Shikhar Insurance

राजनीतिको झोलाभन्दा कृषिको बोरा नै ठीक

लोकेन्द्र विष्ट मगर, पूर्व मन्त्री
२०७८ पुष ११, आईतवार १४:२०
NIMB
Nabil Bank

“पार्टीले जनयुद्धको भावअनुसार काम गर्न पनि छाड्यो । कार्यकर्ता झोला बोकेर ठूला नेताको चाकरी गर्नमा मरिमेट्न थाले । जसले गर्दा धुपौरेगिरि गर्ने र ‘एसम्यान’ भएर मात्रै जिन्दगी चलाउने प्रवृत्तिको विकास हुँदै गयो ।'”

– लोकेन्द्र विष्ट मगर

Citizen Life
Kumar Bank
Nepal Life

चार दशक लामो राजनीतिक जीवनमा दुईपटक मन्त्री भइसकेपछि पनि राजनीति छोडेर कृषि क्रान्तिमा होमिँदा लोकेन्द्र विष्ट कृषिकर्ममा पनि जम्न सक्छ भन्ने धेरैले कल्पनासम्म गरेका थिएनन् । दश वर्षअगाडि मात्रै राज्यको नीति निर्माणतहसम्म पुगेको व्यक्ति अहिले कृषि कर्ममा मनैदेखि तल्लित भएर लागेको छु । मैले कृषिमा लाग्ने प्रण गर्दै राजनीतिमा कहिल्यै नफर्कने प्रतिबद्धता गर्दा धेरैले विश्वास नै गरेनन् । तर, अहिले आफ्नो प्रतिबद्धतालाई वास्ताविकतामा परिणत गर्न सफल छु ।

रुकुमको त्रिवेणी नगरपालिका (तत्कालीन मुरु गाविस) मा पिता हस्तराम विष्ट र माता पुतला विष्टको जेठो सन्तानका रूपमा मेरो जम्न भएको हो । हाम्रो विष्ट परिवार कृषिमै रमाइरहेको थियो । सामान्य किसान परिवारमा जन्मे हुर्केको म चारजना दिदी–बहिनीका बीच एक्लो छोरो थिएँ । अहिले मेरो परिवारमा श्रीमति र एक छोरी छन् । छोरी काठमाडौंमै बस्छिन् भने श्रीमतिले मलाई कृषि कर्ममा सहयोग गरिरहेकी छिन् ।

राज्यको शासनसत्ता परिवर्तन गर्ने र देशको मुहार फेर्ने महत्वकांक्षा बोकेर राजनीतिक क्रान्तिमा होमिएको थिएँ । परिवार भने गाउँकै सामान्य कृषि पेसामै थियो । हाम्रो पुख्र्यौली पेसा पनि कृषि नै हो । कृषि कर्मले आफ्नो पुस्तैनी जीवन सुधार्न नसकिएको थाहा थियो तर पनि आधुनिक ढंगले कृषि गर्ने, व्यावसायिक बन्ने हो भने सम्भावना र अवसर जति पनि छ भनेरै कृषिमा होमिएको हुँ । किसान परिवारमा हुर्किएकाले मलाई माटोसँग खेल्ने विषयमा कुनै अत्यास पनि लागेन । तीन वर्षअघि (भदौ २०७५) देखि राजनीतिक महत्वकांक्षालाई छाडेर कृषि कर्ममा सक्रिय भएको हुँ ।

पछिल्लो समय कृषि पेसाप्रति आकर्षित युवा पुस्ताको आशा र भरोसासमेत गर्ने व्यक्तिको परिचय बन्दा खुसी लागेको छ । कृषिमा लाग्नु ठीक सात वर्षअगाडिको भदौमा पर्यटनमन्त्रीका रूपमा कृषि पर्यटनको सम्भावना खोज्ने योजना निर्माणमा तल्लिन थिएँ, अहिले कृषिले दिएको अवसरमा डुबुल्की मारिरहेको छु । दाङमा ड्रागन फ्रुट सुरु गर्नुअघि सुरुमा मैले काभ्रेको भकुन्डेबेसीमा ४३ रोपनी जग्गा लिएर खेती किसानीमा लागेको थिएँ । लगत्तै काठमाडौंको साँखुमा पनि १४ रोपनी जग्गा भाडामा लिएर कृषि कर्म सुरु गरेँ ।

