Shikhar Insurance

आयात आकासिँदा ब्यालेन्स अफ पेमेन्ट ऋणात्मक, रेमिट्यान्स घट्दा विदेशी मुद्रा सञ्चितिमा भारी गिरावट

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ८, सोमबार १८:०४
NIMB
Nabil Bank

काठमाडौं । विदेशी मुद्रा सञ्चिति (फरेन एक्स्चेन्ज रिजर्भ) दुई महिनामै ९३ अर्ब रुपैयाँले घटेको छ । २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति ६.६ प्रतिशतले कमी आएर २०७८ भदौ मसान्तमा १३ खर्ब ६ अर्ब ९५ करोड कायम भएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ भदौ मसान्तमा ५.२ प्रतिशतले कमी आई ११ अर्ब १४ करोड कायम भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

केन्द्रिय बैंकको अनुसार आयात आकासिनुका साथै रेमिट्यान्स घटेपछि विदेशी मुद्रा सञ्चितिमा भारी गिरावट आएको हो । आर्थिक वर्ष २०७८/७९ को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले अब मात्र ८.६ महिनाको वस्तु आयात र मात्र ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
२०७८ भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३०.६ प्रतिशत, ६४.७ प्रतिशत र २५.३ प्रतिशत रहेका छन् । २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ भदौ मसान्तमा ७.७ प्रतिशतले कमी आई ११ खर्ब ४८ अर्ब ६९ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७८ भदौ मसान्तमा २.५ प्रतिशतले वृद्धि भई १ खर्ब ५८ अर्ब २७ करोड पुगेको छ । २०७८ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.२ प्रतिशत रहेको छ ।

दुई महिनामा चालु खाता १ खर्ब ६ अर्ब ७५ करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २५ अर्ब १६ करोडले बचतम थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २१ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ९० करोड १५ लाखले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३६.३ प्रतिशतले कमी आई १ अर्ब २५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २४.६ प्रतिशतले बढेर ३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १ अर्ब ९६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ४४ करोड रहेको थियो ।
चालु खाता घाटामा रहनुको साथै रेमिट्यान्स घट्दा दुई महिनामा शोधनान्तर स्थिति ८३ अर्ब ४१ करोडले घाटामा देखिन्छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६७ अर्ब ६३ करोडले बचतमा थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५६ करोड ६२ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७० करोड ४३ लाखले घाटामा रहेको छ ।

वैदेशिक व्यापार
आर्थिक वर्ष २०७८/७९ को दुई महिनामा कुल वस्तु निर्यात ११५.४ प्रतिशतले वृद्धि भई रु.४४ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०.५ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १५०.७ प्रतिशत, २०.७ प्रतिशत र ३१.० प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, पिना, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढेको छ भने चिया, आयुर्वेदिक औषधी, तार, जस्तापाता, अलैंची लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७८/७९ को दुई महिनामा कुल वस्तु आयात ७५.९ प्रतिशतले वृद्धि भई रु.३१४ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २२.१ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ५६.७ प्रतिशत, ७६.२ प्रतिशत र १४१.४ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुजा, कच्चा सोयाविन तेल, सुन, चाँदी लगायतका वस्तुको आयात बढेको छ भने रासायनिक मल, सिमेन्ट, सुर्ती, मोलासिस सुगर, दाल लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ कन्चनपुर, कृष्णनगर, मेची र नेपालगञ्ज भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ सबैभन्सार नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७८/७९ को दुई महिनामा कुल वस्तु व्यापार घाटा ७०.८ प्रतिशतले वृद्धि भई रु.२७० अर्ब ४८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २४.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा नर्यात–आयात अनुपात १४.० प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.४ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट अमेरिकी डलर भुक्तानी गरी रु.३६ अर्ब २७ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु.२१ अर्ब ४५ करोड बराबरको यस्तो आयात भएको थियो ।

वैदेशिक व्यापारको संरचना
वृहत्त आर्थिक वर्गीकरण अनुसार समीक्षा अवधिको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ३८.७२ प्रतिशत र ६१.२६ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात् ०.०२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ३१.३ प्रतिशत, १.३ प्रतिशत र ६७.४ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५३.७ प्रतिशत, पुँजीगत वस्तुको ११.४ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३४.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५२.४ प्रतिशत, १२.६ प्रतिशत र ३५.० प्रतिशत रहेका थिए ।

निर्यात–आयात मूल्य सूचकाङ्क
वार्षिक विन्दुगत आधारमा २०७८ भदौ महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क १०.० प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क १३.३ प्रतिशतले बढेको छ । २०७७ भदौ महिनामा ४.९ प्रतिशतले बढेको व्यापारको शर्त २०७८ भदौ महिनामा ३.० प्रतिशतले घटेको छ ।

सेवा
समीक्षा अवधिमा खुद सेवा आय रु.१७ अर्ब ५२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.६ अर्ब ५२ करोडले घाटामा रहेको थियो ।

सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय १७७.२ प्रतिशतले वृद्धि भई रु.२ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.९७ करोड ६९ लाख रहेको थियो ।

समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय २४७.५ प्रतिशतले वृद्धि भई रु.१० अर्ब २८ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय रु.६ अर्ब ३७ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.२ अर्ब ९६ करोड रहेकोमा शिक्षातर्फको व्यय रु.२ अर्ब ५१ करोड रहेको थियो ।

विप्रेषण आप्रवाह
समीक्षा अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले कमी आई रु.१५५ अर्ब ३७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ८.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले कमी आई १ अर्ब ३१ करोड रहेकोछ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.६ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३८,४९२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९९.२ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा उल्लेख्य रुपमा वृद्धि भई २२,९७६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८६.५ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ६.४ प्रतिशतले कमी आई रु.१७१ अर्ब ९२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ४.४ प्रतिशतले बढेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्