Shikhar Insurance

गोदावरी जाने बाटो कालोपत्रः ५ वर्षपछि बल्ल सकिन लाग्यो काम

सिंहदरबार संवाददाता
२०७८ मंसिर १७, शुक्रबार १४:४३
NIMB
Nabil Bank

काठमाडौं । निर्माण सुरु भएको झण्डै पाँच वर्षपछि गोदावरी सडक निर्माण अन्तिम चरणमा पुगेको छ । सडकमा आवश्यक संरचना निर्माण सकिएकाले बिहीबारदेखि कालोपत्र सुरु गरिएको छ ।

सो सडकमा दुई प्याकेजमध्ये एउटामा पहिले नै कालोपत्र सम्पन्न भइसकेको छ । बाँकी एउटामा बिहीबारदेखि कालोपत्र सुरू गरिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । झण्डै चार किमी सडकमा अहिले कालोपत्र अघि बढाइएको आयोजनाका इञ्जिनीयर वसन्तकुमार गाइँले बताए । उनका अनुसार हरिसिद्धिको एक ठाउँबाहेक अन्यत्र कालोपत्र सकिने भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

हरिसिद्धिको घुम्तीमा भने तत्काल कालोपत्र हुनसक्ने अवस्था नरहेको इञ्जिनीयर उनले बताए । सडकको दुवैतर्फ नजिकै घर रहेकाले साँघुरो सडकमा अर्को चरणमा काम गरिने उनले जानकारी दिए । सो खण्डमा कालोपत्र गर्दा नटिक्ने हुँदा कङ्क्रिट ढलान गर्ने गरी योजना बनाइएको छ । उनले भने, “माथिल्लो तहबाट टुङ्गो लागेपछि ठेक्का लगाएर ढलान गर्नुपर्छ ।”

ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकामा पर्ने सो सडक सङ्घीय सडकका रुपमा छ । सो सडकमा लामो समयसम्म निर्माणले गति नलिएको भए पनि पछिल्ला दिनमा केही गति लिन थालेको आयोजनाका प्रमुख दीपेन्द्र पाण्डेले बताए । उनका अनुसार आयोजनाले स्थानीयवासीले लामो समयदेखि दुःख पाइरहेकाले जनशक्ति र उपकरण दुवै थप्न कम्पनीलाई भनिएको थियो ।

पाँच वर्ष पहिले विस्तार सुरु गरिएको सो सडकमा सुरुका वर्षमा चौडाइ विवादका कारण निर्माण अघि बढ्न सकेको थिएन । स्थानीयवासीले घर भत्काउन विरोध गरेपछि निर्माण ठप्प थियो । पहिले निर्माण व्यवसायीले काम गर्न चाहे पनि आयोजनाले नै निर्माणस्थल खाली गर्न सकेको थिएन । तीन वर्ष पहिले सर्वोच्च अदालतले उपलब्ध चौडाइमा नै निर्माण गर्न फैसला गरेको थियो । सोही आधारमा पहिले २० मिटर चौडाइमा कालोपत्र गर्ने गरी ठेक्का सम्झौता भए पनि विभागले उपत्यकाका विस्तारका क्रममा रहेका अरु सडकजस्तै यो सडकमा उपलब्ध चौडाइमा कालोपत्र गर्ने निर्णय गरेको थियो ।

सो सडक २० मिटर चौडा गर्न नसकिएपछि १६ मिटर चौडाइ कायम गर्ने गरी जनप्रतिनिधि, स्थानीयवासी र आयोजनाबीच सहमति भएको थियो । त्यसपछि पनि १६ मिटरभित्रै घर भएका स्थानीयवासीले सडकका लागि जग्गा दिन नमानेपछि सडक अलपत्र बनेको थियो । सो सडकमा गोदावरीको साढे तीन किमी सडक मात्रै १६ मिटर चौडाइ कायम गर्न सकिने अवस्था छ । बाँकी सडकमा अहिले १६ मिटरभन्दा कम चौडाइ रहेको आयोजनाले जनाएको छ । चौडाइ कम भएका स्थानमा पैदल यात्रुमार्ग, ह्युमपाइपलगायतका संरचना बनाउन नसकिने विभागले बताउँदै आएको छ ।

टौखेलदेखि गोदावरीसम्मको सडक भने गत वर्ष नै निर्माण सम्पन्न भइसकेको छ । लामो समयदेखि सो सडक अलपत्र हुँदा गोदावरीसँगै बडिखेल, लेले, बिसङ्खुनारायण, गोदामचौरलगायतका स्थानका नागरिक हैरान छन् । वनस्पति उद्यान र प्रकृतिक सुन्दरताका कारण गोदावरी पुग्ने पर्यटकलाई समेत असर पुगेको छ । सरकारले निर्माण गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ठूला कार्यक्रमको आयोजना गरिने भए पनि आवतजावतमा समस्या छ ।

विस्तारका क्रममा रहेको सडकमा कर्मनाशा खोलाबाट हरिसिद्धिसम्म ललितपुर महानगरपालिका पर्छ भने साविकको ठैव र गोदावरी गाविस गोदावरी नगरपालिकामा पर्छ । सात दशमलव छ किलोमिटर लम्बाइको यो सडक निर्माणको ठेक्का सम्झौता विसं २०७३ असारमा भएको थियो । सडक निर्माणको ठेक्का आशिष सिएम जेभी र लामा समानान्तर जेभी गरेर दुई कम्पनीलाई दिइएको छ ।

ठेक्का अवधि सकिए पनि कोभिडका कारण अवरुद्ध अरु आयोजनाजस्तै छ महिना थपिएको छ । आयोजनाले भने अवधि बाँकी भए पनि सो सडक त्यस पहिले नै कालोपत्र गर्न निर्माण कम्पनीलाई भनेको छ । काठमाडौँ उपत्यकामा पाँच/छ वर्ष पहिले विस्तार सुरू भएका सडकमध्ये अधिकांश अझै सम्पन्न भइसकेका छैनन् । आयोजनाले चैतभन्दा पहिले नै सम्पन्न गर्ने गरी योजना बनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्