Shikhar Insurance

नाडामा चुनाव‍ी सरगर्मीः अञ्जन श्रेष्ठ सक्रिय, शेखर गोल्छा कता ?

सिंहदरबार संवाददाता
२०७८ मंसिर १७, शुक्रबार ११:०७
NIMB
Nabil Bank

काठमाडौं । शेखर गोल्छा, नेपाली उद्योगी व्यवसायीबीच पायोनियर नाम । जबजब व्यवसायीमा चुनाब लाग्छ, गोल्छाको साथ कता ? भन्ने प्रश्न आउँछ ।

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष गोल्छा नाडाको पनि पूर्व अध्यक्ष हुन् । गोल्छा समूहको एचएच बजाज नाम गरेको कम्पनीले नेपालमा बजाज मोटरसाइकल बेच्दै आएको छ । बजाज नेपालमै मोटरसाइकल एसेम्ब्ली प्लान्ट पहिलो मोटरसाइकल कम्पनी पनि हो ।

Citizen Life
Kumar Bank
Nepal Life

मार्केट सेयरमा बजाज निकै अगाडि छ । बजाजका डिलर देशैभर छन् ।

व्यवसायी जगतमा गोल्छा जति ठूलो नाम हो, गाडी (कार, मोटरसाइकल तथा पार्टपुर्जा) व्यापारीमाझ त्योभन्दा शक्तिशाली नाम हो ।

उद्योगी रामलाल गोल्छाले सुरू गरेको गोल्छा साम्राज्य ठूलो हुनुको कारण जोकोही व्यवसायी गोल्छाको सामिप्यतामा पर्न खोज्छ । र, शेखर गोल्छाको पोर्टफोलियो यसरी बनेको छ, उनको साथ हुनुलाई चुनावी प्रत्यासीले अहोभाग्य मान्ने गरेका छन् ।

शेखर गोल्छा जति शक्तिशाली छन्, त्यसमा दोब्बर बल उनी एफएनसीसीआईको अध्यक्ष रहँदा थपिएको छ ।

तर, नाडा चुनाव मुखैमा गोल्छा चुप देखिएका छन् । गोल्छा कसैको चुनावी प्रचारमा खुलेका छैनन् । तर, दुवै पक्षले आफूसँग गोल्छाको साथ भएको दाबी गरेको छ ।

नाडाको मंसिर २३ गते तोकिएको ४५ औं वार्षिक साधारणसभा नयाँ नेतृत्व चयन हुँदैछ । अध्यक्षका लागि करण चौधरी र ध्रुब थापा अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्दैछन् ।

सहमतिमा अध्यक्ष चयन गर्ने भनिएपनि अघिल्लो कार्यकालका उपाध्यक्ष थापा र हालका उपाध्यक्ष चौधरी दुवैजना पछि नहटेपछि चुनाव हुने पक्का भएको हो ।

सुजुकीको गाडी बेच्ने चौधरीलाई टाटाको गाडी बेच्ने सिप्रदी, हिरो, होन्डा, पार्टस्, लुब्रिकेन्टलगायत सवारी पार्टस् बेच्नेहरको साथ छ भने फोर्स गाडी बेच्ने थापालाई ह्युन्डाको गाडी बेच्ने निराकार श्रेष्ठ, टीभीएसका दीपक अग्रवालसमेत मोफसलका व्यवसायीको साथ छ ।

करण चौधरीको पक्षमा बन्यो बलियो टिमः सिप्रदीदेखि चन्द्र ढकालको साथ

नाडा अध्यक्षका प्रत्यासी ध्रुब थापाको प्यानल घोषणा, यी व्यवसायीको साथ

नाडाको चुनावलाई एफएनसीसीआई चुनावको रिहर्सल पनि मानिन्छ । नाडाको चुनाव जुन पक्षले जित्यो महासंघको वरिष्ठ उपाध्यक्षमा पनि सोही टोलीको दाबी हुने गरेको छ ।

गोल्छा अहिले आफू यो पक्षमा भन्ने खुलेका छैनन् । यता नाडाका पूर्व अध्यक्ष अञ्जन श्रेष्ठ एउटा पक्षमा खुलेर लागेका छन् ।

एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षमा श्रेष्ठको बलियो दाबेदार छ । नाडाको आगामी चुनावलाई थापा र चौधरीको नभएर श्रेष्ठ र चौधरीबीचको मानिएको छ ।

यता फोर्ड बेच्ने उनका भाइ आकाश गोल्छा ध्रुब थापाको प्यानलमा कार्यसमिति सदस्य उम्मेदवार हुन् । शेखर चुपचाप हुँदा थापाले आफ्नो पक्षमा भए-नभएको खुलाएका छैनन् ।

