहरू नोट पूर्ण रूपमा जलाइसकेपछि मात्र त्यहाँबाट निस्किन्छन् ।

नोटलाई ब्रिकेट कसरी बनाइन्छ ?

मेसिनले एक पटकमा २ सय बन्डल नोटलाई टुक्राटुक्रा बनाउँछ । मेसिनको पहिलो भागले चलनचल्तीमा पठाउन नमिल्ने नोटलाई धुलो बनाएर टुक्राउँछ । मेसिनको अर्को भागले धुलो भएको नोटको टुक्रालाई बिक्रेट अर्थात् इँटाजस्तो बनाएर निकाल्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्