कृषि कर्मको बाटो देखेको त्यो क्षण
राजनीतिक भेटघाटका क्रममा कुनै कामको सिलसिलमा १७ वर्षअगाडि डा. जगन्नाथ राईसँग भेट भएको थियो । डा. राई उनै व्यक्ति हुन् जसले नेपालमा पहिलोपटक सिउँडी प्रजातिको ड्रागन फ्रुट भित्र्याउने काम गर्नुभएको थियो । उहाँसँगको भेटले मलाई एक प्रकारको ऊर्जा दियो । डा. राईले नै मलाई ड्रागन फल चिनाउने काम पनि गर्नुभयो ।

राईले दक्षिण कोरियाबाट ल्याउनुभएको बढी पौष्टिकता हुने र नयाँ प्रजातिको कालो चामल (ब्ल्याक राइस) को उत्पादनमा पनि मलाई जोड दिनुभयो । ब्ल्याक राइस कृषि क्षेत्रमा नयाँपनको प्रयोग थियो भने यसले कृषि काम गर्ने उत्साहसमेत थप्यो । व्यावसायिक बालीको खोज अनुसन्धान गर्दै जाँदा पहिल्याएको त्यही दुई उत्पादन (ब्ल्याक राइस र ड्रागन फ्रुट) अहिले मेरो जीवन परिवर्तनको संवाहक हुन पुगेको छ ।

कृषि कर्म गर्ने र नेपालमा फरक ढंगले काम गर्ने सोचाइ त्यतिबेलै आइसके पनि उपयुक्त समय भने तीन वर्षअगाडि मात्रै आयो । राजनीतिबाट संन्यास लिने निर्णयपछि आधुनिक ढंगले कृषि कर्म गर्ने र व्यावसायिक खेती गरेर ठूलो मात्रामा उत्पादन गर्न सकिने निष्कर्ष भने त्रिभुवन विश्वविद्यालयका वरिष्ठ कृषि वैज्ञानिक डा. गिरिराज त्रिपाठीलाई भेटेपछि मात्रै निकालेको हुँ ।

राजनीतिमा वितृष्णा पैदा हुँदै गएकाले राजनीतिको झोला बोक्नुभन्दा कृषिको बोरा बोक्नु उपयुक्त भएको निष्कर्ष निकाल्दै राजनीतिक जीवनबाट संन्यास लिएर २०७५ देखि कृषि कर्ममा होमिएँ । ड्रागन फ्रुट सुरु गर्नुअघि दाङमै कालो चामलको खेती सुरु गरेपछि मेरो कामको चर्चा हुन थालिसकेको थियो । कालो चामल पौष्टिक तत्व बढी हुने, विभिन्न दीर्घरोगीलाई लाभदायक हुने भएकाले धेरैले रुचाए पनि । कालो चालमको व्यावासायिक खेती अझै सम्भव भइरहेको छैन तर, बीउ उत्पादनको काम भइरहेको छ । ब्ल्याक राइसको बीउ जोगाउन अहिले दुई कठ्ठामा खेती गरेको छु । यो बाली नेपालका लागि नयाँ भएकाले बीउ जोगाउँदै थप खेतीयोग्य भूमिमा विस्तार गर्दै जानुपर्ने आवश्यकता छ । यो धानको बाली जोगाउन र फैलाउन भने राज्यले नै चासो दिनुपर्ने आवश्यकता देखिएको छ ।

