Shikhar Insurance

धितोपत्र बोर्डको अध्यक्ष ‘बन्ने’ भन्दा बनाउनेहरुको प्रतिष्पर्धा तिब्र किन हुँदैछ ?

सिंहदरबार संवाददाता
२०७८ मंसिर ३, शुक्रबार १०:२१
NIMB
Nabil Bank

नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्तीका लागि कात्र्तिक ११ गते आवेदन खुलेको थियो । त्यसको १५ दिन अर्थात कात्र्तिक २५ गतेसम्ममा १२ जनाले आवेदन दिए । बोर्डकै कार्यकारी निर्देशक निरज गिरी र उप कार्यकारी निर्देशक डा. नबराज अधिकारी, बोर्डकै पूर्व कर्मचारी डा. जीवन अमगाई, बीमा समितिका निवर्तमान अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल स्टक एक्सचेञ्जका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, कर्मचारी सञ्चय कोषका पूर्व प्रमुख कृष्ण आचार्य, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा पुँजीबजार विज्ञ डा. गोपाल भट्ट, पूर्व एनआरएन रमेश हमाल, सहरी विकास कोषको उपनिर्देशक डा. अनिल पौडेल, अम्बिका शर्मा, डा. केशव श्रेष्ठ र हेमन्त बस्यालले आवेदन दिएका छन् ।

बोर्ड अध्यक्ष चयनका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलको संयोजकत्वमा अर्थ सचिव मधु मरासिनी र प्रा.डा. नारायण प्रसाद पौडेल रहेको छनौट समितिले काम गरिरहेको छ । बोर्ड अध्यक्ष बन्नेहरु भन्दा बनाउनेहरुको सक्रियता यतिबेला लोभलाग्दो छ । बिशेष गरि व्यवसायीक घराना र त्यसका बिचौलियाहरुले राजनीतिक तथा व्यवसायीक क्षेत्रमा लबिङ गरिरहेका छन् । उनीहरु आफु अनुकुल व्यक्तिलाई बोर्ड अध्यक्ष बनाएर बोर्डबाट आफ्ना काम गराउन चाहान्छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

बोर्ड अध्यक्ष बन्न बनाउन यत्रो चासो किन ?
धितोपत्र बोर्डले तत्कालै नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स बाढ्दैछ । त्यति मात्रै होइन, कमोडीटी एक्सचेञ्ज कम्पनीको लाइसेन्स पनि बाढ्ने तयारी छ । झण्डै तीन दर्जन भन्दा बढी ब्रोकरको लाइसेन्स बाढ्ने योजना पनि ठिक्क परेर बसेको छ । यी सबै लाइसेन्सहरुका लागि व्यवसायीक समुहहरु तिब्र लबिङमा छन् । राजनीतिक नेतृत्वलाई पनि निर्वाचन खर्च जुटाउने गतिलो अस्त्रका रुपमा बोर्डको नेतृत्वलाई उपयोग गर्ने चाहना स्पष्टै देखिन्छ । केपी ओलीले प्रधानमन्त्री हुँदा हिमालयन रिलाई लाइसेन्स दिएर आगामी चुनावका लागि आवश्यक पर्ने मोटो रकम जोडजाम गरेको आरोप छ । ठिक त्यसरी नै बोर्ड अध्यक्षमा आफु अनुकुलका मान्छे लगेर पाइलाइनमा रहेका लाइसेन्स बाढ्ने र चुनाव खर्च उठाउने योजनामा राजनीतिक नेतृत्व छ भने लाइसेन्स लिनका लागि व्यवसायीक समुहहरु पनि लबिङमा देखिन्छन् ।

पक्काको हल्ला ?
एनआरएन पृष्ठभूमिका रमेश हमालले बोर्ड अध्यक्ष पक्का गरिसकेको चर्चा छ । उनलाई प्रधानमन्त्री पत्नी आरजु राणाले ‘गो अहेड’ भनिसकेको बताइन्छ । त्यति मात्रै होइन, हिमालयन रिको लाइसेन्सका लागि केपी ओलीलाई कन्भिन्स गराएका चर्चित व्यापारी दिपक भट्टले समेत उनै हमाललाई अघि सारेको श्रोत बताउँछ ।

