Shikhar Insurance

हिमालयन र इन्भेष्टमेण्ट बैंकको मर्जर भाँडिदा थप १ वर्ष सेयर कारोबार रोक्का हुँदै !

मर्जरको आनाकानीले ४ लाख लगानीकर्ताको १ खर्ब २६ अर्ब अनिश्चितकालका लागि फ्रिज
दिलु कार्की
२०७८ मंसिर ९, बिहीबार १६:०८
NIMB
Nabil Bank

काठमाडौं । मर्जरको आपसी सम्झौता गरी राष्ट्र बैंक पुगेका हिमालयन र नेपाल इन्भेष्टमेण्ट बैंक गत वैशाखको ३० गते स्वीकृत माग्दै राष्ट्र बैंक पुगेका थिए । मर्जरको प्रारम्भिक सम्झौता गरेपछि भोलिपल्टै अर्थात् वैशाख ३१ गतेदेखि दुवै बैंकको सेयर कारोबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले रोक्का गरेको छ ।

अर्थात् दोस्रो बजारमा दुई बैंकको कारोबार नभएको ६ महिना पुरा भइसकेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यतिका लामो समयदेखि रोक्का भएको दुई बैंकको सेयर कारोबार थप एक वर्ष रोक्का हुने देखिएको छ । सम्झौताअनुसार मर्जरको प्रक्रिया समयमै पुरा नहुँदा यी बैंकको सेयर कारोबार थप वर्षदिन बढी रोकिने भएको हो ।

यसरी रोकियो यी बैंकको सेयर कारोबार
नेप्सेले मर्जर तथा प्राप्ति सम्बन्धि विनियमावली, २०७३ अनुसार दुवै बैंकको सेयर कारोबार रोक्का गरेको हो । दुई बैंक तथा वित्तीय संस्था आपसमा मर्जर तथा प्राप्तिका लागि निश्चित सेयर स्वाप रेसियो तय भइ सम्झौता गरेपछि सेयर कारोबार मर्जर सम्पन्न भइ एकीकृत कारोबार सुरु भएपछिमात्र दोस्रो बजारमा कारोबार खुल्छ ।

निश्चित स्वाप रेसियो तय भइसकेपछि सेयर खरिद बिक्री गरी त्यसको फाइदा कुनै एक पक्षका सेयरधनीले मात्र नलिउन् भन्ने अभिप्रायले यसरी कारोबार रोक्का गरिन्छ ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार नेप्सेले राष्ट्र बैंकले नेप्सेलाई पत्र लेखेपछि यी बैंकको कारोबार खुला हुनेछ । उनले भने, “दुई बैंकबीच सम्झौतापत्रमा हस्ताक्षर भएपछि कारोबार रोक्का गर्ने गरेका छौं । कारोबार फुकुवा लागि भने राष्ट्र बैंकले नै एकीकृत कारोबार सुरु गरेको जानकारी गराउनुपर्छ ।”

राष्ट्र बैंकले यी बैंकलाई गत जेठ २० गते नै मर्जरका लागि सैद्धान्तिक स्वीकृत दिएको हो । सैद्धान्तिक स्वीकृत पाएको ३ महिना भित्र एकीकृत कारोबारका लागि यी बैंकले अन्तिम स्वीकृति लिनुपर्ने हो । तर, प्राविधिक समस्या देखाउँदै यी बैंकले भदौ २० गतेसम्म पनि अन्तिम स्वीकृति लिन कुनै प्रक्रिया पुरा गरेनन् ।

राष्ट्र बैंकले कारण सोध्दा यी बैंकले वार्षिक साधारणसभा सम्पन्न गरी एकीकृत कारोबार गर्ने बताउँदै अन्तिम मौका मागे । मर्जर नीतिअनुसार एक पटकका लागि राष्ट्र बैंकले थप ३ महिनाका लागि अन्तिम स्वीकृतको प्रक्रिया पुरा गर्ने समय दिन मिल्छ ।

सोही व्यवस्था अनुसार यी बैंकले अन्तिम मौका मागे । राष्ट्र बैंकले पनि बाध्यता बुझेर मंसिर २० गतेसम्म प्रक्रिया पुरा गरी एकीकृत कारोबारका लागि अन्तिम स्वीकृत लिन अनुमति दिइसकेको छ ।

तर, समय घर्किंदै जाँदा हिमालयन र नेपाल इन्भेष्टमेण्टले तदारुकदा देखाएका छैनन् । वार्षिक साधारणसभामार्फत् मर्जरको प्रस्ताव पारित गर्नुपर्नेमा हिमालन बैंक साधारसभा आयोजना गर्न आनाकानी गरिरहेको छ । यता नेपाल इन्भेष्टमेण्टले मर्जरको विशेष प्रस्तावसहित साधारणसभा बोलाइसकेको छ ।

थप १ वर्ष बढी सेयर कारोबार यसकारण रोक्का हुँदै
मर्जर विनियमावलीमा राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृत दिइसकेपछि बैंकहरुले आफूखुसी मर्जर भंग गर्न नपाउने उल्लेख छ । तर, मनासिव कारण सहित निवेदन पेश हुन आएमा राष्ट्र बैंकले सैद्धान्तिक सहमति रद्द गरिदिन सक्छ ।

तर, यदी मनासिव कारण नखुलाई सञ्चालक समितिको निर्णय तथा संयुक्त मर्जर वा प्राप्ति समितिको सहमतिको निर्णयले मात्र मर्जर भंग गरेमा राष्ट्र बैंकले कारवाही गर्न सक्छ ।

