Shikhar Insurance

३ महिनामा १ खर्ब बढी लगानीयोग्य रकम बैंकिङ प्रणालीबाट गायब, अन्तरबैंक ब्याजदर ५ % पुग्यो

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ७, आईतवार १६:४१
NIMB
Nabil Bank

काठमाडौं । चालु आर्थिक वर्षको ३ महिनामै बैंकिङ प्रणाली १ खर्ब रुपैयाँ बढी लगानी योग्य रकम (तरलता) हराएको छ । गत साउनको पहिलो साता १ खर्ब २५ अर्ब ७७ करोड रुपैयाँ लगानी योग्य रकम बैंकिङ प्रणालीमा थियो । जुन कात्तिकको पहिलो सातासम्म आइपुग्दा १ खर्ब ८ अर्ब ४१ करोड रुपैयाँले घटेर १७ अर्ब ३६ करोड रुपैयाँमा सीमित भएको छ ।

यसबीच प्रणालीबाट लगानीयोग्य रकम ८६.२० प्रतिशतले घटेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

साउनको पहिलो सातादेखि कात्तिकको पहिलो सातासम्म हेर्दा बैंकहरुले गर्ने अन्तर बैंक सापटी कारोबारको ब्याजदर समेत १ हजार ९ सय ४३.५ प्रतिशत बिन्दु बढेको छ । साउन पहिलो साता बैंकहरुले ०.२४ प्रतिशत ब्याजदरमा आपसी सापटी कारोबार गरेका थिए । कात्तिक ५ गते आइपुग्दा यस्तो कारोबारको ब्याजदर ४.९८ प्रतिशत पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

तथ्यांक हेर्दा बैंकहरुले निक्षेपको ब्याजदर बढाएर समेत स्रोत संकलन गर्न नसकेपछि गर्जो आपसी सापटी कारोबारबाट टारेको प्रष्ट हुन्छ । प्रणाली तरलता अभावको समस्या निक्षेपको ब्याजदर वृद्धि गर्दा समेत नभएपछि बैंकहरुले महंगो ब्याजदरमा अर्को बैंकबाट सापटी लिएर गर्जो टारेका हुन् ।

पास भइसकेको कर्जा भुक्तान गर्न समेत संस्थामा पैसा नहुँदा बैंकहरुले शुक्रबारमात्र ८ अर्ब रुपैयाँ बढी अन्तर बैंक सापटी कारोबार करिब ५ प्रतिशत ब्याजदरमा गरेका छन् ।

प्रणालीमा लगानीयोग्य रकम (तरलता) संकुचन हुँदै गएपछि सापटी कारोबारको माग बढेसँगै ब्याजदर बढेको हो । शुक्रबार मात्र बैंकहरुले १८ पटक ४.९८ प्रतिशत ब्याजदरमा १ अर्ब रुपैयाँ सापटी कारोबार गर्दा कुल ८ अर्ब रुपैयाँ अन्तर बैंक सापटी कारोबार भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

बैंक तथा वित्त कम्पनीहरुले कात्तिक ५ गतेसम्म ४८ खर्ब ५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने बैंकिङ प्रणालीमा १७ अर्ब ३६ करोड रुपैयाँ लगानीयोग्य रकम छ ।

उक्त रकम बैंकहरुले राष्ट्र बैंकमा राख्नु पर्ने अनिवार्य नगद मौज्दात (सीआरआर) बाहेकको रकम हो । बैंक तथा वित्त कम्पनीहरुले कुल निक्षेपको ३ प्रतिशत रकम सीआरआरमा राख्नुपर्ने हुन्छ । कात्तिक गतेसम्म संकलित निक्षेपबाट बैंक तथा वित्त कम्पनीले १ खर्ब ५६ अर्ब ९ करोड राखेका छन् ।

सीआरआरमा बैंक तथा वित्त कम्पनीहरुले दैनिक संकलित कुल निक्षेपको ३ प्रतिशत जम्मा गर्नुपर्ने राष्ट्र बैंकको प्रावधान छ । जसअनुसार गत शुक्रबारसम्म संकलित निक्षेपबाट बैंकहरुले १ खर्ब ३८ अर्ब रुपैयाँ सीआरआरमा अनिवार्य राख्नु पर्थ्यो ।

बैंकहरुले आकस्मिक आवश्यकता पुरा गर्नका लागि अन्तर बैंक सापटी ७ दिनका लागि लिन पाउने सुविधा राष्ट्र बैंकले दिएको छ । तर, ब्याजदर करिडोर अन्तरगर्त यस्तो कारोबारको ब्याजदर ५ प्रतिभन्दा माथि जान नदिने उल्लेख गरिएको छ । यसरी अन्तर बैंक ब्याजदर ५ प्रतिशत माथि जान नदिनलाई राष्ट्र बैंकले समय सयममा मौद्रिक उपकरण मार्फत् बजारमा तरलता प्रवाह गर्छ ।

गत शुक्रबारमात्र केन्द्रीय बैंकले १० अर्ब रुपैयाँ बराबरको ७ दिने रिपो जारी गरेको थियो । उक्त रिपोमा २८ अर्ब ५० करोड रुपैयाँ बराबरको माग आवेदन परेको राष्ट्र बैंकले जानकारी दिएको छ । सो रिपो समेत बैंकहरुले ४.९६ प्रतिशत ब्याजदरमा लिएका हुन् । राष्ट्र बैंकले चालु आर्थिक वर्षमा कुल १ खर्ब ६० अर्ब रुपैयाँ तरलता रिपोमार्फत् बजारमा पठाइसकेको छ ।

चालु आर्थिक वर्ष शुरु भएसँगै कर्जाको माग अत्याधिक बढेको भने आवश्यकताअनुसार निक्षेप संकलन बैंकहरुले गर्न सकेका छैनन् । कर्जाको माग भने बढ्दा प्रणालीमा तरलता संकुचन हुँदै जाँदा बैंकहरुले आफ्नो गर्जाे अन्तर बैंक सापटी कारोबारबाट टार्न खोज्छन् । यसले यस्तो सापटी कारोबारको माग बढेसँगै ब्याजदर समेत बढाएको बैंकरहरु बताउँछन् ।

दैनिक प्राप्त निक्षेप बराबरको रकम कर्जा प्रयोजन वा अन्य स्टेटमेन्टमा प्रयोग भएको अवस्थामा सीआरआरमा राख्नु पर्ने पैसा मौज्दात नहुँदा बैंकहरुले अन्तर बैंक सापटी लिने गर्छन् । यस बाहेक बैंकहरुले पास भइसकेको कर्जामा भुक्तानी गर्न समेत अन्तर बैंक सापटी लिने गर्छन् ।

तर, अन्तर बैंक सापटीबाट प्राप्त रकमबाट भने बैंकहरुले ऋणीलाई नयाँ कर्जा दिन पाउँदैनन् । त्यसकारणले गर्दा बैंकहरुले स्रोत ब्यवस्थापमा ध्यान दिँदै निक्षेपको ब्याजदर बढाएर स्रोत संकलनमा जुटेको बैंकहरुको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्