Shikhar Insurance

५ महिनामा पुँजीगत खर्च १५ प्रतिशत, मासिक १० प्रतिशत खर्च अर्थमन्त्रीका गफमात्र !

सिंहदरबार संवाददाता
२०७८ पुष २४, शनिबार ०८:०२
NIMB
Nabil Bank

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिना बित्दासमेत विकास निर्माणसँग सम्बन्धित मन्त्रालयका पूँजीगत खर्च १५ प्रतिशतभन्दा बढी हुन सकेको छैन । सङ्घीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले आज आयोजना गरेको विकाससम्बन्धी नीति तथा पुँजीगत खर्च हुन नसक्नुका कारण र समाधानका उपायका सम्बन्धमा छलफल कार्यक्रममा मन्त्रालयले यस्तो जानकारी गराएका हुन् ।

कार्यक्रममा भौातिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले पहिलो चौमासिकमा १५ प्रतिशत, दोस्रो चौमासिकमा ३० प्रतिशत र तेस्रो चौमासिकमा बढी खर्च हुने गरेको बताए । प्राविधिक जनशक्ति अभाव, विना योजना बजेट छुट्याउनेजस्ता कारणले पनि पूँजीगत खर्च हुन नसकेको उनले जानकारी गराए ।

Citizen Life
Kumar Bank
Nepal Life

“सङ्घीय सरकारलाई ८० वटा राजमार्गमात्र हेर्ने जिम्मेवारी छ, राजमार्गबाहेकका अरु सडक पनि हेर्नुपर्दा पनि पूँजीगत खर्च नहुने गरेको छ, ४० हजार इञ्जिनीयर देशबाहिर गएका छन्, देशमै धेरै इञ्जिनीयर बेरोजगार छन्, यता विकास निर्माणका योजनामा भने जनशक्तिको अभाव हुने गरेकाले चार, पाँच महिनाका लागि जनशक्ति लिने गरी सोच बनाइएको छ”, उनले भने ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले सार्वजनिक खरिद नियमावली एक वर्षमा चारपटक संशोधन गरेर पनि विकास निर्माण आयोजनाको समस्या समाधान हुन नसक्नु दुःखद् रहेको बताए । दश जना निर्माण व्यवसायीका हातमा दुई तिहाइभन्दा बढी योजना रहने गरेकाले पनि काममा ढिलाइ हुने गरेको उनले सुनाए । विसं २००८ देखि नै पूँजीगत खर्च ८० प्रतिशतभन्दा बढी हुन नसक्नुका कारणको अब खोजी गर्नुपर्ने उपाध्यक्ष पौडेलको विचार थियो ।

सांसद भीम रावलले पूँजीगत खर्च बढाउन ठूला तीन आयोजना लिने निर्माण व्यवसायीलाई अरु नदिने गरी कानून निर्माण गरिनुपर्नेमा जोड दिए । ठेक्का लिनेले अर्कोलाई पेटी दिन नपाउने व्यवस्था गरिनुपर्ने उनको भनाइ थियो । सांसद राधेश्याम अधिकारीले म्याद थपकै विषयलाई लिएर चारपटकसम्म खरिद नियमावली संशोधन गर्दा पनि समस्या समाधान नहुनुको कारण गहिरिएर खोजिनुपर्ने भनाइ राखे । सांसद दीनानाथ शर्माले विगत केही वर्षदेखिका आयोजनाका काम गुणस्तरीयरूपमा हुन नसकेको बताए । पञ्चायतकालमा भन्दा पनि गुणस्तरहीन विकास निर्माणका काम हुनुको कारण खोजी गरिनुपर्ने उनको सुझाव थिए ।

समिति सभापति निरा जैरुले विकास निर्माणका काममा ढिलाइ हुने समस्या जटिल बन्दै गएकाले यससम्बन्धमा सबै सरोकार भएका निकाय र व्यक्तिलाई राखेर फेरि अर्को छलफल कार्यक्रम राखिने जानकारी गराए । विकास निर्माणको गति सुस्त हुँदा समस्या बढ्न थालेकाले समाधानमा समिति लागेको उनले सुनाए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले १० यन्त्र देखाएर एउटै निर्माण व्यवसायीले १५५ वटासम्म ठेक्का लिएपछि काम नहुने गरेको अनुभव सुनाए । निर्माण क्षेत्रका यस्ता समस्याले गर्दा पनि पूँजीगत खर्च बढ्न नसकेको उनको भनाइ थियो ।

आयोगका सचिव केवलप्रसाद भण्डारीले खरिद नियमावलीका समस्या समाधान गर्न ११औँ संशोधन हाल मन्त्रिपरिषद्मा पुगेको बताए । विकास निर्माणको काम गर्ने निकायमा जनशक्ति अभाव भएकाले पनि पूँजीगत खर्च कम हुने गरेको उनले जानकारी गराए । रु ३५ अर्ब बजेट हुँदा र डेढ खर्ब पुग्दा पनि उही जनशक्तिका भरमा काम गर्नुपरेको सचिव भण्डारीले सुनाए ।

शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले मन्त्रालयले हालसम्म १३ प्रतिशत खर्च गरेको जानकारी गराए । विगत वर्षमा रु ४० लाखसम्मका योजना उपभोक्ता समितिमार्फत् गर्ने गरिएकामा कामको गुणस्तरलगायत विषयमा गुनासो आएपछि यस वर्षदेखि सबै योजना ठेक्का प्रक्रिबाट गरिएको उनले बताए ।

अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्यले राष्ट्रिय प्राथमिकता प्राप्त योजनाको सहजीकरणसम्बन्धी विधेयकको मस्यौदा भइरहेकाले त्यो आएपछि धेरै समस्या समाधान हुन सक्ने बताए ।

प्रतिस्थापन विधेयक सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले मासिक १० प्रतिशत पुँजीगत खर्च गर्ने योजना सुनाएका थिए । चालु आवको पूर्वार्द्ध बित्दै गर्दा ६० प्रतिशत पुँजीगत खर्च भइसकेको हुनुपर्ने हो । तर, हालसम्मको तथ्यांकले मन्त्री शर्माको योजना गफैमात्र भएको संकेत गर्दछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्