राजनीतिप्रतिको वितृष्णा
मैले २०३५/०३६ सालमा झन्डै १४ वर्षको उमेरमा विद्यार्थीकालमै मसालबाट विद्यार्थी राजनीति सुरु गरेको थिएँ । विद्यार्थी आन्दोलनकै क्रममा दाङको घोराहीबाट २०४३ सालमा ६ महिना जेल पनि परें । कृषि परिवारमै हुर्किएको म चार दशक लामो राजनीतिक जीवनपछि पुनः कृषि कर्ममै फर्किएँ । विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेको हुनाले सशस्त्रद्वन्द्वका समयमा भूमिगत जीवन बिताउनेदेखि माओवादी केन्द्रको केन्द्रीय सदस्य हुँदै राजनीतिको माथिल्लो तह मन्त्रीसम्म भएँ । आफैं संलग्न रहेको पार्टी जनयुद्ध लडेर आएको थियो । तर, शान्तिपूर्ण राजनीतिमा आएपछि भने पार्टीका नेता कार्यकर्तामा कामै नगरी खानुपर्छ भन्ने प्रवृत्तिको विकास भयो । यो प्रवृत्तिविरुद्ध आवाज उठाउँदा पार्टी अध्यक्ष पुष्कमल दाहालसँग अन्तर संघर्ष बढ्यो । अन्ततः मैले राजनीतिबाटै विश्राम लिएँ ।

राजनीतिक संघर्ष गर्दा र मन्त्री भएर सिंहदरबार छिर्दाको भन्दा बढी आनन्द अहिले कृषि कर्मले दिएको छ । सशस्त्र युद्धमा लागेको पार्टी शान्तिप्रक्रियामा आएपछि कार्यकर्तामा काम नगरी खानुपर्छ भन्ने मानसिकता हावी हुँदै आएको थियो । जसले गर्दा गलत प्रवृत्ति विकास हुन थाल्यो । म आफूचाहिँ काम नगरी खाने प्रवृत्तिको विरोध गर्न थालें । पार्टीले जनयुद्धको भावअनुसार काम गर्न पनि छाड्यो । कार्यकर्ता झोला बोकेर ठूला नेताको चाकरी गर्नमा मरिमेट्न थाले । जसले गर्दा धुपौरेगिरि गर्ने र ‘एसम्यान’ भएर मात्रै जिन्दगी चलाउने प्रवृत्तिको विकास हुँदै गयो । यस्तो प्रवृत्तिले चल्दैन भन्ने लाग्छ । जिन्दगी चलाउन आफैंले माटोसँग पिरती गाँस्नुपर्ने, माटोसँग खेल्ने र मिल्नुपर्ने तथा माटोमै जम्नुपर्ने निष्कर्ष निकाल्दै राजनीति छाड्ने निष्कर्षमा पुगें । हो, राजनीति छाड्दा कृषिमा सम्भावनाको खोजी तथा अनुसन्धान भने गरेको थिएँ । के गर्दा उपयुक्त हुन्छ भनेर कृषिका विज्ञहरूसँगको सहकार्यमा लिइएको ज्ञान नै जीवनको ‘टर्निङ प्वाइन्ट’ भयो ।

सामाजिक आर्थिक रूपान्तरणबिनाको राजनीतिक क्रान्तिको भविष्य नहुने र त्यसका लागि आफैंले संघर्ष गर्नुपर्ने बुझाइका कारण कृषि कर्मका लागि प्रेरित ग¥यो । यसले जनतालाई एक त कर्मशील हुन सिकाउने भयो नै अर्कोतर्फ कसैसँग हात थाप्नुपर्ने र अर्काको गुलाम गरेर मात्रै जिन्दगी चलाउनुपर्ने भन्ने मान्यता तोड्यो । काम गरेर खाँदा कोही सानो हुँदैन भन्ने सत्य बोध र काम गरेर खान लाज मान्न पनि हुँदैन भन्ने विश्वास समाजलाई देखाउन पनि राजनीतिक क्रान्तिबाट कृषि क्रान्तिमा होमिएको हुँ । तीनजना साथीसँगको सहकार्यमा दाङको तुलसीपुरमा सुरु गरेको ड्रागन फ्रुट खेती अहिले फल दिने अवस्थामा पुगेको छ । तीन बिघामा आधुनिक ड्रागन फ्रुट खेती सुरु गरेदेखि आफू व्यस्त पनि भइयो । कृषि पेसाले पूर्ण सन्तुष्ट दिएको हुँदा अब कहिल्यै राजनीतिमा फर्कन्छु भन्ने लागेको छैन ।

