Shikhar Insurance

कारबाहीको चेतावनी पाउँदा पनि हिमालयन बैंक मर्जरबाट यसकारण पछि हट्यो

दिलु कार्की
२०७८ मंसिर ७, मंगलवार १७:०३
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट कारबाहीको चेतावनी पाउँदापाउँदै हिमालयन बैंक इतिहासकै ठूलो मर्जरबाट पछि हटेको छ । राष्ट्र बैंकले हिमालयन र नेपाल इन्भेष्टमेण्ट बैंकलाई मर्जरको प्रक्रिया पूरा नगरे कारवाही गर्ने चेतावनी दिएपनि हिमालय मर्जरबाट हटेको प्रष्ट भएको हो ।

हिमालयनको यो कदम सञ्चय कोषसँग जोडिएको छ । बैंकको दोस्रो ठूलो लगानीकर्ता कर्मचारी सञ्चय कोषले मर्जर प्रक्रिया रोक्न भनेपछि हिमालयन बैंक पछि हटेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

हिमालन बैंक र इन्भेष्टमेन्ट बैंक गत वैशाख ३० गते नै आपसमा मर्जरको सहमति गरी स्वीकृतका लागि राष्ट्र राष्ट्र बैंक पुगेका हुन् । उनीहरुलाई राष्ट्र बैंकले जेठ २० गते नै सैद्धान्तिक स्वीकृति दिएको थियो ।

मर्जर नीतिअनुसार सैद्धान्तिक स्वीकृति पाएको ३ महिानाभित्र एकीकृत कारोबारका लागि अन्तिम स्वीकति लिनुपर्ने हुन्छ ।

हिमालयन र इन्भेष्टमेण्ट बैंकको मर्जर भाँडिदै, यस्तो छ कारण !

गत भदौ २० गतेसम्म पनि यी बैंकले एकीकृत कारोबारका लागि अन्तिम स्वीकृतिको प्रक्रिया राष्ट्र बैंकमा पुर्‍याएनन् । वार्षिक साधारणसभा सम्पन्न गर्न समय लाग्ने कारण देखाउँदै राष्ट्र बैंकमा उनीहरुले थप ३ महिना समय माग गरे । जसमा राष्ट्र बैंकले अन्तिम मौका भन्दै मंसिर २० गतेसम्मका लागि समय थप गरेको थियो ।

तर, दिइएको समयमा वार्षिक साधारणसभा आयोजना गरी मर्जरको प्रस्ताव गर्नुको सट्टा हिमालयन बैंक मर्जरको निर्णय नै गलत भएको भन्दै मर्जर भाँड्न तर्फ लागि परेको छ ।

हिमालयन बैंक मर्जरबाट पछि हट्नुको मुख्य कारण नै कर्मचारी सञ्चय कोष हो । कोष सञ्चालक समितिले कात्तिक तेस्रो साता हिमालय बैंक र इन्भेष्टमेण्ट बैंक मर्जर कमिटीमा पत्र पठाउँदै मर्जर प्रक्रिया स्थगित गर्न भनेको कोष सम्बद्ध स्रोत बताउँछ ।

‘कोषका नयाँ सञ्चालक समिति सदस्यहरुको बहुमतमा हिमालयनलाई मर्जरको प्रक्रिया स्थगित गर्ने पत्र गत साता नै पठाइएको छ,’ कोष सम्बद्ध स्रोतले सिंहदरबारसँग भन्यो, ‘पहिले गरिएको मर्जरको निर्यण हतारमा गरिएको निष्कर्शका साथ थप अध्ययन गरी मर्जर प्रक्रिया अघि बढाइनुपर्ने आवश्यकता औंल्याएर दुवै बैंकलाई पत्र पठाइएको हो ।’ सो पत्रको जानकारी राष्ट्र बैंकलाई समेत गराइएको उनले बताए ।

इन्भेष्टमेण्ट बैंकसँग हिमालयन मर्जरमा जाँदा भविष्यमा बैंकको स्वामित्व एकाघर परिवारमा जाने हुँदा स्वामित्व विविधिकरण गर्नु पर्ने निष्कर्श कोष सञ्चालक समितिको रहेको स्रोतको भनाइ छ ।

बिग मर्जरका लागि हिमालयन र इन्भेस्टमेन्ट चुके, राष्ट्र बैंकले दियो अन्तिम मौका

यता, केन्द्रीय बैंकले भने हिमालयन र इन्भेष्टमेन्ट बैंकलाई मर्जर प्रक्रिया पुरा गरी एकीकृत कारोबार गर्न ताकेता गरिरहेको छ । राष्ट्र बैंक उच्च अधिकारीहरुले नै आवश्यक प्रक्रिया दिइएको समयमा सम्पन्न गर्न हिमालयन बैंकका अध्यक्ष र कोष सञ्चालक समिति सदस्यहरुलाई भनिरहेका छन् ।

तर, यी बैंकलाई एकीकृत कारोबार गर्न अन्तिम मौका भन्दै दिएको समयमा पनि आवश्यक प्रक्रिया सुरु नगरेपछि कारबाहीको समेत चेतावनी दिइएको राष्ट्र बैंकका एक अधिकारीले बताए ।

