Shikhar Insurance

रुकुमबाटै समाजवादको आधार तय हुने दाबी गर्ने अर्थमन्त्री भन्छन्ः जग्गाको भाउ नमिलाए विकास असम्भव

सिंहदरबार संवाददाता
२०७८ मंसिर १२, आईतवार १२:५५
NIMB
Nabil Bank

रुकुम । अर्थमन्त्री जनार्दन शर्माले आयोजनास्थलका जनताको सहयोग र सहभागिता विना विकास निर्माण हुन नसक्ने बताएका छन् । रुकुम पश्चिमको चौरजहारी, सानीभेरी, बाँफिकोट र आठविसकोटमा आयोजित विभिन्न कार्यक्रमहरुलाई सम्बोधन गर्दै उनले विकास आयोजनास्थलका स्थानीय जनताको सहयोगको आवश्यकता औंल्याएका हुन् । ‘आयोजनास्थलका जनताको सहयोग, सहभागिता र योगदान विना सरकारले मात्र विकास गर्न सक्दैन,’ मन्त्री शर्माले भने, ‘विकासको लागि स्थानीयहरु सक्रिय हुनुपर्छ । सरकारले त्यसमा सहयोग गर्ने मात्र हो ।’

कुनै पनि विकास आयोजनाका लागि सरकारले जग्गा अधिग्रहण गर्न लाग्दा स्थानीयले अचाक्ली भाउ बढाउने गरेको प्रति असन्तुष्टि प्रकट गर्दै मन्त्री शर्माले उद्योग वाणिज्य संघ चौरजहारीका प्रतिनिधिहरुसँग भने ‘कुनै आयोजना निर्माण गर्न थाल्यो कि जग्गाको भाउ चर्काइन्छ, सरकारले किन्न नसक्ने गरी मूल्य तोकिन्छ । अनि कसरी गर्ने विकास ?’ चौरजहारीमा विमानस्थलको स्तरोन्ती र भेरी नदीमा जलविद्युत बनाउने योजना सुनाउँदै उनले जग्गाको भाउ नमिलाएसम्म ती काम गर्न संभव नहुने बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

मन्त्री शर्माले उनकै पहलमा चौरजहारी अस्पतालमा स्थापना भएको अक्सिजन प्लान्टको उद्घाटन गरे भने सानीभेरी गाँउपालिकामा सुविधा सम्पन्न अस्पताल भवनको शिलान्यास गरे । यस्तै नै उनले आठविसकोटमा स्थापना गरिएको १५ शैयाको नगर अस्पताल भवन उद्घाटन गरे ।

नेकपा माओवादी केन्द्रको बाँफिकोट र आठविसकोट दोस्रो नगर सम्मेलनको अवसरमा आयोजित जनसभाहरुलाई सम्बोधन गर्दै पार्टीका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख समेत रहेका मन्त्री शर्माले रुकुम जिल्लालाई समाजवादको आधार बनाउने प्रतिवद्धता दोहोर्‍‍याए । अबको पाँचदेखि सात वर्षभित्र रुकुमलाई गरिबीमुक्त जिल्लाको रुपमा विकास गरेर समाजवादको आधार तयार पार्ने योजना रहेको उनले जानकारी दिए । ‘अबको पाँच–सात वर्षभित्र रुकुममा कोही पनि गरिब र बेरोजगार भेटिने छैन । यसबाट जिल्लामा समाजवादको आधार तयार हुनेछ ।’ उनले भने ‘विकास निर्माणको काम पनि अब गुणस्तरीय विकासको अवधारणामा अघि बढाइनेछ ।’

शिक्षामा प्रतिष्पर्धी र स्वरोजगार जनशक्तिको उत्पादन, स्वास्थ्यमा उपचारको लागि सकेसम्म जिल्ला बाहिर जानु नपर्ने अवस्थाको सृजना, सबै नागरिकलाई रोजगारयुक्त बनाउने, आर्थिक उत्पादनमा आत्मनिर्भरता लगायतका कार्यहरु गुणस्तरीय विकासका सूचक भएको मन्त्री शर्माले उल्लेख गरे ।