तीन भाइको सहकार्य जुटेको थलो
मैले कृषिमा भएको सम्भावना, जोखिम र अवसरलाई राम्रोसँग बुझेका भए पनि कसरी नयाँ र फरक काम गर्ने भन्ने अन्योलमै थिएँ । दाङकै वीरबहादुर बुढा र धनबहादुर केसी बराबरीको साझेदारीमा खेती गर्न सहमत भएपछि भने कृषिकर्म अगाडि बढाउन सकिने निष्कर्षमा हामी पुग्यौं । कृषि नै पृष्ठभूमि भएकाले पनि काम गर्न तुलनात्मक रूपमा सहज भयो । तीन बिघा ६ कठ्ठा जमिन १५ वर्षलाई भाडामा लिएर सुरु गरिएको कृषि कर्म सन्तोष गर्ने चरणमा पुुगेको छ । सम्झौताको तीन वर्ष बित्यो । अझै १२ वर्षलाई जमिन भाडामा प्रयोग गर्न पाइने भएकाले चिन्ता कम र कर्म बढी गर्नुपर्ने अवस्था छ ।

विदेशमा २५ वर्षसम्म प्रतिफल दिने ड्रागन फ्रुटले नेपालमा भने हावापानी फरक भएकाले १५ वर्षसम्म मात्रै उत्पादन दिने अपेक्षा गरिएको छ । यसले डेढ वर्षमै प्रतिफल दिन्छ । आधा क्षमतामा गत वर्षदेखि नै उत्पादन दिएको छ भने अर्को आधा क्षमता यो वर्षदेखि सुरु भएको छ । अहिलेसम्म लगानी मात्रै भएकामा अबदेखि प्रतिफल आउन थाल्छ । पाँच वर्षमा ऋण तिरिसक्ने र बाँकी १० वर्ष भने लाभको प्रतिफल लिने समय हुन्छ भन्ने विश्वास छ । भाडामा लिएको पूरै जमिनमा खेती सुरु भइसकेको छ । दोस्रो वर्षको तेस्रो चरणको प्रतिफल आइसकेकाले अब चौथो चरणको फल टिप्ने बेला भएको छ ।

वर्षमा सातदेखि आठ पटकसम्म फल टिप्न मिल्ने ड्रागन फ्रुटको बजार भने निकै राम्रो छ । दाङमै मागअनुसार फल पु¥याउन मुस्किल भएको छ भने यसको माग दाङवरपरका सहरसहित काठमाडौंबाट पनि उत्तिकै माग आइरहेको छ । मागअनुसार आपूर्ति गर्न सक्ने अवस्था अझै छैन । सम्भावना र माग भएकैले ड्रागन फ्रुटको बजारमा समस्या नरहने अनुमान छ ।