‘मर्जर सम्पन्न गर्नुपर्छ भन्ने पक्षमा राष्ट्र बैंक हो त्यसैले सैद्धान्तिक स्वीकृत पाएर अन्तिमको लागि प्रक्रिया पूरा नगर्दा पनि थप समय दिएका थियौं,’ राष्ट्र बैंक स्रोतले सिंहदरबारसँग भन्यो, ‘यी दुवै बैंकले दिइएको समयमा मर्जर गरेनन् भने राष्ट्र बैंकबाट पाउने सम्पूर्ण सुविधा कटौती हुनुका साथै मर्जर भाँडिएको ३ महिनाभित्र अन्य बैंकसँग मर्जरको सम्झौता गरिसक्नु पर्छ ।’

मर्जर सम्पन्न गर्ने अन्तिम मौका समेत हिमालयन बैंककै कारणले गुमिसकेको छ । दिइएको थप समय मंसिर २० गते समाप्त हुँदैछ । तर, हिमालयन बैंकले भने हालसम्म मर्जरको प्रस्तावसहितको साधारणसभा बोलाएकै छैन । कुनै पनि पब्लिक कम्पनीले साधारणसभाको मिति तय गरी २१ दिन अगावै सूचना सार्वजनिक गर्नुपर्ने व्यवस्था कम्पनी ऐनमा छ ।

साधारणसभा गर्नकै लागि भनेर दिइएको समयमा पनि हिमालयन बैंकले सोको लागी कुनै प्रक्रिया नथालेपनि बैंक अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई राष्ट्र बैंकले फोन गरेर ‘मर्जर प्रक्रिया पुरा गर’ भनेको स्रोत बताउँछ ।

पेचिलो बन्दै हिमालयन र नेपाल इन्भेस्टमेन्ट बैंकको मर्जर, भाँडिए के हुन्छ ?

‘हिमालयनले मंसिर २० गते अगावै साधारणसभा बोलाएमा राष्ट्र बैंकले १०/१५ दिन समय थप गर्न सक्छ, हामीले पनि बैंक अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई समय हुँदै साधारणसभा बोलाउनुस् भनेर भनिरहेका छौँ,’ स्रोत भन्छ, ‘इन्भेष्टमेण्ट बैंक शतप्रतिशत नै मर्जरमा सकारात्मक छ, अध्यक्ष पाँडेले यो साताभीत्र गर्छौं भनिसक्नु भएको छ । आशा गरौं यी बैंकबीच मर्जर होस् ।’

मर्जर गर्छु भनेर आपसी सम्झौता गरी आएका यी बैंकको मर्जर सम्पन्न गर्नका लागि राष्ट्र बैंकले समेत धेरै समय खर्चिएको हुँदा मर्जर भाँडिदा बजारमा नराम्रो सन्देश जाने उनको भनाई छ । लामो समयसम्म मर्जरको प्रक्रियामा रहेर तात्विक कारण नदेखाइ डि–मर्जर गर्ने बैंकलाई राष्ट्र बैंकले कडा कारवाही गर्ने उनको भनाइ छ ।

‘अब मर्जर भएनन् भने यी बैंकहरु अर्को बैंकसँग मर्जरमा नगएसम्म लाभांश वितरण, शाखा विस्तारदेखि लिएर सम्पूर्ण सुविधा कटौती हुन्छ,’ उनले थपे, ‘३ महिना भित्र मर्जरमा नगए नेप्सेलाई सेयर कारोबार समेत खुल्ला नगर्न पत्र लेखिन्छ ।’

नेपाल इन्भेष्टमेण्ट बैंकले मंसिर १७ गते वार्षिक साधारणसभा बोलाइसकेको छ । मर्जर तथा प्राप्तिलाई विषेश प्रस्तावमा राखी बैंकले साधारणसभा बोलाएको हो । तर, हिमालयनले मर्जरको प्रस्ताव गरी साधारणसभा सम्पन्न गरे इन्भेष्मेण्टले पुनः विषेश साधारणसभा गर्नु पर्ने हुन्छ । बैंकले मर्जरमा जाने बैंककै नाम तोकेर प्रस्तावसहित विषेश साधारणसभा गर्नु पर्ने राष्ट्र बैंकका ती अधिकारीले जानकारी दिए ।

‘हिमालयनले आफ्नो तर्फबाट गर्ने काम गरेमा इन्भेष्टमेण्टले १५ दिनभित्रै हिमालयनसँग मर्जरमा जाने प्रस्ताव गरी विषेश साधारणसभा बोलाउने प्रतिवद्धता गरिसकेको छ,’ स्रोतले भन्यो ।

कर्मचारी सञ्चय कोष र हिमालयन बैंककै केही पदाधिकारीहरुको मनमुटाव हुँदा मर्जर प्रक्रिया लम्बिएको उनको भनाइ छ ।

हिमालयन बैंकमा पाकिस्तानको हबिब बैंकको २० प्रतिशत सेयर छ । कर्मचारी सञ्चय कोष दोस्रो ठूलो लगानीकर्ता हो । कोषको १४ प्रतिशत सेयर छ । यस्तै एन ट्रेडिङ कम्पनीको १२.७१ प्रतिशत, म्युचुअल ट्रेडिङ कम्पनीको ११.८५ प्रतिशत, आभा इन्टरनेसनलको ११.३८ प्रतिशत र छायाँ इन्टरनेसनलको १०.८९ प्रतिशत सेयर छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्