माइक्रो इन्स्योरेन्सलाई लाइसेन्स दिन बीमा ऐन नै बाधक

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ३, बुधबार १०:०७

काठमाडौं । छुट्टै माइक्रोइन्स्योरेन्स (लघु बीमा) कम्पनी सञ्चालन गर्न सकिने वा नसकिने सम्बन्धमा अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । बीमा समितिले निर्देशक सुशिल देव सुवेदीको संयोजकत्वमा असार ४ गते गठन गरेको समितिमा सगरमाथा इन्स्योरेन्सका सिईओ चंकी क्षेत्री र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ पोषकराज पौडेल सदस्य रहेका थिए भने उप निर्देशक पुनम ज्ञवाली(श्रेष्ठ) सदस्य सचिव थिइन् ।

२० दिनभित्र प्रतिवेदन बुझाउन भनिएको अध्ययन समितिले कात्तिक २ गते आफ्नो प्रतिवेदन बुझाएको हो । ‘अध्ययन समितिको प्रतिवेदन प्राप्त भएको छ, सञ्चालक समितिमा पेश गरेर कार्यान्वयनमा जान्छौं ।’, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने । प्रतिवेदन सञ्चालक समितिमा पेश गरेपछि मात्रै खोलिने भएकाले के के सिफारिस गरिए भन्ने कुरा एकिन भएको छैन् । ।

नेपालमा लघु बीमाको अवस्था, समस्या, चुनौती र सम्भावाना, लघुबीमा प्रवद्र्धनका लागि गर्न सकिने कार्यहरु, बीमाको दायरा फराकिलो बनाउन लघुबीमाले पुर्याउने योगदान, लघुबीमा कम्पनीको आवश्यकता तथा स्थापना गर्न अपनाउनुपर्ने बिधि एंव प्रक्रिया लगायतका विषय समेटेर अध्ययन गर्नुपर्ने कार्यादेश समितिलाई थियो ।

के के आयो सुझाव ?
लघु बीमा कम्पनीलाई लाइसेन्स दिने योजना अनुसार नै अध्ययन समिति गठन गरिएको बताइन्छ । पूर्व योजना अनुसार नै गठन भएको समितिले नेपालमा लघु बीमाको क्षेत्र विस्तारका लागि केहि विकल्पहरु अघि सारेको श्रोत बताउँछ । जस अनुसार अहिले भएका कम्पनीहरुलाई क्षेत्र र अनिवार्य बजार हिस्सा नै तोकेर पठाउन सकिने, छुट्टै लघु बीमा कम्पनी स्थापना गर्न सकिने लगायतका विकल्पहरु प्रतिवेदनमा समेटिएको छ ।

‘अहिलेकै कम्पनीहरुलाई अनिवार्य उपस्थिति र बजारीकरणको जिम्मा दिने वा नयाँ कम्पनीलाई लाइसेन्स दिने भन्नेबारे हामीले आफ्नो राय सुझाव दिएका थियौं, सोही अनुसार प्रतिवेदन आएको हुन सक्छ’, अध्ययन समितिसँग छलफलमा बसेका एक विज्ञले भने । श्रोतका अनुसार प्रतिवेदनमा लघु बीमा कम्पनी खोल्न सकिने विकल्प पनि समेटिएको छ ।

माइक्रोइन्स्योरेन्स कम्पनी खोल्न बीमा ऐन नै बाधक
समितिले जे जे सुझाव दिएको भए पनि माइक्रो इन्स्योरेन्स कम्पनीलाई लाइसेन्स दिन भने बीमा ऐन, २०४९ नै बाधक देखिएको छ । बीमा ऐन, २०४९ ले लघु बीमा कम्पनीको परिकल्पना नै गरेको छैन् । ऐनको दफा २ को उपदफा घ देखि ज सम्म बीमा कम्पनीको प्रकारबारे उल्लेख छ । जसमा जीवन बीमा व्यवसाय गर्ने, निर्जीवन बीमा व्यवसाय गर्ने र पुनर्बीमा व्यवसाय गर्ने कम्पनीहरुको मात्रै परिकल्पना गरिएको छ ।

ऐनले नै लघु बीमा कम्पनीको परिकल्पना नगरेकाले लाइसेन्सको लागि लबिङ गरिरहेका दर्जनौं कम्पनी र त्यसका लगानीकर्ताको हात खाली हुने सम्भावना बढेको हो । बीमा समितिले डेढ दर्जन लघु बीमा कम्पनीको लाइसेन्स दिने सोँच बनाएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्