बिहीबार प्यानल घोषणा कार्यक्रममा सिंहदरबार प्रतिनिधिले शेखर गोल्छाको साथबारे प्रश्न गर्दा थापाको जवाफ थियो, “को उपस्थिति हुनुहुन्छ, को हुनुहुन्न, हेरेर थाह पाउनुस् ।”

अर्थात् उनलाई शेखरका भाइ आकाशको साथ छ, शेखरको छैन भन्ने बुझिएको छ ।

अघिल्लो दिन करण चौधरीले प्यान घोषणा गर्दा आफूलाई बजाजको साथ भएको बताएका थिए ।

“बजाजका कोही प्रतिनिधि आज उपस्थित छैनन्, तपाईं कसरी शेखरको साथ छ भन्न सक्नुहुन्छ ?” भन्ने प्रश्न सिंहदरबारले गर्दा चौधरीको जवाफ थियो, “शेखर गोल्छा मेरो आत्मिय दाइ हुनुहुन्छ । मलाई उहाँको साथ छ । तर, उहाँ एफएनसीसीआईको अध्यक्ष पनि हुनुहुन्छ । त्यसो भएकाले उहाँले खुलेर मेरो समर्थन गर्न आउन मिल्दैन ।”

नाडामा गोल्छाको साथ भोटका लागि मात्र होइन, कन्फिडेन्सका लागि पनि हो ।

अध्यक्ष प्रत्यासी चौधरीकै कुरा मान्ने हो भने शेखर चुपचाप छन् । महासंघको वरिष्ठ उपाध्यक्ष अञ्जन ध्रुव थापालाई जिताउने खेलमा लागेका छन् ।

त्यसो त, एफएनसीसीआईका पूर्वअध्यक्ष तथा मारबाडी समूहका शीर्ष बिजेनस नेता पशुपति मुरारका पनि व्यक्तिगत रूपमा कसैको पक्षमा खुलेका छैनन् । तर, उनको एमजीको साथ चौधरीलाई छ ।

व्यवसायी नेताहरू महासंघसंवद्ध संघ संगठनको निर्वाचनमा आफ्नो बलियो पकड बनाउन चाहन्छन् । त्यसका अञ्जनले पहिलो अस्त्रका रूपमा नाडाको चुनावलाई उपयोग गरेका छन् ।

नाडा वस्तुगततर्फको १ भोटमात्र होइन, महासंघको निर्वाचनलाई प्रभावित पार्न सक्ने अधिकांश मतदाता सहभागी संस्था पनि हो । अञ्जन नाडामा आफ्नो प्रभाव उपयोग गरेर वरिष्ठ उपाध्यक्षको दावेदारका रूपमा स्थापित हुन चाहन्छन् ।

अञ्जनको एक्लो दावेदारीलाई रोक्ने रणनीति अन्तर्गत अर्को समूहले करण चौधरीमार्फत् नाडामा अञ्जनको प्रभाव कम गर्न लागिपरेको छ । चुनावी तालमेल हेर्दा करण निकै बलियो देखिन्छन् । उनलाई महासंघका वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको साथ छ । ढकालले आफ्नो कलिला छोरालाई करणको टिमबाट कार्यसमिति सदस्यमा उठाएका छन् ।

महासंघको चुनावमा निकै पोलिटिक्स हुने गरेको छ । विपक्षी प्यानलको भएपनि चन्द्र ढकाल अप्रत्यक्ष साथ पाएर उपाध्यक्ष बनेका अञ्जन नाडाको चुनावमा आफ्नो दबदबा कायम गर्न चाहन्छन् ।

महासंघको वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिन कम्तिमा एक कार्यकाल उपाध्यक्ष भइसकेको हुनुपर्छ । यसको अर्थ अञ्जनको प्रतिस्पर्धामा अघिल्लो कार्यकालका उपाध्यक्ष उमेशलाल श्रेष्ठ र हालका उपाध्यक्षद्वय दिनेश श्रेष्ठ वा रामचन्द्र संघाई छन् ।

स्रोतका अनुसार संघाईले वरिष्ठ उपाध्यक्षको आन्तरिक तयारी पनि गरिरहेका छन् । संघाइ बलियो दावेदार सौरभ ज्योतिलाई हराएर उपाध्यक्ष बनेका थिए । त्योबेला सौरभलाई हराउन संघाईले अञ्जनको साथ पाएको बताइन्छ ।