ड्रागन फल दुई प्रकारको उत्पादन हुन्छ । भित्र रातो र बाहिर पनि रातो भएको फल (रेड एन्ड रेड) को प्रतिकिलो आठ सय रुपैयाँमा दाङबाटै बिक्री भइरहेको छ भने भित्र सेतो र बाहिर रातो (रेड एन्ड ह्वाइट) प्रतिकिलो सात सय रुपैयाँमा बिक्री हुने गरेको छ । एकपटक लगानी गरेपछि फेरि ठूलो लगानी गर्नु पर्दैन । पहिलो लगानी गरेर प्रतिफल दिने अवस्था आएपछि भने मल हाल्नुपर्ने, गोडमेल गर्नुपर्नेसहितको सामान्य काम मात्रै हुन्छ । हाम्रो अहिलेसम्म एकतिहाइ लगानी उठिसकेको छ । हालसम्म एक करोड रुपैयाँ लगानी भएको छ । कृषि कर्मले आफूलाई सन्तोष र आरामको निद्रा दिएको छ ।

अन्य ठूला उद्योगमा जस्तो स्थायी कर्मचारी नचाहिने, कर्मचारीले काम बिगार्लान् भन्ने चिन्ता पनि नहुने हुँदा आवश्यक कामदार ज्यालादारीमै पाइने क्षेत्र पनि हो, कृषि उद्यम । यो कृषि फर्ममा पुरुषको तुलनामा महिला कामदारलाई प्रोत्साहन स्वरूप काममा लगाउने गरिएको छ । र, औसतमा अरूले दिनेभन्दा बढी नै ज्याला दिने गरिएकाले पनि कामदारको अभाव र चिन्ता छैन ।

मैले खेती गरिरहेको ब्ल्याक राइस र ड्रागन फल दुवै नेपालका लागि सम्भावना भएको र उपयुक्त नगदे बाली हो । ब्ल्याक राइस समुन्द्र सतहबाट एक हजारदेखि २२ सय मिटरसम्मको उचाइमा राम्रो हुन्छ भने यो मध्यपहाडी खालको भूगोलमा उपयुक्त हुन्छ । ड्रागन फलचाहिँ उष्ण प्रदेशीय भएको हुँदा गर्मी हावापानीमा राम्रो उत्पादन दिने फल मानिन्छ । दाङमा सुरु गरिएको व्यावसायिक उत्पादनको यो फलको खेती तराई भेकमा पनि उत्तिकै राम्रोसँग फस्टाउने देखिन्छ । १५ सय मिटरसम्मको उचाइमा पनि यो फल लगाउन सकिन्छ । यसले गर्मी ठाउँमा भने तुलनात्मक रूपमा बढी फल दिने मानिन्छ ।

राज्यको चासो नै देखिएन
नेपालमा सम्भावना भएको, युवा पुस्तालाई आकर्षण गर्न सक्ने, वैदेशिक रोजगारीलाई रोक्न सक्ने कृषि तथा नयाँ जातको खेतीमा सरकारको ध्यान पुग्नै सकेको छैन । दैनिक हजारौं युवा लाइन लागेर विदेश जाँदा ती युवाका लागि दीर्घकालीन रोजगारी सिर्जनामा सरकारले ध्यान दिन सकेको छैन । राज्यले ध्यान दिने हो भने कृषिमा नयाँ प्रजातिको खेती थप प्रभावकारी हुन सक्छ ।

देश विकासको नेतृत्व तहमा पुगिसकेका व्यक्तिले सुरु गरेको पेसामा समेत सरकारको ध्यान पुग्न सकेको छैन भने आम कृषकसम्म सरकार पुग्यो कि पुगेन भनेर प्रश्न उठाउनुपर्ने भएको छ । हामी कहीँ कतै सहयोग माग्न भने गएनौं । राज्यले पनि देखेन । सरकारी निकायले एउटा ‘सोलार प्लान्ट’ भने राखिदिएको छ । त्यसले पानी तान्ने काम हुन्छ । घाम लागेको बेला पानी तान्ने मेसिन जोडिएको छ । राज्यबाट कुनै आश नगर्दा पनि आएको यो सोलार प्लेट भने अर्थपूर्ण छ ।

नेपाल आर्थिक पत्रकार संघ(नाफिज)को वार्षिक जर्नल ‘अर्थचित्र’बाट साभार

GBIME

प्रतिक्रिया दिनुहोस्