मर्जर भंग गराएका बैंकहरुले ३ महिनाभित्र अर्को बैंक तथा वित्तीय संस्थासँग मर्जरको सम्झौता गरी सक्नुपर्ने तथा ३ वर्षसम्म राष्ट्र बैंकबाट पाउने सेवा सुविधाबाट वञ्चित हुने राष्ट्र बैंकका प्रवत्ता देवकुमार ढकाल बताउँछन् । उनका अनुसार यी बैंकको मर्जर भंगका कारण चित्त बुज्दो जवाफ नआएमा अर्को बैंकसँग मर्जर नभएसम्म सेयर कारोबार रोक्का हुनेछ ।

हिमालयन बैंकको दोस्रो ठूलो लगानीकर्ता कर्मचारी सञ्चय कोषको सञ्चालक समितिले नेपाल इन्भेष्टमेण्ट बैंकसँग मर्जरको प्रक्रिया स्थगित गर्नु पर्ने कारणसहितको पत्र नेपाल राष्ट्र बैंक, हिमालयन र नेपाल इन्भेष्टमेण्ट बैंकलाई पठाइसकेको छ ।

पाकिस्तानी बैंक हबिबपछि दोस्रो ठूलो लगानीकर्ता अर्थात् १४ प्रतिशत सेयर स्वामित्व रहेको कोषको निर्णय विरुद्द गएर हिमालयनले इन्भेष्टमेण्ट बैंकसँग मर्जर सम्पन्न गराउन सम्भव छैन । कोषले हिमालयन बैंक इन्भेष्टमेण्टसँग मर्जरमा गएमा एकीकृत कारोबार गर्ने बैंकको स्वामित्व एकाघर परिवारमा जाने भन्दै मर्जर भंग गराउने बाटोतर्फ लागेको हो ।

यसरी हिमालयन र इन्भेष्टमेण्ट आपसमा मर्जर नभएपनि राष्ट्र बैंकको निर्देशनअनुसार ३ महिनाभित्र अर्को बैंकसँग मर्जरको सम्झौता गर्नु नै पर्ने हुन्छ ।

अर्को बैंक तथा वित्तीय संस्थासँग मर्जर गर्नु पूर्व यी बैंकहरुले पुनः मर्जर कमिटी गठन गरी आ–आफ्नो बैंकको सम्पती तथा दायित्व मूल्यांकन (डीडीए) गराउनु पर्छ । जसका लागि छिटोमा ३ महिना लाग्ने जानकार बताउँछन् । सो अघि मर्जरको लागि उपयुक्त बैंकको खोजीका लागि बैंकको कसरतमा लाग्ने समय छुट्टै हो ।

मर्जरको पारम्भिक सम्झौतापछि राष्ट्र बैंकले मागिएका कागजात समयमै पुरा गरेमा १ महिनाभित्र सैद्धान्तिक स्वीकृत दिन्छ । सैद्धान्तिक स्वीकृत पाएको ३ महिनाभित्र एकीकृत कारोबारको लागि अन्तिम स्वीकत राष्ट्र बैंकले दिन्छ । अन्तिम स्वीकृत पाएको २ महिना भित्रभित्र एकीकृत कारोबार गरिसक्नु पर्ने हुन्छ ।

त्यसपछि मात्र मर्जरको प्रकृयामै गएको कारणले रोक्का भएको सेयर कारोबार नेप्सेले फुकुवा गर्छ ।

हिमालयन र इन्भेष्टमेण्ट आपसमा मर्जर नभएर अर्को बैंकमा मर्जर हुन परेमा सम्पुर्ण प्रक्रिया पुरा गर्न नै एक वर्ष बढी समय लाग्ने निश्चित छ । मर्जरपछि एकीकृत कारोबार भएर बैंकले नेप्सेमा कारोबार फुक्का गर्न पत्र पठाउँदा यी बैंकका लाखौं लगानीकर्ताको अबौं रुपैयाँबराबरको सेयर कारोबार नै हुन नपाउने गरी फ्रिज भएर बस्ने निश्चित छ ।

मर्जरको आनाकानीले ४ लाख लगानीकर्ताको १ खर्ब २६ अर्ब अनिश्चितकालका लागि फ्रिज
केन्द्रीय बैंकको मर्जर नीतिअनुसार यी बैंकको मर्जर भाँडिदा हुने कारवाहीले गर्दा सर्वसाधारणको १ खर्ब २६ अर्ब रुपैयाँ अनिश्चित समयको लागि फ्रिज हुने निश्चित छ ।

वैशाख ३० गतेसम्म हिमालयन बैंकको प्रतिकित्ता ४ सय ८० रुपैयाँ र इन्भेष्मेण्ट बैंकको ४ सय ६० रुपैयाँ सेयर किनबेच भएको थियो ।

सो मूल्यमा हिमालयन बैंकका करिब २ लाख र इन्भेष्टमेन्ट बैंकको २ लाख १५ हजार ५८३ जना गरी कुल ४ लाख लगानीकर्ताको अर्बौं रुपैयाँ पुँजी फ्रिज भएर बसेको छ ।

वैशाख ३१ गते बन्द भएको यी बैंकको बजार पुँजीकरण कुल १ खर्ब २६ अर्ब ४९ करोड रुपैयाँ बढी थियो । जसमध्ये हिमालयन बैंकको १० करोड ६८ लाख ४४ हजार कित्ता बराबरको ५१ अर्ब ७१ करोड २५ लाख रुपैयाँ र इन्भेष्टमेण्ट बैंकको १६ करोड २५ लाख ७३ हजार कित्ता बराबरको ७४ अर्ब ७८ करोड ३७ लाख रुपैयाँ सेयर बजारमा ६ महिना यता फ्रिज भएर बसेको छ । मर्जर भाँडिएर पुनः अर्को बैंकसँग प्रक्रियामा जाँदा थप एक वर्षभन्दा बढी नै सेयर कारोबार रोक्का हुनेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्