Shikhar Insurance

२ महिनामै बैंकहरुले कमाए १५ अर्ब बढी खुद नाफा, आरबीबी ‘फस्ट’ हुँदा ग्लोबल र नबिल पछि–पछि

मुक्तिनाथ र ज्योति विकास वाणिज्य बैंकभन्दा अगाडि
सिंहदरबार संवाददाता
२०७८ कार्तिक ३, बुधबार १९:१७
NIMB
Nabil Bank

काठमाडौं । बैंक तथा वित्त कम्पनीले २ महिनामै १५ अर्ब रुपैयाँ बढी खुद नाफा कमाएका छन् । चालु आर्थिक वर्षको भदौ महिनासम्म वाणिज्य, विकास बैंक र फाइनान्स कम्पनीहरुले १८ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।

जसमा भदौ मसान्तसम्म वाणिज्य बैंकहरुले मात्र १३ अर्ब ६६ करोड ३२ लाख रुपैयाँ, विकास बैंकहरुले १ अर्ब २७ करोड ८३ लाख रुपैयाँ र फाइनान्स कम्पनीहरुले २४ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको राष्ट्र बैंकद्वारा सार्वजनिक तथ्यांकले देखाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

भदौ मसान्तसम्म वाणिज्य बैंकहरु तर्फ सबैभन्दा बढी राष्ट्रिय वाणिज्य बैंकले र सबैभन्दा थोरै नेपाल बैंकले खुद नाफा आर्जन गरेका छन् । नेपाल बैंकले २ महिनामा १५ करोड ९४ लाख रुपैयाँ मात्र खुद नाफा कमाउँदा राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ६ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।

यस बाहेक चालु आवको २ महिनामा १२ वटा वाणिज्य बैंकले ५० करोडदेखि १ अर्ब रुपैयाँसम्म, ८ वटा बैंकले ३० करोड रुपैयाँदेखि ५० करोड रुपैयाँसम्म, ७ वटा बैंकले ३० करोड रुपैयाँभन्दा कम खुद नाफा आर्जन गरेका छन् ।

नेपाल बैंकले २ महिनामा कमाएको खुद नाफा २ वटा विकास बैंकहरुको भन्दा कम हो । नाफा कमाउनमा भदौ मसान्तसम्म वाणिज्य बैंकहरुलाई मुक्तिनाथ विकास बैंक र ज्योति विकास बैंकले टक्कर दिएको हो । सो अवधिमा मुक्तिनाथ विकास बैंकले ३१ करोड ४२ लाख रुपैयाँ र ज्योति विकास बैंकले १९ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमा भदौ मसान्तसम्म खुद नाफा कमाउनेमा राष्ट्रिय वाणिज्य बैंक अब्बल हुँदा ग्लोबल आइएमई बैंक दोस्रो र नबिल बैंक तेस्रो स्थानमा छ । सो अवधिमा ग्लोबल आइएमई बैंकले ९८ करोड ५२ लाख र नबिल बैंकले ९३ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।

यसैगरी, सञ्चालनमा रहेका १८ विकास बैंकहरुमध्ये भदौ मसान्तसम्म १३ वटा विकास बैंकले १ अर्ब २७ करोड ८३ लाख रुपैयाँ खुद नाफा गरेका छन् । बाँकी ५ वटा विकास बैंकहरुको खुद नाफाको विवरण भने राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा समावेश छैन ।

सो अवधिमा विकास बैंकहरुतर्फ सबैभन्दा मुक्तिनाथ विकास बैंकले ३१ करोड रुपैयाँ खुद नाफा आर्जन गर्दा सबैभन्दा थोरै ग्रिन डेभलपमेन्ट बैंकले ५२ लाख रुपैयाँमात्र कमाएको छ । सो बाहेक ६ वटा विकास बैंकले १४ करोड रुपैयाँमाथि साढे ३१ करोड रुपैयाँसम्म र ७ वटा विकास बैंकले ८ करोड रुपैयाँभन्दा कम खुद नाफा आर्जन गरेका छन् ।

चालु आवको २ महिनामा फाइनान्स कम्पनीहरुले २४ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । सञ्चालनमा रहेका १७ फाइनान्स कम्पनीहरुमध्ये प्राप्त तथ्यांकमा १४ वटाको मात्र तथ्यांक समावेश गरिएको छ । जसमध्ये सबैभन्दा धेरै आइसीएफसी फाइनान्सले ४ करोड ६८ लाख रुपैयाँ र सबैभन्दा थोरै नेपाल सेयर मार्केस् फाइनान्सले ८ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्