महासंघभित्र मारवाडी र नेवार समुदायको टसल उजागर हुन्छ । यस्तोमा महासंघमा पहाडी समुदाय हाबी हुन थालेका छन्, जसको उदाहरण हो चन्द्र ढकालको छड्ने इन्ट्री । ढकालले आफ्ना छोरालाई करणको साथ लगाएर उनलाई महासंघको भावी नेताका रूपमा अघि सारिसकेका छन् ।

नेवारहरू एकातिर हुने, उनीहरूलाई केही मारवाडीले साथ दिने तथा अधिकांश मारवाडी र पहाडी समुदायका व्यापारी अर्कातर्फ हुने स्थिति आएको छ ।

यस्तोमा शेखर गोल्छा र पशुपति मुरारकाको मौनता अर्थपूर्ण मानिएको छ ।

करणले गोल्छा आफ्नो साथमा रहेको दाबी गरिरहँदा ध्रुबले ठोकुवाका साथ दाबी गर्न सकेनन् । तर, फोर्ड व्यापारी आकाश गोल्छा भने ध्रुबकै प्यानलबाट कार्यसमिति पदका उम्मेदवार हुन् ।

 

करणको टिमः

सिप्रदीदेखि व्यवसायी चन्द्र ढकालसम्मको साथ लिएर चौधरी अध्यक्ष चुनावमा होमिएका हुन् । चौधरीले बनाएको टिममा हालको कार्यसमितिको ८० प्रतिशत सदस्यको साथ रहेको दाबी गरिएको छ ।

प्यानल घोषणा गर्दै अध्यक्षका प्रत्यासी चौधरीले आफूले आफ्नो कम्पनीको नाफाघाटाभन्दा पुरै अटो उद्योगको हीतमा काम गर्ने बताए । चौधरीलाई चारपाँग्रेदेखि २ पाँग्रे सवारी बेच्नको साथ छ । टाटाको नेपालका लागि आधिकारिक विक्रेता सिपद्रीदेखि चन्द्र ढकालको आईएमई मोटर्सको साथ छ ।

चौधरीको टिम उद्योगीमुखी टिम हो । नेपालमा एसेम्बल प्लान्टदेखि, लुब्रिकेन्ट, ब्याट्रीको प्लान्ट स्थापना गरेका र गर्ने तयारीमा रहेकाहरुको साथ छ । उनलाई हालका अध्यक्ष कृष्णप्रसाद दुलालाको पनि साथ छ ।

कम्पनीको नाम लिँदा सुजुकी, टाटा, महिन्द्रा, फियाट, जेसीबी, स्कोडा, जिप, रेनो, एमजी, यामाहा, हिरो, होण्डा, बजाज, एक्साइड लगायतको साथ छ ।

उनको टिममा हालका महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्र उप्रेती, सहकोषाध्यक्ष विक्रम सिंघानियाँ लगायत, हिरोका अभिक ज्योति, देवराज भण्डारी, मिलनबाबु मल्ल, पंकज अग्रवाल, प्रकाश पुरी, निलमणी पाठक, बरदान बस्नेत,लगायत छन् ।

चौधरीको टिममा रहेका राजनबाबु श्रेष्ठले नाडामा सहमतिको प्रयास गरिएको तर चुनाव भए आफ्नो टिमले जित्ने ढुक्क भएको बताए ।

 

ध्रुबको टिमः

वर्तमान कार्यसमिति ६ जनाको साथसहित थापाले प्यानल घोषणा गरेका हुन् । थापाको टिममा बजाजका आकाश गोल्छादेखि ह्युन्डाइका निराकार श्रेष्ठसमेत छन् ।

अध्यक्ष पदको उम्मेदवार थापाको टिममा वर्तमान उपाध्यक्ष गोल्छा, श्रेष्ठसहित टीभीएसका दीपक अग्रवाल, कपिल शिवाकोटी र शुभाशिष थपलियासमेत छन् ।

थापालाई नाडाका पूर्वअध्यक्ष अञ्जन श्रेष्ठको साथ छ । श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत हुन् ।

थापाको प्यानलमा यमुना श्रेष्ठ, अमरज्योति रञ्जित, बीएन पाठक, दिपेन्द्रकुमार मिश्र, नवराज भुसाल, नारायण पौडेल, प्रदिप प्रधान, प्रकाश सिग्देल, रिद्धि कार्की, सगुन बीएस कंशाकार, सञ्जय खेतानसमेत छन् । अध्यक्षका प्रत्यासी थापाले आफूले समावेशी प्यानल बनाएको दाबी गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्