त्यसो त बोर्डका कार्यकारी निर्देशक निरज गिरीले पनि दिपक भट्टका अर्का पार्टनर सुलभ अग्रवाल मार्फत व्यवसायीक लबिङ गरेका छन् । उनी पनि देउवा र आरजु निकट श्रोतको सम्पर्कमा पुग्ने प्रयासमा रहेका छन् । बोर्डका उप कार्यकारी निर्देशक डा. नवराज अधिकारीले भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग नाता सम्बन्धको फेरो समातेर लबिङ गरिरहेका छन् ।

राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्टले काँग्रेस नेता रमेश लेखक र एनपी साउँद मार्फत कुरा अघि बढाएका छन् ।
बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईँले आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल मार्फत व्यवसायीक लबिङ थालेका छन् । ढकालकै जोडबलमा यस अघि उनी बीमा समिति अध्यक्ष बनेको श्रोत बताउँछ । त्यस बाहेक प्रभु ग्रुपले अम्बिका शर्मालाई अघि सारेको बताइन्छ ।

त्यस बाहेक शिक्षा मन्त्री देवेन्द्र पौडेलसँग पनि चापागाईँको राम्रो हिमचिम छ । सभामुख पद गुमेपछि माओवादी केन्द्रमा शक्ति सञ्चय गरेर प्रचण्डको उत्तराधिकारी बन्ने प्रयासमा रहेका नेता कृष्ण बहादुर महरा मार्फत पनि उनी लबिङमा छन् । उनै महराले चापागाईँलाई बीमा समिति अध्यक्ष बनाएका थिए । उनी निकटहरु पनि चापागाईको अध्यक्ष पाउने सम्भावना पक्का भएको दावी गर्छन् ।

नेपाल स्टक एक्सचेञ्जका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलियाले पनि काँग्रेस नेताहरु मार्फत दबाव बढाईरहेका छन् । उता, चितवनका डा. अनिल पौडेललाई योजना आयोगका उपाध्यक्ष तथा छनौट समिति संयोजक डा. विश्व पौडेलले अघि सारेको बताइन्छ । प्रधानमन्त्री पत्नी आरजु राणाको व्यवसायीक साँझेदार समेत रहेका छनौट समिति संयोजक पौडेलले राणाकै इच्छा अनुसारको सूचि तयार पर्ने बताइन्छ ।

त्यस बाहेक कर्मचारी सञ्चय कोषका पूर्व प्रशासक कृष्ण आचार्यले पनि अध्यक्षका लागि तिब्र लबिङ गरिरहेका छन् । उनलाई नेकपा(एकिकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालको आशा छ । अध्यक्ष नेपालकै ग्रिन सिग्नलपछि आचार्यले अध्यक्षमा आवेदन दिएको बताइन्छ । आफ्नो स्वच्छ छविका कारण पनि अध्यक्षमा सम्भावना रहेको उनले सुनाउने गरेका छन् ।

भागबण्डाको हल्ला
धितोपत्र बोर्डको अध्यक्ष काँग्रेस, नेप्सेको सिईओ माओवादी र निक्षेप तथा कर्जा सुरक्षण निगमको प्रमुखको जिम्मेवारी नेकपा(एकिकृत समाजवादी)ले लिने समझदारी भएको बताउनेहरु पनि छन् । तर नेताहरुले भने त्यसरी भागबण्डा नगरिएको बरु उपयुक्त ठाउँमा उपयुक्त पात्र पठाउने समझदारी बनेको बताउने गरेका छन् ।

राजनीतिक नियुक्तीहरुले सरकारको शाखमा प्रभाव पार्ने भएकाले विवादमुक्त व्यक्तिहरुलाई नियुक्ती दिलाउने गरि समझदारी बनेको नेताहरुले बताउने गरेका छन् । त्यसकारण पनि बोर्डको अध्यक्ष फलानो पार्टी निकट फलानो बन्छ भन्ने अड्कलको विश्वास गर्न सकिने अवस्था भने देखिन्न ।

GBIME

प्रतिक्रिया दिनुहोस्