गुणस्तरीय शिक्षाको लागि सरकारले हरेक विद्यालयहरुलाई उद्यमशील बनाउने नीतिस्वरुप पढ्दै कमाउदै कार्यक्रम ल्याएको बताए । ‘विद्यालयहरुले विद्यार्थीहरुलाई किताव घोकाउने मात्र होइन, पढेको कुरा व्यवहारमा लागू गर्ने खालको जनशक्ति उत्पादन गर्नुपर्छ । कम्तिमा १२ कक्षा उत्तीर्ण विद्यार्थीले स्वरोजगार हुने सिप सिकेर निस्केको हुनुपर्छ ।’ पढ्दै कमाउदै कार्यक्रम चालु शैक्षिक सत्रबाटै लागू हुने उनले जानकारी दिए । यस्तै आगामी शैशिक सत्रदेखि देशका विभिन्न स्थानमा डिजिटल लर्निङ्ग सेन्टरहरु स्थापना गरी आधुनिक प्रविधिको माध्यमबाट अडियो भिडियोसहित अध्ययन अध्यापन गराउने तयारी रहेको जानकारी दिए ।

सरकारले पहिलो पटक गरिब र विपन्नलाई सम्झेर देशका पाँच लाख परिवारलाई १० हजारका दरले आर्थिक राहत वितरण गर्न लागेको, दीर्घ रोगीहरुलाई मासिक पाँच हजारका दरले उपचार खर्च दिने निर्णय भएको, घाइते अपाङ्गता भएकाहरुलाई उपचार खर्च दिन लागिएको, शहीद परिवारहरुलाई मासिक तीन हजारका दरले जिवनवृत्ति प्रदान गर्ने निर्णय भएको, दलित आवास, महिला पहिला जस्ता जनपक्षीय कार्यक्रमहरु ल्याएकोले त्यसबाट लाभ लिन उनले लक्षित समुदायलाई आग्रह गरे ।

अर्थमन्त्री जनार्दन शर्माले रुकुमबाट समाजवादको आधार तयार हुने उद्घोष गरेका छन् । शुक्रवार नेकपा माओवादी केन्द्र रुकुम पश्चिम अन्तरगत त्रिवेणी गाँउपालिका, सानीभेरी गाँउपालिका र चौरजहारी नगरपालिकाको सम्मेलनहरु उद्घाटन गर्दै मन्त्री शर्माले यसअघि जनयुद्धको आधार इलाका बनेको रुकुम अब समाजवादको आधार क्षेत्र बन्ने बताएका हुन् । ‘रुकुम जिल्ला पहिले जनयुद्धको आधार इलाका थियो, अब यहाँबाट समाजवादको आधार तयार हुन्छ,’ उनले भने ।

उनले संविधानमा लेखिएको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने र समाजवादको आधार तयार पार्ने कार्यमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए । अबको पाँचदेखि सात वर्षभित्र रुकुमलाई गरिबी र बेरोजगारमुक्त जिल्ला बनाउने गरी अघि बढ्न उनले आग्रह गरे । मन्त्री शर्माले युवाहरुलाई विदेश जान छोडेर जिल्लाभित्रै उत्पादन र रोजगारीको अभियानमा जोडिन आग्रह गरे । जिल्लामा चलिरहेको आर्थिक समृद्धि तथा सामाजिक सांस्कृतिक रुपान्तरणको अभियानमा जोडिएर स्वरोजगार हुन उनले आग्रह गरे ।

यसैबिच मुसिकोट नगरपालिकाको सोलावाङमा ३० करोडको लागतमा बन्न लागेको डेरी उद्योगको शिलान्याश गर्दै मन्त्री शर्माले यसबाट पालिकाका किसानहरु आत्मनिर्भर बन्ने क्रमको सुरुवात हुने बताए । दैनिक एक लाख लिटर दुध संकलन गरेर प्रशोधन गर्ने लक्षसहित निर्माण हुन लागेको डेरी उद्योगमा आवश्यक पर्ने दुध उत्त्पादन गर्नको लागि किसानहरुलाई उन्नत जातको दुधालु भैंसी र उन्नत जातको दुधालु गाइहरु लागत सहभागितामा वितरण गरिने जानकारी दिए । ‘यसबाट हरेक दिन किसानको घरमा पैसा भित्रिन्छ, प्रशोधित दुधबाट बन्ने पदार्थबाट प्राप्त आम्दानीमा समेत किसानहरुको हिस्सा लाग्छ ।’ उनले भने ‘जनतालाई गरिबीबाट माथि उठाउने र हरेक युवालाई स्वरोजगार बनाउने अभियान यसैबाट शुरु हुनेछ । आगामी छ महिनाभित्र निर्माण सम्पन्न हुने लक्ष रहेको डेरी उद्योग सरकारी स्वामित्वको स्यार्पु कृषि कम्पनीको नाममा बन्न लागेको हो ।

‘समृद्धिको अभियान भनेको सवभन्दा कमजोर अवस्थामा रहेको जनतालाई आत्मनिर्भर बनाउने अभियान हो, समृद्धिको अभियान भनेको आर्थिक कुरा मात्र होइन, शिक्षामा सुधार, स्वास्थ्य सेवामा स्तरोन्नती, उत्पादनमा बृद्धि हो । यो कामलाई तीव्रताका साथ अघि बढाउनुस् ।’ उनले थपे ‘उपलब्ध प्राकृतिक स्रोत साधन र श्रम शक्तिलाई जोडेर उत्पादनमा लगाउने कामको सुरुवात गर्दैछौं ।’

यस्तै आफूले प्राथमिक शिक्षा ग्रहण गरेको मुसिकोट–५ सेरिगाँउस्थित यमुनानन्द नमूना माध्यामिक विद्यालयमा निर्मित कम्प्युटर ल्याबको उद्घाटन गर्दै मन्त्री शर्माले अबदेखि हरेक विद्यालयहरु उद्यमशील हुनुपर्ने बताए । ‘विद्यालयहरु किताव पढाउने, पाठ घोकाउने कार्यमा मात्र सीमित हुनु हुँदैन, पढेको कुरा व्यवहारमा लागू गर्ने र सँगसँगै आय आर्जन गर्ने प्रयोगशालासहितको हुनुपर्छ ।’ उनले भने । यसैलाई मध्येनजर गर्दै सरकारले ‘पढ्दै कमाउदै’ कार्यक्रम ल्याएको भन्दै उनले यो कार्यक्रम चालु शैक्षिक सत्रबाटै लागू हुने जानकारी दिए । यस्तै आगामी शैक्षिक सत्रदेखि डिजिटल लर्निङ्ग सेन्टरहरु स्थापना गरी नयाँ शैलीमा अध्ययन अध्यापन समेत गराईने मन्त्री शर्माले बताए ।

सरकारले पहिलो पटक गरिब र विपन्नलाई सम्झेर देशका पाँच लाख विपन्न परिवारलाई १० हजारका दरले आर्थिक राहत, दीर्घ रोगीहरुलाई मासिक पाँच हजारका दरले उपचार खर्च, घाइते अपाङ्गता भएकाहरुलाई उपचार र जीवन निर्वाह भत्ता, शहीद परिवारहरुलाई मासिक तीन हजारका दरले जिवनवृत्ति, दलित आवास, महिला पहिला जस्ता जनपक्षीय कार्यक्रमहरु ल्याएकोले त्यसबाट लाभ लिन उनले लक्षित समुदायलाई आग्रह गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्